दुवै पीडक सरकारमा छन्, पीडितले न्याय पाउनेमा शङ्का छ : ओली

'प्रचण्डको राजासँग साँठगाँठ थियो'

नेपालभ्युज

दुवै पीडक सरकारमा छन्, पीडितले न्याय पाउनेमा शङ्का छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युद्धका नाममा नागरिकलाई पीडा दिने दुईथरी शक्ति मिलेर सरकार चलाइरहेकाले पीडितले न्याय पाउन नसकेको आरोप लगाएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् । उनले पीडितमैत्री बनाएर मात्रै शान्ति प्रक्रिया टुङ्गोमा पुग्नसक्ने पनि बताए ।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै गम्भीर नभएको अध्यक्ष ओलीले आरोप लगाए । उनले सशस्त्र युद्धका क्रममा हिंसा मच्चाउने र त्यसलाई रोक्ने नाममा पीडा दिने दुईथरी शक्तिले अहिले सरकार चलाइरहेको बताएका हुन् ।

यो सरकारले पीडितलाई न्याय दिनेमा आफूलाई शङ्का रहेको पनि उनले बताए । “पीडितमैत्री हुने ढङ्गले समस्याको समाधान हुनुपर्छ । तर, संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पीडितमैत्री हुने सम्भावना कम छ । पीडा दिनेमध्येको एउटा पक्षबाट प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुर देउवा गठबन्धनमा छन् । पीडकले न्याय गर्न पाउँदा आफ्नो हितमा काम गर्न खोज्छन् । यसलाई टुङ्ग्याउनुपर्ने सरकारले हो । अहिले दुवैथरी पीडकको सरकार छ,” उनले भने ।

अध्यक्ष ओलीले माओवादीको युद्ध कसका विरुद्ध थियो ? भनेर प्रश्नसमेत गरेका छन् । त्यतिबेला प्रचण्ड र राजाका बीचमा साँठगाँठ रहेको दाबी गर्दै युद्ध कसका लागि लडिएको थियो भनेर प्रश्न गरेका हुन् ।

“माओवादीका लागि हिंसाको बाटो रहरको जस्तो मात्रै भयो । केविरुद्ध थियो त्यो युद्ध ? अहिले पनि प्रचण्डले बताउन सक्नुभएको छैन । राजासँग त प्रचण्डको साँठगाँठ थियो । कार्यगत एकता नै भएको थियो । कार्यकर्ता हाम्रा मारिएका थिए,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved