मन्त्रीको निर्देशनपछि खोलिएको भृकुटीमण्डपबाट हटेनन् मिटरब्याज पीडित, कानूनी झमेलामा फस्दै समाज कल्याण

शनिवार हट्ने भनेर आइतबारसम्म नहटेपछि समाज कल्याणले  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई बोधार्थ दिदै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । तर, न जवाफ प्राप्त भएको छ, न कुनै समस्या समाधानार्थ कदम नै । पत्रमा समाज कल्याण जवाफदेही नभएको उल्लेख छ ।

नेपालभ्युज

मन्त्रीको निर्देशनपछि खोलिएको भृकुटीमण्डपबाट हटेनन् मिटरब्याज पीडित, कानूनी झमेलामा फस्दै समाज कल्याण

काठमाडौं । मेची-महाकालीबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू अहिले भृकुटीमण्डपमा छन् । झन्डै १ हजारभन्दा बढीको सङ्ख्यामा रहेका उनीहरू फागुन ९ गते काठमाडौं आइपुगेयता भृकुटीमण्डपकै प्रदर्शनी कक्ष र हल प्रयोग गरेर बसिरहेका छन् ।

त्यसो त बीआरएम कन्सेप्ट प्राईभेट नेपालले ल्याब तथा मेडिकल एक्स्पो गर्नका उक्त स्थान बूक गरिसकेको थियो । त्यसको भुक्तानीसमेत गरिसकिएको थियो । १४ गतेदेखि १९ गतेसम्मका लागि उक्त बीआरएम कन्सेप्ट प्राईभेट नेपालले बूकिङ्ग गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोधमा  महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले निर्देशन दिए लगत्तै खोलिएको भृकुटीमण्डपबाट अहिले पीडितहरू हटेका छैनन् ।

त्यसो त बीआरएम कन्सेप्ट प्राईभेट नेपालले १३ गतेदेखि भृकुटीमण्डपको हल तथा कक्ष बूकिङ्ग गरेको थियो । १४ गतेबाट हुने कार्यक्रमको १३ गते नै तयारी गर्नुपर्ने उल्लेख गर्दै बीआरएम कन्सेप्ट प्राईभेट नेपालले भाडाबापत्‌को रकम २१ लाख ३० हजार भुक्तानीसमेत गरिसकेको थियो । तर, अहिले पीडितहरू नहट्दा समाज कल्याण परिषद्लाई कानूनी झमेला आइलागेको छ ।

परिषद्का प्रशासन प्रमुख दुर्गा प्रसाद भट्टराई भन्छन्, “त्यो २१ लाख ३० हजार सिधै बेरुजु देखिन्छ । हामी त कानूनी झमेलमा फस्ने भइयो ।”

अगाडि उनले प्रष्ट्याए, “चौरको भाडा ७५ हजार हो र भित्र कक्षको भाडा २ लाख ५० हजार हो । त्यसमा २ लाख ५० को उहाँहरूबाट २१ लाख ३० हजार लिइसकेका छौँ । अब यस्तो दबाब आयो, उस्तो आयो भन्दा कानूनले त्यसलाई चिन्दैन । तर, भाडाबापत्‌को पैसा दाखिला भएको देखिन्छ । उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त यसलाई भ्रष्टाचार मान्छ ।”

आफूहरूलाई काठमाडौं जिल्ला प्रशासन र मन्त्रालयबाट निर्देशन आएको प्रमुख भट्टराईले बताए । “मन्त्रीज्यूले राति फोन गर्नुभएछ प्रमुखज्यूलाई । त्यहाँ उहाँले रित्तो हल छ, खोलिदिनू भन्ने आदेश आयो र खोलियो,” उनले भने, “प्रशासनका पुलिसहरूले पनि त्यहीँ राख्नुपर्छ भनेर भने ।”

उसो त पीडितहरूलाई शनिवारसम्म हटाउने कुरा थियो । तर, २ दिन बितिसक्दासमेत उनीहरू हटेका छैनन् । अब आयोजकहरूले क्षतिपूर्ति माग गरेको खण्डमा अझ गाह्रो हुने चिन्ता प्रमुख भट्टराईको छ ।

पाहुनाहरू विदेशबाट आएको, सात दिनसम्मको विज्ञापन आदि-इत्यादि गरेर झन्डै ३/४ करोडको क्षतिपूर्ति दाबी गर्दा समाज कल्याणमाथि कानूनी अड्चन आइलाग्ने उनको चिन्ता छ । “राष्ट्रिय-अन्तर्राष्ट्रियरूपमा समस्या हुनसक्छ । समाज कल्याण परिषद्चाहिँ कानूनी झमेलामा फस्यो । यो त हामीले बेहोर्नुपर्छ,” उनले भने ।

शनिवार हट्ने भनेर आइतबारसम्म नहटेपछि समाज कल्याणले  महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई बोधार्थ दिदै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ । तर, न जवाफ प्राप्त भएको छ, न कुनै समस्या समाधानार्थ कदम नै । पत्रमा समाज कल्याण जवाफदेही नभएको उल्लेख छ ।

यसबारे बुझ्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी प्रवक्ता इन्दु घिमिरेलाई पटकपटक कल गर्दा फोन अफ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved