धनी हुनुका १० बेफाइदा

धनी मान्छेलाई न पैसाको चिन्ता र भविष्यको, न कसैले हेप्ला भन्ने डर न शक्तिको भय । तर, धनी हुनुका फाइदा मात्रैचाहिँ छैनन् । प्रकृतिमा भएका सबै चिजको फाइदा, बेफाइदा हुन्छन् । धनी हुनुका बेफाइदा पनि छन् । जानिराखौँ, त्यस्ता बेफाइदा ।

नेपालभ्युज

धनी हुनुका १० बेफाइदा

धनी हुन को नचाहला ? कसलाई मन नलाग्ला ? भलै, कि चाहँदैमा, मन लाग्दैमा धनी हुन सकिँदैन ।

धनी हुन् वा गरिब, धनी हुन सकेका हुन् वा नसकेका, धनी हुनुका फाइदा भने सबैलाई थाहा हुन्छ । धनी भइयो भने गरिबीबाट मुक्ति पाइन्छ । राम्रो खान, मीठो लगाउन, ठूलो घरमा बस्न, गाडी चढ्न, देश-विदेश घुम्न, मन लागेको काम गर्न पाइन्छ । बैंक ब्यालेन्स हुन्छ । रोग लाग्दा उपचारको चिन्ता गर्नुपर्दैन ।

तामझामले चाडपर्व मान्न, उत्सव मनाउन सकिन्छ । सन्तानलाई राम्रा स्कूल, कलेजको शिक्षा दिन सकिन्छ । भविष्य वा बुढेसकालका लागि बचत गर्नुपर्ने चिन्ता हुँदैन । सामाजिक प्रतिष्ठा हुन्छ । सामाजिक ख्याति, प्रतिष्ठा वा पैसा खर्च गरेर राजनीतिक तथा राजकीय शक्ति हासिल गर्न सकिन्छ । यदाकदा सामाजिक तथा धार्मिक संघसंस्थालाई दान दिएर नामी कहलिन सकिन्छ ।

धनी हुनुका यस्ता फाइदा त कति हो कति ? धनी मान्छेलाई न पैसाको चिन्ता र भविष्यको, न कसैले हेप्ला भन्ने डर न शक्तिको भय । तर, धनी हुनुका फाइदा मात्रैचाहिँ छैनन् । प्रकृतिमा भएका सबै चिजको फाइदा, बेफाइदा हुन्छन् । धनी हुनुका बेफाइदा पनि छन् । जानिराखौँ, धनी हुनुका १० बेफाइदा ।

१. धेरै मेहनत गर्नुपर्ने 

धनी त्यतिकै भइँदैन । त्यसका लागि कुनै न कुनै काम, उद्यम वा पेशा, व्यवसाय गर्नुपर्‍यो । कोही आफ्नै जीवनकालमा कमाएर धनी भएको हो भने पक्कै उसले मेहनत पनि धेरै गर्नुपर्‍यो । यदि पैतृक धन नै हो भने पनि त्यसलाई बढाउन वा उचित व्यवस्थापन गर्न मेहनत गर्नुपर्छ ।

धनको विशेषता नै हो, उचित व्यवस्थापन वा पारिचालन भएन भने घट्न वा स्थीर हुन थाल्छ । त्यसो हुन नदिन दिनरात मेहनत गर्नुपर्दछ । धनी मानिसले कडा शारीरिक श्रम गर्नु नपर्ला । तर, मानसिक श्रम त गर्नैपर्दछ । मानसिक श्रमको थकान वा दबाब शारीरिक श्रमको भन्दा कम हुँदैन । धनी हुनु एक प्रकारको ‘ब्यालेन्स सीट’ जस्तो हो । यसको सम्पत्ति पक्ष मात्र हुँदै दायित्वको पाटो पनि उत्तिकै हुन्छ ।

२. प्रेम र परिवारका लागि समय अभाव

अधिकांश धनी मानिसको जीवन हेर्दा उनीहरूले प्रेमी/प्रेमिका तथा परिवार र आफन्तजनलाई कमै समय दिन भ्याउँछन् । यसैकारण कतिपयका प्रेम सम्बन्ध टुट्दछन् । कतिपयका सम्बन्धविच्छेद हुन्छन् । अभिभावक र सन्तानबीच मनोवैज्ञानिक दूरी बढ्छ । बाहिरबाट हेर्दा सबै ठीकठाक जस्तो हुन्छ । भित्रभित्रै निजी तथा पारिवारिक वातावरण बिग्रिरहेको हुन्छ ।

३. अल्कोहलिज्म र बहुमुखी यौन सम्बन्ध

धनी मानिसको जीवनमा अध्ययन गर्दा पाइने अर्को नकारात्मक पाटो हो– अल्कोहलिज्म र बहुमुखी यौन सम्बन्ध । प्रारम्भमा यी धनी हुनुको विशेषताजस्ता लाग्दछन् । महँगो मदिरा गरिब र मध्यम वर्गीयको सपनाजस्तो बनेको हुन्छ किनकि उनीहरूको आयस्तरले धान्दैन । धनले महँगा रक्सी खाने हैसियत दिन्छ ।

त्यसैगरी भनिन्छ— धनले रूप र यौवनलाई आकर्षित गर्ने क्षमता राख्दछ । प्रारम्भमा यी सामान्य कुरा जस्तो लाग्दछन् । तर, लतको रूपमा विकास भयो वा कतिपय सन्तुलन मिलेन भने यी खराब आदतको धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

अति अल्कोहलले शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्दछ । सुरक्षा मापदण्ड उल्लङ्घन भई प्रहरीको फन्दामा पर्नुपर्ने हुन सक्दछ । यौन रोगको संक्रमण हुन सक्दछ । यस्ता अवाञ्छित सम्पर्कलाई प्रयोग गरी मान्छेले ‘ब्ल्याकमेल’ गर्न सक्दछन्। कतिपय धनी ‘हनी ट्र्यापमा’ पनि फस्दछन् ।

धनको उन्मादले आउने यी खराब बानीले व्यक्तिगत तथा पारिवारिक जीवनमा पनि नकारात्मक असर पर्न सक्दछ ।

४. अहङ्कारले शत्रु कमाउने सम्भावना

धनसँगै अहङ्कार पनि आउँछ । अहङ्कारले विनम्रता गुम्न सक्दछ । मान्छेसँग गलत व्यवहार हुनसक्ने सम्भावना बढ्दछ । आफूले थाहै नपाइकन गरेका गलत व्यवहारबाट मान्छेले अपमानित महसुस गर्न वा मन दुखाउन सक्दछन् । त्यस्ता मान्छे जीवनभरिका शत्रु बन्न सक्छन् । उनीहरूले बदलाको भावना राखेका हुन्छन् । मौका पाउँदा प्रतिशोध साँध्न सक्छन् ।

५. असुरक्षा र तनाव

धनी हुनु एक प्रकारले असुरक्षाको भयबीच बाँच्नु पनि हो । जोसँग धन हुन्छ, उही नै लुटिने सम्भावना पनि हुन्छ । ठगहरूको ‘टार्गेट’ मा धनी मान्छे नै हुन्छन् । गुन्डाहरूले धर्काउने, धम्क्याउने र फाइदा लिन खोज्ने पनि धनीबाटै हो ।

घुसखोर प्रहरी र कर्मचारीले धनीबाटै आशा गर्दछन् । राजनीतिज्ञले पार्टी चलाउने चन्दा र चुनाव खर्चको अपेक्षा धनीबाटै गर्दछन् । यी सबैका आशा, अपेक्षा पूरा नभएमा सुरक्षा जोखिम बढाउँछ ।

धनी मान्छेका लगानी धेरैतिर हुन्छन् । हरेक व्यवसाय र लगानी क्षेत्रका आआफ्ना विशेषता र जटिलता हुन्छन् । एक साथ धेरै जटिलताको चिन्ता गर्नुपर्ने हुन्छ । एकसाथ धेरै पक्षसँग सम्पर्क र संवाद गर्नुपर्ने हुन्छ । साझेदारसँग मझौला हुन सक्दछन् । सरकारसँग कर राजस्व र नीतिगत सम्बन्ध हुन्छन् । बजार र उपभोक्ता प्रवृतिको विश्लेषण गरिरहनु पर्दछ । अन्य कयौं नीतिगत तथा व्यवस्थापकीय समस्या हुन्छन।

यी सबै कुराले तनाव र अनिद्रा बढाउँछ । सँगसँगै सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइराइड, युरिक एसिडजस्ता रोग देखा पर्न सक्दछन् । धनी मानिसलाई ब्रेन ह्यामरेज र हृदयघातको सम्भावना पनि बढी हुन्छ ।

६. स्वस्थ प्रतिस्पर्धाको हुटहुटी

सम्पन्न संसारमा धनी-धनीबीचको प्रतिस्पर्धा, टक्कर र ईष्याभाव बेजोड हुन्छ । कसले कति कमायो, कसले कसलाई उछिन्यो भन्ने हिसाब-किताब भइरहेको हुन्छ । को छिटो, धेरै धनी हुने भन्ने प्रतिस्पर्धा चल्छ । धनी-धनीबीच हुने प्रतिस्पर्धा यदाकदा जटिल र शत्रुतापूर्ण भइदिन्छ ।

धनी हुने महत्वाकांक्षाको कुनै सीमा हुँदैन । धनले अघाएको मान्छे अहिलेसम्म भेटिएको छैन । धन एक प्रकारको महत्वकांक्षा पनि हो । धेरै कमाउने र अरुलाई उछिन्ने प्रतिस्पर्धाको भावनाले गर्दा धन कमाउनु कहिल्यै अन्त्य नहुने दौडजस्तो बन्न पुग्दछ ।

७. गैरकानूनी काम गर्न हौसिने जोखिम

धनको महत्वाकांक्षा र प्रतिस्पर्धाले धनी मान्छेलाई गलत तथा गैरकानूनी कामतिर प्रेरित गर्न सक्दछ । यही कारणले ठगी, कालोबजारी, गैरकानूनी वस्तुको व्यापार, लागूऔषध ओसारपोसार, करछलीजस्ता घटना हुन्छन् ।

भूमिगत गिरोहको जन्म हुन्छ । ग्याङ फाइट हुन्छन् । मर्ने/मार्ने काम पनि हुन्छ । गैरकानूनी कार्य र शक्ति निर्माणमा धनीहरूको प्रत्यक्ष तथा पछाडिबाट हात हुन्छ । भ्रष्ट राजनीतिज्ञलाई भरथेग गर्ने काम धनीले नै गर्दछन् । धनीहरूले गर्ने गैरकानूनी काम र शक्ति अभ्यासले समाजलाई गलत बाटोतिर लान्छ । राष्ट्र भित्रभित्रै खोक्रो र पतन हुन सक्दछ ।

८. अनैतिकताबोधको भावना

धनी मान्छेले धन कमाउने क्रममा सबै राम्रा र कानूनी काम मात्र गरेका हुँदैनन् । समाज, राष्ट्र र देशलाई फाइदा हुने काम मात्र गरेका हुँदैनन् । तसर्थ, धनीहरूको मानमा एक प्रकारको हीनता, अनैतिकताको बोध र ग्लानी पैदा भइरहन्छ ।

समाजको गरिबी, अन्याय र असमानता मैले धेरै कमाएको कारणले त हैन भन्ने भावना पैदा हुन्छ । केही मानिस मात्र असाध्यै धनी भए भने समाज, देश र राष्ट्र गरिब हुन्छ ।

९. अरुको घृणाभावको केन्द्र बन्नुपर्ने

धनीलाई सबैले सम्मान गर्दछन् भन्ने छैन । धनी मान्छेलाई मन नपराउने, उनीहरूलाई शोषक र बदमासका रूपमा बुझ्ने मान्छे पनि समाजमा हुन्छन् । अझ साम्यवादी, समाजवादी र वर्गसंघर्षको सिद्धान्तमा विश्वास गर्नेहरूले धनी मान्छेलाई घृणा गर्दछन् ।

समाजमा गरिबहरूको संख्या ठूलो छ भने धनीप्रतिको घृणा पनि ठूलो हुन्छ । धनी मान्छेप्रति बेवास्ता भाव राख्नेहरू पनि धेरै हुन्छन् । राज्य र समाजको उपल्लो तहमा धनी मान्छेको पहुँच र प्रभाव बलियो हुन सक्दछ । तर, आम समाजमा धनीहरूको प्रभाव खासै हुँदैनन् । त्यसैले प्रत्येक जसो धनी मान्छेले कुनै न कुनै राजनीतिक दल तथा राजनीतिज्ञको सहारा लिएका हुन्छन् ।

१०. पैसाले खुसी किन्न सकिँदैन

धन र खुसी फरक कुरा हुन् । पैसाले सुख, सुविधा किन्न सकिन्छ । तर, खुसी र आनन्द किन्न सकिँदैन । खुसी र आनन्द आध्यात्मिक भाव हुन् । झुपडीमा बस्ने सन्न्यासी आलिसान महलमा बस्ने धनाढ्य वा दरबारमा बस्ने राजामहाराजाभन्दा खुसी र आनन्दी हुन सक्दछ । मान्छेको मन अशान्त छ भने धनले केही गर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved