केन्द्रीय समितिको आकार घटाइएपछि माओवादी नेताहरूलाई ‘तनाव’ !

नेपालभ्युज

केन्द्रीय समितिको आकार घटाइएपछि माओवादी नेताहरूलाई ‘तनाव’ !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिको आकार घटाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो विधान महाधिवेशनले केन्द्रीय समितिको आकार १९९ सदस्यीय मात्रै बनाउने निर्णय गरेको हो ।

जबकि, अहिले माओवादी केन्द्रीय समितिको आकार ४०९ जनाको छ । तर, विधान महाधिवेशनको निर्णयअनुसार आकार बनाइदा २१० जना केन्द्रीय सदस्यको हैसियतबाट हट्नुपर्छ ।

महाधिवेशनले यस्तो निर्णय गरेसँगै कतिपय नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । कतिपयले सामाजिक सञ्चालमा व्यङ्ग्यसमेत गरेका छन् । केन्द्रीय सदस्य बलावती शर्माले आफ्नो आधिकारिक फेसबूकमा लेखेकी छन्, “विधान महाधिवेशन सम्पन्न भएसँगै घाँटी दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने व्यथा सुरू भयो ।” यसबारे उनैसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

अर्का केन्द्रीय सदस्य गोम्बु शेर्पा ‘कर्ज्याङ’ले पनि कतिपय नेताहरूले असन्तुष्ट व्यक्त गरिरहेको बताउँछन् । “पार्टीले केन्द्रीय समितिको आकार घटाउने भएपछि कतिपय कमरेडहरूले असन्तुष्ट भएर यस्तो स्टाटस राख्न थाल्नुभएको हो । भएको अरु केही होइन । स्वाभाविकरूपमा कतिपय साथीहरूले असन्तुष्ट व्यक्त गर्नुभएको छ ।”

अर्का एक केन्द्रीय सदस्य नाम नखुलाउने सर्तमा भन्छन्, “सङ्गठन झन् विस्तार गर्नुपर्ने बेलामा अझ घटाउने कुराले कसरी पार लाग्ला । प्राय: साथीहरूले सहमति जनाउनुभएकै छ । तर, मेरो बुझाइमा चाहिँ यो हुनुहुँदैनथ्यो ।”

उनले अरु नेताहरूले पनि यसको विरोध गरेको बताउँछन् । “अरु साथीहरूले पनि अझ बढाउनुपर्ने भनेर भन्नुभएको छ । मैले मात्रै होइन,” उनले भने, “विस्तार गर्ने कि खुम्च्याउने भन्ने विषय हो ।”

पूर्वमन्त्रीसमेत रहेका सचिव दीनानाथ शर्माले भने केन्द्रीय समितिको आकार अझ बढाउँदा ‘हामी पनि पर्थ्यौँ’ भनेर सोच राख्ने नेताहरूले मात्रै आकार घटाउने कुराको विरोध गरेको बताउँछन् ।  “स्वाभाविकरूपमा उहाँहरूले विरोध गर्नुहुन्छ । आ-आफ्नो बुझाइ हो त्यो,” उनले भने ।

अगाडि उनले भने, “केन्द्रीय समितिको आकार ठूलो भएर पनि केही नहुँदोरहेछ । त्यो हामीले यसबीचमा थाहा पायौँ । जनयुद्ध सुरू गर्दा जम्मा हामी ३५ जना थियौँ । तर, लाखौंलाई लिएर हिँड्यौँ । अहिले ४०९ जना पुर्‍यायौँ । तर, अपेक्षित काम भएन । बरु उल्टै व्यवस्थापनमा समस्या भयो ।”

चीनको उदाहरण दिँदै उनले थपे, “ठूलो समिति हुँदा केही हुँदैन ।”

त्यसो त प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरूमा बढीमा १५१ सदस्यीय मात्रै केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, पछि महाधिवेशन प्रतिनिधिहरूले नै भनेपछि १९९ सदस्यीयसम्म बनाउन सकिने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved