आईसीसी क्रिकेट विश्व कप लिग- २

पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित

नेपालभ्युज

पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्व कप लिग- २ अन्तर्गत सन् २०२४-२०२७ को यात्रा हारबाट सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग- २ को आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

छैठौं ओभरको तेस्रो बलमा ललित राजवंशीले निकोलस डेभिनलाई १५ रनमा कुशल भुर्तेलबाट र १३.१ ओभरमा अर्का ओपनर मिचेल भान लिनगेनलाई २३ रनमा अनिल साहबाट क्याच आउट गराए ।

२०.३ ओभरमा सोमपाल कामीले क्याप्टेन जेर्हार्ड ह्रास्मसलाई ८ रनमा पवेलियनको बाटो देखाए । उनी पवन सर्राफबाट क्याच आउट भए । सोही ओभरको अन्तिम बलमा  जान फ्रलिन्क ३४ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए।

सोमपालकै बलमा जान ग्रिन २ रनमा विकेट किपर आसिफ शेखबाट समातिए । जान निकोल लोफ्टी-इटनलाई क्याप्टेन रोहित पौडेलले ३१ रनमा एलबीडब्लू धरापमा पारे ।

जोनाटन स्मिट १७ रनमा नटआउट रहे ।

यसअघि नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएको थियो ।

यो घरेलु मैदानमा नेपालले बनाएको सबैभन्दा कम योगफल हो । यसअघि घरेलु मैदानमा नेपालले सन् २०२२ मा युएईविरुद्ध ९ विकेटको क्षतिमा बनाएको १७९ रन र २०२१ मा ओमानसँग अलआउट हुँदै बनाएको १७९ रनको योगफल सबैभन्दा कम थियो ।

सुरुवाती चार ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केको नेपालको इनिङ्समा भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झा २१, करण केसी १६, कुशल मल्ल १५ र पवन सर्राफ १२ रनमा आउट भए ।

क्यानडाविरुद्धको खेलमा विष्फोटक ब्याटिङ गरेका अनिल साह ८, आसिफ शेख ४, क्याप्टेन रोहितकुमार पौडेल १ र सोमपाल कामी २ रनमा आउट भए । नटआउट रहेका ललित राजवंशीले ११ बलको सामना गर्दा पनि रन जोड्न सकेनन् ।

घातक बलिङ गरेका नामिबियाका क्याप्टेन जेर्हार्ड ह्रास्मसले ५ विकेट लिए । यस्तै रुबेन थ्रुम्पेलमन र ज्याक ब्रसेलको नाममा दुई-दुई विकेट रह्यो । जान एटनले एक विकेट लिए ।

लिग- २ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved