ब्यूतिँदै पल शाहको मुद्दा, सर्वोच्चबाट कस्तो आउला फैसला ?

नेपालभ्युज

ब्यूतिँदै पल शाहको मुद्दा, सर्वोच्चबाट कस्तो आउला फैसला ?

काठमाडौं । अभिनेता पल शाहविरुद्धको मुद्दामा उच्च अदालत पोखराले दिएको सफाइ त्रुटिपूर्ण देखिएको भन्दै सर्वोच्च अदालतमा फेरि मुद्दा दर्ता हुने भएको छ ।

एकवर्ष जेल बसेपछि उच्च अदालतबाट निर्दोष साबित भएर फर्केका पल शाहको मुद्दा फेरि सर्वोच्च अदालतमा दर्ता हुने भएपछि यसबारे धेरैकाे चासाे देखिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिने आदेश गरेसँगै जबरजस्ती करणीसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता हुने भएको हो ।

उच्च अदालतले शाहमाथिको ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिने फैसला गरेको थियो । अब फेरि शाहको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

अबको सुनुवाइपछि बालयौन दुरूपयोग मुद्दामा एक वर्ष थुनामा बसेर छुटेका पल शाह फेरि जेल जालान् या सफाइ पाउलान् ? चासोका साथ हेरिएको छ ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिने आदेश गरेको थियो ।

पल शाह छुटेपछि सरकारी वकिलले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याइ पाऊँ भनी निवेदन दर्ता गराएका थिए ।

‘पीडितले प्रतिकूल बकपत्र गर्‍याे भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदालतले पाँच वर्षअघि गरेको थियो । जबरजस्ती करणीसम्बन्धी सर्वोच्च अदालतको नजिरका आधारमा अभिनेता पल पल शाहविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा फेरि ब्युँतिने भएको हो ।

२०७९ फागुन ४ गते उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको थियो । त्यसपछि उनी एक वर्षको जेल बसाइपछि छुटेका थिए ।

मुद्दा सर्वोच्च गएपछि फेरि प्रक्रिया सुरुबाटै हुने जानकारहरूको तर्क छ । पीडित नाबालक रहेको देखिएको प्रमाण, पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र सबै सर्वोच्चले हेर्नेछ ।

पीडित र प्रतिवादीबीचको अडिओ रेकर्डलाई आधार मानेर सरकारी वकिलले मुद्दा दोहोर्‍याउन निवेदन दिएका थिए ।

घटना के थियो ?

पल शाहले आफूमाथि बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले मुद्दा हालेको थिइन् । २०७८ फागुन ११ मा तनहुँ प्रहरीमा जाहेरी दिएकी उनले नवलपरासीमा पनि अर्काे उजुरी दिएकी थिइन् ।

उजुरीपछि पल शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि शाहविरुद्ध तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए ।

मुद्दा अदालत पुगेपछि जबरजस्ती करणी भएको भनी प्रहरीमा जाहेरी दिएकी किशोरीले बयान फेरेकी थिइन् ।

जाहेरवाला किशोरीले बयान फेरेर आफूमाथि बलात्कार नभएको बताएकी थिइन् । नवलपुर जिल्ला अदालतले बालयौन दुराचार ठहर गर्दै शाहलाई कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

बालयौन दुरूपयोग गरेको ठहरसहित नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिना कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ भराउने फैसला गरेको थियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २०७९ साल भदौ २० गते त्यस्तो फैसला सुनाएको थियो।

तनहुँ जिल्ला अदालतले भने शाहलाई सफाइ दिएको थियो । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएका थिए ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिने आदेश गरेको थियो । बालयौन दुरूपयोग मुद्दामा एक वर्ष थुनामा रहेका शाह छुटेका थिए ।

अदालतले शाहमाथिको ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिने फैसला गरेको थियो । अब फेरि शाहको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved