वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थपिने

नेपालभ्युज

वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थपिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएकी हुन् ।

उनले सो कुरा केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन् । केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको उनको भनाई छ ।

उनले २२१ करारका कर्मचारीहरू कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताइन् । अहिले दसैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको उनको भनाई छ ।

‘वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ । त्यो होइन । हामीले ८३१ दरबन्दी मध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो । त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरू दसैँअघिदेखि काम गर्दै हुनुहुन्छ’, उनले भनिन् ‘२३४ को विज्ञापन गइसक्यो । पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ । २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरूलाई काममा राखेका थियौँ ।’

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोषिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरू एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरिन् । उनले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो रु भन्दै प्रश्न गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved