दर्जनौँ युक्रेनी युद्धबन्दी बोकेको विमान खसालियो, ७४ जनाको मृत्यु

नेपालभ्युज

दर्जनौँ युक्रेनी युद्धबन्दी बोकेको विमान खसालियो, ७४ जनाको मृत्यु

मस्को । रुसले बुधबार युक्रेनमाथि दर्जनौँ युद्ध बन्दी बोकेको एक सैन्य विमान खसालेको आरोप लगाएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा अप्रमाणित भिडिओमा कथितरूपमा रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा ठूलो विमान आगो लागेर दुर्घटना हुनुभन्दा पहिला आकाशबाट खस्दै गरेको देखिन्छ ।

रुसको रक्षा मन्त्रालयले आइएल–७६ विमानमा ६५ युक्रेनी सैनिक, छ चालक दल र तीन एस्कर्टलाई लैजाँदै गरेको जनाएको छ ।

खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै मन्त्रालयले उक्त घटनालाई ‘आतङ्कवादी काम’ भनेको छ ।

युद्धबन्दीहसँग सम्बन्धित मुद्दाका लागि जिम्मेबार एक युक्रेनी सरकारी निकायले यी दाबीको अनुसन्धान गरिरहेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा भएको बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो । “स्थापित अभ्यासअनुसार आदानप्रदान गरिने युक्रेनी सैनिकलाई विमानमार्फत बेलगोरोड विमानस्थलमा लगिँदैछ भन्ने युक्रेनी नेतृत्वलाई राम्रोसँग थाहा थियो”, मन्त्रालयले भनेको छ ।

यसबारे किएभको कुनै प्रतिक्रिया आएको छैन । स्थानीय मिडियाले सुरुमा रक्षा स्रोतलाई उद्धृत गर्दै युक्रेनी सेनाले विमानलाई खसालेको र त्यसमा क्षेप्यास्त्र रहेको बताएको थियो । पछि उक्त दाबी फिर्ता लिइएको थियो ।

बन्दीहरूको आदानप्रदानका लागि जिम्मेबार अधिकारीमध्येका युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले आफ्नो कार्यालयले घटनाको अनुसन्धान गरिरहेको बताए।

गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले दुर्घटना करिब आठ बजे जिएमटीमा बेलगोरोड क्षेत्रको राजधानीको उत्तरपूर्वमा कोरोचान्स्की जिल्लामा भएको जानकारी दिए ।

उनका अनुसार विमानलाई एउटा खेतमा खसालिएको थियो र अनुसन्धानकर्ता र आपत्कालीन सेवाहरू घटनास्थलमा पुग्दा त्यस क्षेत्रलाई बन्द गरिएको थियो ।

रुसी राज्य प्रसारक आरटीका प्रमुखले कथितरूपमा बोर्डरमा पक्राउ परेका युक्रेनी सैनिकको सूची प्रकाशित गरेका छन् । युद्धबन्दीहरूको मुद्दा दुवै मुलुकमा संवेदनशील छ । पूर्णस्तरमा शत्रुता भए पनि करिब दुई वर्षअघि युद्ध सुरु भएपछि दुवै पक्ष ४९ बन्दी आदानप्रदान गर्न सफल भएका थिए ।

युक्रेनका अनुसार सर्वसाधारणहित आठ हजारभन्दा धेरै युक्रेनी रुसी बन्दीगृहमा रहेका छन् । सन् २०२२ मा रुस र युक्रेनले एकअर्कामाथि पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रमा क्रेमलिन नियन्त्रित ओलेनिभ्कामा समातिएका दर्जनौँ युक्रेनी सैनिकलाई राखिने कारागारमा घातक बमबारी गरेको आरोप लगाएका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved