पुस १२ गतेदेखि मण्डला नाटक घरमा `पगला घोडा´ मञ्चन हुने

नेपालभ्युज

पुस १२ गतेदेखि मण्डला नाटक घरमा `पगला घोडा´ मञ्चन हुने

काठमाडाैं । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ।

नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ । शनिबार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो ।

बादल सरकार १९७० को दशकमा प्रगतिशील,स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् ।

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कलामार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको उनी बत्ताउँछन् ।

अहिले समाजमा घटेको घटनालाई दर्शक सामु प्रत्यक्ष रुपमा देखाउनलाई ‘पगला घोडा’ एक उत्कृष्ट कथा रहेको उनको भनाइ छ । नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत मञ्चमा देखिने छन् ।

नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् । यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’ , ‘बिम्बाको सपना’ , ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’ , ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति`(भरत नाट्यम्) लगायत रहेका छन् ।

नाटकलाई जोए ,मण्डला थिएटर , भव्: , हाम्रो पात्रो , पठाओ, भिडियो पसल , रमाइलो एप , सानदार क्याफे लगायतले प्रचारमा सहयोग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved