खार्तुममा हवाई हमला, ३३ को मृत्यु

नेपालभ्युज

खार्तुममा हवाई हमला, ३३ को मृत्यु

सुडान । राजधानी खार्तुममा हवाई हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाहरूबिचको भिडन्तमा कम्तीमा ३३ नागरिक मारिएको प्रजातन्त्र समर्थक वकिलहरूले शुक्रबार बताएका छन् । सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमान्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको छ ।

सशस्त्र द्वन्द्व स्थान र घटना डेटा परियोजनाको रूढिवादी अनुमानअनुसार युद्धमा कम्तीमा १२ हजार एक सय ९० को ज्यान गइसकेको छ । साथै संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धबाट ७० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

बिहीबार दक्षिण खार्तुमको सोबा जिल्लामा भएको हवाई बमबारीमा २३ नागरिक मारिएको र अन्य धेरै घाइते भएको आपत्कालीन वकिल समूहले आकाशमा नियन्त्रण बनाउने सेनामाथि आरोप लगाउँदै बताएको छ । वकिल समूहले दक्षिण खार्तुममा पनि तोपखाना हमलामा अन्य १० जनाको मृत्यु पुष्टि भएको जनाएको छ ।

प्रतिरोध समितिका रूपमा चिनिने एक स्थानीय समूहले त्यति नै सङ्ख्यामा मृत्यु भएको सूचना दिएको थियो । उक्त समूहले भनेको थियो, “आवासीय क्षेत्र र स्थानीय बजारमा तोपको गोलीबाट १० नागरिक मारिएका थिए ।”

मध्य अप्रिलमा राजधानीमा भड्किएको युद्धको ध्यान दक्षिणतिर सरेको छ र हालै सुडानको अल–जजिरा राज्यसम्म पुगेको छ । उक्त राज्यमा हजारौँ मानिसले शरण लिएका थिए ।

युद्ध जारी रहेको युद्धग्रस्त राजधानीको सडकहरू डागलोको र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नियन्त्रणमा छ भने बुरहानको प्रशासनले अहिले पनि सुडानी सरकारका रूपमा वयानहरू दिने गरेको छ । आरएसएफले पश्चिमी डार्फर क्षेत्रको करिब सबै क्षेत्रमा कब्जा गरेको छ र डिसेम्बरमा अल–जजिरा राज्यमा भित्रसम्म घुसेको छ । यसबाट मुलुकका केही बचेका शरण स्थलमध्येको एकलाई नष्ट गरिएको छ ।

युद्धका क्रममा सहयोग प्रदान गर्ने प्रतिरोध समितिहरूले सन् २०२१ मा बुरहान र डागलोद्वारा गरिएको विद्रोहले लोकतान्त्रिक परिवर्तनलाई हटाउनुअघि लोकतन्त्र समर्थक प्रदर्शनहरू आयोजना गरेका थिए । त्यसपछि दुवै जनरलबिच मतभेद भयो र युद्ध सुरु भयो ।

द्वन्द्व सुरु भएपछि डगालोले आफ्नो पहिलो विदेश भ्रमणमा डिसेम्बरको अन्त्यसम्म धेरै अफ्रिकी राजधानीहरूको भ्रमण गरे । आदिस अबाबामा उनले सुडानका पूर्वप्रधानमन्त्री अब्दुल्ला हमदोकसँग एउटा घोषणापत्रमा हस्ताक्षर गरे । विश्लेषकहरूले यसलाइ स्वयंलाई प्रमुख वार्ताकारका रूपमा स्थापित गर्ने प्रयास भनेका छन् ।

युद्धका क्रममा सेना र आरएसएफ दुवैमाथि युद्ध अपराधको आरोप लगाइएको छ । अमेरिका, साउदी अरब र हालै पूर्वी अफ्रिकी ब्लक आइजिएडीले अहिलेसम्म गरेका अन्तर्राष्ट्रिय मध्यस्थता प्रयास असफल भएका छन् ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved