जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह

जानकी मन्दिरमा २१ जोडीको सामूहिक विवाह

जनकपुरधाम । जनकपुरधाम स्थित जानकी मन्दिरमा सोमवार राती २१ जोडीको सामूहिक विवाह गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषा सहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २१ जोडीको विवाह गराइएको छ ।

सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।

जनकपुरधाममा आयोजना गरेको निशुल्क सामुहिक विवाहमा अनाजवाट रामजानकीको स्वयंवरको प्रतिमा बनाउन भारतको मध्य प्रदेशवाट जनकपुरधाम आएका कलाकार सतिश गुर्जरले पनि यागिनी गुर्जर संग स्वयंवर गरेका छन् । सतिश संगै स्वयंवर रचाएकी उनको जोडी यागिनी गुर्जर भारत मध्य प्रदेश उनको गाँउ हार्जा कै हुन र उनीसंगै टिममा आएकी थिईन् ।

कलाकार गुर्जरले आफनो स्वयंवर जनकपुरधाममा हुने अवसर जुरेकोमा भाग्यशाली महशुस भइरहेको बताए । उनले भने, ‘भगवान रामजानकीको स्वयंवरको प्रतिमा बनाउन आएको थिए पवित्र यस धर्तीमा आफनो स्वयंवर समेत भयो, यो भगवानकै ईच्छा थियो भन्ने लागेको छ ।’ उनले स्वयंवर जनकपुरधाममा गरेको र गाँउ पुगेर विवाह धुमधामका साथ गर्ने बताए ।

परिषद् अध्यक्ष सन्तोष साहका अनुसार जनकपुरधामको कलवार धर्मशालामा सवै जोडी सहित उनका परिवारजन जम्मा भएर खानपीन गर्दै वेहुलालाई रथमा बाजागाँजा सहित नगर परिक्रमा गराइएको छ ।

साथै सो समयमा बेहुली सबैलाई रितु ब्युटी पार्लरमा तयार गरि साँझ जानकी मन्दिरको प्राङ्गणमा जहाँ हिजो रामजानकीको विवाह भएको थियो सोहि विवाह मण्डपमा सामुहिक स्वयंवर गरिएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य वैवाहिक सरसमान र भोज सहितका आवश्यक पर्ने सबै सामाग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

विवाहलाई कम खर्चिलो तथा ऐतिहाँसिक बनाउनका लागि निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनौट गर्ने काम भएको परिषद् अध्यक्ष साहले बताए ।

विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।

विवाह समारोहमा प्रतिनिधि सभा सदस्य जुलस् माहासेठ, जानकी मन्दिरका छोटा महन्थ राम रोशन दास बैष्णव लगायतले नवविवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिए ।

विश्व हिन्दु परिषद् नेपालले विगत पाँच वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलीपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ ।

विवाह गर्न चाहने बेहुला बेहुलीको उमेर पुगेको हुनु पर्ने भएकाले उमेर खुलेको नागरिकता सहितको आवश्यक कागजपत्र पहिला बुझाउनु पर्ने प्रावधान रहेको परिषदको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved