गठबन्धन पूर्णरूपमा असफल भयो, राष्ट्रिय सभामा धूर्त खेल खेलियो : ओली

नेपालभ्युज

गठबन्धन पूर्णरूपमा असफल भयो, राष्ट्रिय सभामा धूर्त खेल खेलियो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन र सरकार पूर्णरूपमा असफल भएको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन असफल हुँदा जनतामा आक्रोश र निराशा बढिरहेको बताए ।

उनले यसलाई देशभित्र र बाहिरका शक्तिले जनतामा रहेको असन्तुष्टि प्रयोग गर्न खोजेको दाबीसमेत गरे । “प्रधानमन्त्री प्रचण्डले आफैँ भन्दै हिँडिरहेका छन् कि केही गर्न सकिएन, अब सप्रिन्छु । त्यसैले पनि सरकार असफल भएको पुष्टि हुन्छ । यसले देश गरिबी र अराजकतातिर जाँदैछ । असन्तुष्टि बढिरहेको छ,” उनले भने ।

उनले राष्ट्रियसभा चुनावमा भाग खोजेको भन्दै आफूहरूलाई बदनाम गर्न खोजेको दाबीसमेत गरे । “यसरी पेश गरियो कि हामीले लौ बचाइदिनुपर्‍यो भन्दै गएका थियौँ । हामी गिडगिडाइरहेका थियौँ । खासमा हामीलाई मिलेरै जाउँ भनेर उतैबाट प्रस्ताव आएको थियो,” उनले भने ।

राष्ट्रिय सभामा एकलौटी गर्दैनौँ भनेर सत्ता गठबन्धनबाट आफूहरूलाई प्रस्ताव आएको दाबी ओलीको थियो । “अन्तिममा धूर्त खेल देखाए । हामीलाई यसमा पहिले नै शङ्का त थियो, जुन पछि गएर पुष्टि भयो,” उनले भने ।

अहिलेको गठबन्धन असफल भएकाले देशमा काम गर्ने कोही पनि छैन भन्ने जनतामा भ्रम पर्न थालेको समेत ओलीले बताए । उनले एमाले भने काम गर्न सक्ने शक्ति भएको दाबी गरे । गठबन्धनकै कारण अनेक खालका शक्तिले चलखेल गर्ने मौका पाएको जिकिर ओलीको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved