अनेक विभेद झेल्दै कैलालीमा समलिंगी विवाह दर्ता, दम्पती नै खुसी

नेपालभ्युज

अनेक विभेद झेल्दै कैलालीमा समलिंगी विवाह दर्ता, दम्पती नै खुसी

धनगढी । कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ । कैलालीको कैलारी गाउँपालिका– ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका १ का मलिना न्यौपानेबीच विवाह भएको चार वर्षपछि गाउँपालिकामा विवाह दर्ता भएको हो ।

समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिलेसम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थिएन । पहिलोपटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मलिनाले धनगढीमा खुसी साटिन् ।

‘विवाह भएको चार वर्ष भइसकेको थियो । थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ उनले भनिन् ‘गाउँपालिकामा हाम्रो विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ र गाउँपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

यो बीचमा परिवार र समाजबाट आफूहरूले धेरै समस्या झेलेको भए पनि अहिले दुवै परिवारले राम्रो व्यवहार गर्ने गरेको उनले बताइन् ।

मनिलाका श्रीमान् प्रकाश चौधरीले पनि आफूहरूले ठूलो समस्या झेल्दै विवाह दर्तासम्म पुगेको बताए ।

उनीहरूले समलिङ्गी विवाहपछि अब धर्म सन्तानका विषयमा पनि सहज गरिनु पर्ने बताएका थिए । विवाह दर्ता पनि अब कानुनी रूपमै आफूहरू पति पत्नी भएको भन्दै उनीहरूले पनि अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनुपर्ने बताएका थिए ।

निलहिरा समाजकी अध्यक्ष पिंकि गुरुङले समलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन् । उनले विभिन्न कारणबाट अहिलेसम्म ७१ जनाले आत्महत्या गर्नुपरेको तथ्याङ्क सुनाइन् । ती मध्ये अधिकांशलाई समाज र परिवारबाट सहयोग नमिलेको उनको भनाइ थियो ।

निलहिरा समाजकी अध्यक्ष सुदूरपश्चिम समाजकी अध्यक्ष लगायतले दम्पतीलाई बधाई तथा शुभकामना दिएका थिए । सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो ।

सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved