राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राजु चौधरीलाई स्वर्ण

नेपालभ्युज

राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राजु चौधरीलाई स्वर्ण

काठामाडौं। २६औं भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधवार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन् ।

मध्यपुर ठिमीमा जारी यस विधामा च्याम्पियनसिपमा बुधवार राजुले स्वर्ण जितेका हुन्। नेपाली आर्मीका मुक्तिराम घलेले रजत जिते । जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन् ।

युथ पुरुष ६७ केजीतर्फ सप्तरकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दीपेश घटाल दोस्रो भए । ७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए । ७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए ।

७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भए । यसअघि मंगलवार महिला ४९ केजीतर्फ नेपाल प्रहरीकी कृष्णकला विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ५९ र क्लिन एण्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितिन् ।

यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन् । त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलिप यादवले स्न्याचतर्फ ८२ र क्लिन एण्ड जर्कतर्फ १ सय ३ किलो भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते ।

यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए । पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते । महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लिला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए ।

बिहीबारसम्म चल्ने प्रतियोगितामा नेपालका २३ जिल्लाका १ सय ६४ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved