गेटामा मेडिकल विश्वविद्यालयको प्रक्रिया अगाडि बढिसक्दा किन प्रतिष्ठानकै अडानमा छन् डा.केसी ?

विश्वविद्यालय सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गरी राष्ट्रियसभामा समेत टेबल भइसकेको छ । सभामा टेबलपछि प्रतिनिधिसभाको समितिले आवश्यक छलफल थालेको छ ।

नेपालभ्युज

गेटामा मेडिकल विश्वविद्यालयको प्रक्रिया अगाडि बढिसक्दा किन प्रतिष्ठानकै अडानमा छन् डा.केसी ?

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ स्थित गेटामा निर्माण भएका संरचनामा सरकारले मेडिकल विश्वविद्यालय बनाउने आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।

विश्वविद्यालय सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गरी राष्ट्रियसभामा समेत टेबल भइसकेको छ । सभामा टेबलपछि प्रतिनिधिसभाको समितिले आवश्यक छलफल थालेको छ । संघीय संसदका दुईवटै सदनबाट विधेयक पारित गर्ने तयारीमा रहेको सरकारले विश्वविद्यालय स्थापनाकै प्रक्रिया अनुरुप गेटामा एक सय शैयाको अस्पताल सञ्चालन गरेको दावी गरेको छ ।

तर स्वास्थ्य शिक्षा सुधारका माग राख्दै विभिन्न चरणमा अनसन बस्दै आएका प्राध्यापक डा.गोविन्द केसी भने गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नै बनाउनुपर्ने अडानसहित सत्याग्रहका लागि धनगढी पुगेका छन् । शुक्रबार गेटामै ३ दिने सत्याग्रह बस्ने तयारीसहित त्यहाँ पुगेका केसीलाई बस्न नदिने तयारी प्रशासनकै थियो । तर गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ सघंर्ष समितिको टिमले डा. केसीलाई विश्वविद्यालय बनाउने तयारी निकै अगाडि बढिसकेका कारण प्रतिष्ठानको विषय बीचमा नल्याउन आग्रह गरेकै बेला डा.केसी समितिसँग कड्किए ।

विश्वविद्यालय बनाउने नाममा स्थानीयलाई झुलाउने कुरा मात्र भएकाले प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गरिनुपर्ने केसीको भनाइ छ । सरकारले आफूसँग गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सहमति गरेका कारण आफ्नो माग पूरा गर्नुपर्ने उनको तर्क छ ।

यही विषयमा संघर्ष समितिले सुदूरपश्चिममा आउन लागेको ठूलो योजना नरोक्न केसीलाई आग्रह गरे । यसै क्रममा केसी र समितिबीच केही विवाद भयो । त्यस लगत्तै केसीलाई सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक अमृत जैशीले मोटरसाइकलमा राखेर धनगढीको लक्ष्मीनारायण मन्दिर ल्याए ।

केसीले शुक्रबार साँझ लक्ष्मीनारायण मन्दिरबाटै सत्याग्रह सुरु गरेका छन् । केसीले गेटामा अहिले विश्वविद्यालय आवश्यक नरहेको तर्क गर्दै आएका छन् । पूर्वाधार तथा अन्य आवश्यक प्राविधिक कारण पनि अहिल नै गेटामा मेडिकल विश्वविद्यालय बन्न नसक्ने तर्क गरेका डा.केसीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको सहमति अनुसार गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिए ।

‘मसँग देउवा प्रधानमन्त्री हुँदा यहाँ स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सहमति भएको छ त्यही कार्यान्वयन गर्नुपर्ने मेरो माग हो ।,’ डा.केसीले भने ‘कुनै राजनीतिक शक्तिको धम्कीले म डराउँदिन । देउवा, ओली, प्रचण्ड कसैसँग डराउनेवाला छैन, नेपाली जनताको हितमा काम गराउन मैले सहमति गरेको हुँ, मसँग भएका सहमति कार्यान्वयन गर्न गेटामा प्रतिष्ठान बनाउनुपर्छ ।’

‘मलाई गेटाको ती भवनभित्र प्रवेश गर्न दिइएन, तिनै नेताहरुका कार्यकर्ताहरुले मलाई गेटमै रोके,’ उनले भने । कुनै माफियाबाट सञ्चालित समूहलाई मेराविरुद्ध लगाइएको छ, गेटामा विश्वविद्यालय भनेर यहाँ प्रतिष्ठान पनि बन्न नदिने चलखेल भइरहेका उनले बताए ।

‘सरकारी प्रतिष्ठान नखोलेर आफ्ना निजि मेडिकल कलेज खोल्न यिनीहरु लागेका छन्,’ उनी भन्छन्, ‘मलाई थाहा छैन, सरकारले भने अनुसार समयमै यहाँ प्रतिष्ठान खोलोस यसैमा भलो हुने छ ।’ विभिन्न आर्थिक मन्दी र काठमाण्डौँमा समेत विश्वविद्यालय सञ्चालन प्रक्रियामा रहेकाले धनगढीमा विश्वविद्यालय आवश्यक नरहेको उनको तर्क छ ।

तर शहीद दशरथचन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिले डा.केसीलाई सुदूरपश्चिमका जनताको मागअनुसार विश्वविद्यालय स्थापनाका लागि आफूहरुसँग ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । विश्वविद्यालयका लागि प्रक्रिया निकै अगाडि बढिसकेका कारण प्रतिष्ठानको मुद्धा बीचमा नल्याउन समितिले आग्रह गरेको छ ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डाक्टर गोविन्द केसी प्रदेशवासीको माग विपरीत देखिएकाले गेटा मेडिकल कलेजमा अनसन बस्न नदिएको जनाएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शैयाको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशवासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले बताएको हो ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डाक्टर केसी प्रदेशवासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको बताए ।

‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ गेटा मा अनसन बस्न नदिएकै हो,’भट्टले भने, ‘मोडालिटीको विषय उठाउनु भनेको विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्ने काम हो । प्रदेशवासीको भावना विपरीत अरुको इसारामा बोल्ने छुट केसी मात्र होइन कसैलाई पनि छैन ।’

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले डाक्टर केसीलाई छ सय शैयाको अस्पतालसहितको मेडिकल विश्वविद्यालयको मागलाई समेत समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनसन बस्न नदिएको कुरा साँचो भएको बताए ।

‘उहाँलाई हामीले ६ सय शैयाको अस्पतालसहितको विश्वविद्यालयको माग पनि समेट्नुपर्यो भनेका थियौँ तर उहाँले म विश्वविद्यालय पक्षधर होइन । म यो माग हाल्दिन भन्नुभयो,’ पाण्डेले भने, ‘उल्टै हामीलाई प्रहरी प्रशासनले लगाएका मान्छे हौँ भनेर तुच्छ व्यवहार गर्नुभयो । त्यहाँबाट हामीले लखेटेको होइन । सुदूरपश्चिमको मुद्दामाथि धावा बोलेपछि हाम्रो क्षेत्रमा बस्न दिदैनौँ भनेकै हो ।’

सुदूरपश्चिममा राष्ट्रिय गौरवका पश्चिम सेती लगायतका परियोजना तुहिएका बेला सरकारले मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रक्रिया अघि बढाएर प्रदेशवासीलाई न्याय गरेको उनी बताउँछन् । सुदूरपश्चिमबासीको मुद्दामा धावा बोल्नेलाई प्रदेशवासीले बहिष्कार गर्ने उनको भनाई थियो ।

केसीले मेडिकल विश्वविद्यालयको माग भन्दा बाहिर गएर प्रतिष्ठानको कुरा उठाएको भन्दै उनको अनसनको विरोधमा धनगढी प्रदर्शन समेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved