मेलम्चीको खानेपानी आजदेखि पुनः काठमाडौं आइपुग्यो, प्रधानमन्त्रीले धारा खोलेर वितरण गर्ने

नेपालभ्युज

मेलम्चीको खानेपानी आजदेखि पुनः काठमाडौं आइपुग्यो, प्रधानमन्त्रीले धारा खोलेर वितरण गर्ने

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आजदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने कार्यक्रम छ ।

पहिलो दिन आज अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण शुरु हुने छ । पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी जम्मा भएको छ । जसअनुसार पहिलो चरणमा मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने बताइएको छ ।

बाढीपहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनः आजदेखि काठमाडौं आइपुगेको हो । बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको थियो ।

मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी नआए पछि काठमाडौँवासी पटक–पटक रित्तो भाडा लिएर प्रदर्शनमा समेत उत्रिएका थिए ।

वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved