यसरी हुँदैछ रुसमा राष्ट्रपतिको आठौँ निर्वाचन, पुटिन पाँचौँ कार्यकालका लागि उम्मेदवार

यो चुनावमा विपक्षी नेता एलेक्सेइ नभाल्नीले पुटिनलाई चुनौती दिनसक्ने अनुमान थियो । तर, उनलाई जेल हालेर पुटिनले आफ्नो बाटो सफा पारेका छन् । त्यहाँको निर्वाचन आयोगले नभाल्नीलाई चुनाव लड्न अयोग्य घोषणा गरेको छ । उनलाई साइवेरिया श्रम शिविरमा पठाइएको छ ।

नेपालभ्युज

यसरी हुँदैछ रुसमा राष्ट्रपतिको आठौँ निर्वाचन, पुटिन पाँचौँ कार्यकालका लागि उम्मेदवार

काठमाडौं । युक्रेनसँगको युद्धबीच रुसमा सन् २०२४ को मार्चमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि यो ८औं राष्ट्रपतीय निर्वाचन हो ।

सत्तारुढ राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि चुनावी मैदानमा छन् । उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । तर, उनीनिकट पार्टी रसिया यूनाईटेडले उम्मेदवारी दिएको छैन । स्वतन्त्र उम्मेदवार बने पनि उनलाई पार्टीको समर्थन र सहयोग हुनेछ ।

सन् १९९३ मा जनमत सङ्ग्रहबाट अनुमोदित रुसको संविधानमा एउटै व्यक्ति निरन्तर दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान थियो । आफ्नो पहिलो र दोस्रो कार्यकालपछि राष्ट्रपति पुटिनले यो प्रावधानको पालना गरेका थिए । तर, सन् २०२० मा संविधान संशोधन गर्दै दुई कार्यकालको प्रावधान हटाइयो ।

सोभियत सङ्घको पतनपछि बोरिस यल्तसिन दुई कार्यकाल रुसको राष्ट्रपति भएका थिए । सन् २००० मा सत्तामा पुगेका पुटिन २४ वर्षदेखि निरन्तर शक्तिमा छन् । उनी सोभियत नेता जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय सत्तामा रहने राजनीतिज्ञ हुन् । सोभियतकालमा स्टालिनले २९ वर्ष लामो शासन गरेका थिए ।

पुटिनको पहिलो र दोस्रो कार्यकाल सन् २००० देखि २००८ सम्म रह्यो । संवैधानिक प्रावधानअनुसार बीचको एक कार्यकालमा उनले आफ्ना नजिकका मित्र दिमित्री मेद्भेदेवलाई राष्ट्रपति बनाए । तर, तप्रधानमन्त्रीका रुपमा सत्ताको बागडोर भने आफैँले राखे । सन् २०१२ यता उनले तेस्रो र चौथो कार्यकालमा करिब १२ वर्ष लामो लामो शासन गरे ।

यसपटकको मतदान मार्च १५-१७ मा हुँदैछ । पहिलो चरणमा कसैले न्यूनतम् ५१ प्रतिशत मत प्राप्त नगरे दोस्रो चरणको निर्वाचन अप्रिल ७ मा हुनेछ । मे ७ मा नवनिर्वाचित राष्ट्रपतिले कार्यकाल प्रारम्भ गर्नेछन् ।

यसपटकको निर्वाचनमा १० उम्मेदवार छन् । तीमध्ये ७ राजनीतिक दलसँग सम्बन्धित र ३ स्वतन्त्र उम्मेदवार छन् । राष्ट्रपति पुटिन स्वतन्त्र उम्मेदवारमध्ये एक हुन् ।

रुसी महासङ्घको कम्युनिष्ट पार्टी संसद्‌‌‌‌मा दोस्रो ठूलो दल हो । यो सोभियतकालमा ७४ वर्ष शासन गरेको कम्युनिष्ट पार्टीको उत्तराधिकार दल पनि यो । सोभियत सङ्घको विघटनपछिका अधिकांश राष्ट्रपतिय निर्वाचनमा यो दलका उम्मेदवारले दोस्रो मत प्राप्त गरी प्रमुख प्रतिस्पर्धी हुने गरेका थिए । तर, यसपटक यो दलले गठबन्धन साझेदार एपीआरका उम्मेदवार निकोलाई मिखाइलोबीच खार्नितोनोभलाई समर्थन दिने भएको छ । यो दलले अघिल्ला निर्वाचनमा सत्तारुढ राष्ट्रपति पुटिनलाई नै समर्थन गर्ने गरेको थियो ।

त्यसैगरी पिपल्स पार्टी अफ रसियाबाट सेर्गेई बाबुरिन, फ्रिडम एण्ड जस्टिस पार्टीबाट एन्द्रेई बाग्दानोभ, न्यू पिपल पार्टीबाट ब्लादिस्लाभ दाभान्कोभ, सिभिक इनिसिएसनबाट बोरिस नाजेद्दिन, लिबरल डेमोक्रेटिक पार्टीबाट लियानिद क्रुस्की, डेमोक्रेटिक पार्टीबाट इरिना श्रीभिदोवा उम्मेदवार छन् । पुटिनका अतिरिक्त थप दुई स्वतन्त्र उम्म्दवार राडा रस्किक र वातावरण अभियन्ता अनातोली बाताशोभ छन् ।

मत सर्वेक्षणहरूले आगामी चुनावमा पनि पुटिनले नै जित्न सक्ने देखाएका छन् । रुसमा करिब ११ करोड मतदाता छन् । ८ करोड मत खस्ने अनुमान गरिएको छ । सन् २०१८ को चुनावमा ६७.५ प्रतिशत मत खसेको थियो । रुसको जनसंख्या करिब साढे १४ करोड छ ।

पुटिन सत्तामा बसेको लामो समय भइसकेको र युक्रेन युद्धका दौरान चुनाव भइरहेको सन्दर्भमा यो चुनाव उनलाई पहिले भन्दा कठिन हुन सक्ने अनुमान कतिपयको छ । तर, बलियो निकटतम् प्रतिस्पर्धी नभएकाले पुटिन राजनीतिक फाइदामा हुन सक्दछन् ।

यो चुनावमा विपक्षी नेता एलेक्सेइ नभाल्नीले पुटिनलाई चुनौती दिनसक्ने अनुमान थियो । तर, उनलाई जेल हालेर पुटिनले आफ्नो बाटो सफा पारेका छन् । त्यहाँको निर्वाचन आयोगले नभाल्नीलाई चुनाव लड्न अयोग्य घोषणा गरेको छ । उनलाई साइवेरिया श्रम शिविरमा पठाइएको छ ।

पुटिन शासनकालको रुसी राजनीतिलाई विश्व राजनीतिकै एक अनौठो परिदृष्य मानिन्छ । सन् १९९१ मा एकदलीय कम्युनिष्ट शासनको अन्त्यपछि त्यहाँ लोकतान्त्रिक शासन प्रणाली स्थापित हुने अपेक्षा विश्वले गरेको थियो । तर, पुटिन शासनकाल लोकतन्त्र हो कि निर्वाचित तानाशाही भन्ने बहस हुने गरेको छ ।

लोकतन्त्र छ भन्ने देखाउन त्यहाँ नियमित निर्वाचन हुँदै आएको छ । तर, पुटिनले कयौं लोकतान्त्रिक मूल्य-मान्यतालाई लत्याउँदै आएका छन् । विशेषतः विरोधी दल र नेताप्रति उनी बढो क्रूर र निर्दयी व्यवहार गर्दछन् ।

त्यसो त पुटिन शासनकालका निर्वाचनको निष्पक्षतामै शङ्का गर्ने गरिन्छ । रुसी राजनीतिक विश्लेषक ततियाना स्तानोभायाले एक आलेखमा भन्छिन्— पुटिनसामु चुनौती नभएका हैनन् । तर, पछिल्ला घटनाक्रमले तिनलाई कमजोर बनाउँदै लगेका छन् । पुटिन मार्चमा हुने निर्वाचनमा सफलताका लागि आशावादी हुन सक्ने थुप्रै कारण छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved