कोशी सरकारले पहिचान पक्षधरसँग प्रदेश नामांकनका विषयमा आज वार्ता गर्दै

नेपालभ्युज

कोशी सरकारले पहिचान पक्षधरसँग प्रदेश नामांकनका विषयमा आज वार्ता गर्दै

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ ।

प्रदेश नं. १ पुन नामांकन संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता हुन लागेको हो । कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै उनीहरुले आन्दोलन चर्काएपछि सरकारले वार्ता समिति गठन गरेको थियो ।

प्रदेश सरकारले दिउँसो ३ बजे वार्ताका लागि बोलाएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले बताए । पहिचान पक्षधरसँग वार्ता गर्न प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

आन्दोलनरत पक्षको वार्ता समितिमा प्रदेश न. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोबिन्दबहादुर आङबुहाङ, किरात राई यायोखा उपाध्यक्ष युवराज राई, नेपाल आदिबासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन (मिराक), नेकपा एकीकृत समाजवादी सम्बद्ध लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राईलगायत छन् ।

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved