टिप्पणी

यत्रो सहरमा ई:हरूले उभिनका लागि मात्रै पनि किन ठाउँ पाउँदैनन् ? 

शान्तपूर्वक फुटपाथ व्यवसायीहरूको पक्षमा उभिने ई:को अभियानमा त्यहाँका स्थानीय बासिन्दा बाधक बने । ई:को अभियानविरुद्ध स्थानीय बासिन्दाहरूको काउन्टर नारा थियो— सम्पदा मास्न पाइँदैन, फुटपाथ व्यापार चाहिँदैन ।

यत्रो सहरमा ई:हरूले उभिनका लागि मात्रै पनि किन ठाउँ पाउँदैनन् ? 

सुरूमै भनिहालेँ— यस टिप्पणीमा मैले बढीभन्दा बढी ‘सहर’ शब्दको प्रयोग गरेको छु । सहर भनेर मैले सिङ्गो सहर र सबै सहर आश्रितहरूलाई भन्न खोजेको होइन । मैले यहाँ अभिजात वर्ग; जो गरिबलाई सधैँ गरिब नै राखिरहनुपर्छ, उनीहरूलाई कुनै पनि हिसाबबाट माथि उठ्न दिनुहुँदैन भन्ने मान्यता राख्छन् । उनीहरूलाई भन्न खोजेको हुँ ।

अब प्रमुख विषयतिर प्रवेश गरौँ ।

हिजो अर्थात् बुधबारको मात्रै कुरा हो, अभियन्ता ई: ललितपुर महानगरपालिकाको कार्यालयनजिकै १०८ मिनेटसम्म उभिने भन्दै पुगे । फुटपाथ व्यवसायीहरूले व्यापार गर्न पाउनुपर्ने माग गर्दै उनी त्यहाँ उभिन पुगेका थिए ।

“गरिब होइन, गरिबी हटाऊ” नारा लेखिएको पर्चा, पम्पलेट बोकेर केही समर्थकका साथ त्यहाँ पुगेका उनले फुटपाथ व्यवसायीहरूको पक्षमा उभिन भने पाएनन् ।

शान्तपूर्वक फुटपाथ व्यवसायीहरूको पक्षमा उभिने ई:को अभियानमा त्यहाँका स्थानीय बासिन्दा बाधक बने । ई:को अभियानविरुद्ध स्थानीय बासिन्दाहरूको काउन्टर नारा थियो— सम्पदा मास्न पाइँदैन, फुटपाथ व्यापार चाहिँदैन ।

ई:को समर्थक र स्थानीय बासिन्दाहरूबीच तनाव नै सिर्जना हुने सम्भावना देखेपछि त्यहाँ प्रहरीहरू पुगे र सुरक्षाको नाममा ई: र उनका समर्थकहरूलाई ठाना पुर्‍याए । ई: र उनका समर्थकहरूले न उभिन पाए, न केही ।

यसपछि फुटपाथ व्यवसायीहरूको पक्षमा उभिने ई:को हुटहुटी थाँती नै रह्यो— कमसेकम हिजोका लागि । उनी भावी दिनहरूमा त्यहाँ जालान्, उभिएलान् । त्यो अर्कै कुरा हो । तर, प्रमुख विषय र सवालचाहिँ यो हो कि यत्रो ठूलो सहरमा ई:हरूले उभिनैका लागि ‘स्पेस’चाहिँ किन पाउँदैनन् ? यो सहर ई:हरूलाई उभिनैका लागि किन दिँदैन ?

ई:हरूलाई प्रतिनिधि पात्र मान्ने हो भने यो सहरले यस्ता धेरै ई:हरूलाई धेरैपटक हटाएको छ । धेरैपटक उभिन दिएको छैन । धेरैपटक हेपेको छ । उपेक्षा गरेको छ । बेवास्ता गरेको छ । त्यसैले त सोध्न बाध्य भइयो— यो सहरमा ई:हरूले उभिनैसम्म पनि किन ‘स्पेस’ पाउँदैनन् ? किन हटाइन्छन् पटक-पटक ?

ई:हरूले उभिन नपाएका कुरा समाचारका रूपमा केही न्यूज पोर्टलहरूले छ्यास्सछुस्स लेखे । हामीमध्ये धेरैले त स्क्रोल गरिपठायौँ । थोरैले पढ्यौँ । पढ्नेजत्तिले पनि ‘ए ! ई:लाई उभिन दिइएन रहेछ’ भनेर हल्कारूपमा छाडिदियौँ । किनकि हामीलाई सामान्य लाग्यो । तर, यो विषय जत्ति सामान्यजस्तो लाग्यो, त्यत्ति नै विचारणीय, मननीय र घतलाग्दो पनि हो ।

फेरि एकपट सोच्नुस् त के भएको हो ? दुखी, गरिबहरूले पनि बाँच्न पाउनुपर्छ, जीविकोपार्जन गर्न पाउनुपर्छ भनेर ई:हरू उभिन पुगेका हुन् । ई:हरूको त्यो मुद्दा र मागविरुद्ध स्थानीय बासिन्दाहरूले विरोध गरेका हुन् । अर्थात् स्थानीय बासिन्दाहरूले ‘गरिब, दुखीहरूले नबाँच्दा पनि हुन्छ, उनीहरू चाहिँदैनन्’ भनेर भनेका हुन् प्रतिकात्मकरूपमा । उनीहरूले आफ्नो नारामा मिसाएको वाक्यांश ‘…फुटपाथ व्यापार चाहिँदैन’ ले त्यही भन्न खोजेको हुनुपर्छ । अब यसमा घत मान्ने, खुसी मान्ने, दुखी हुने वा रिस मान्ने, आ-आफ्नो कुरो !

र, यी र यस्ता विषयहरूलाई समाजशास्त्री, मानवशास्त्री, नागरिक समाज, बुद्धिजीवीहरू तथा जाने/बुझेकाहरूले कसरी सोच्छन्/लिन्छन्, त्यो उनीहरूको विषय भयो । तर, लाग्छ सम्भवत: यी सबै-सबै पक्षहरू पनि शक्ति, रवाफ र पैसाकै रसातलमै निकम्मा छन् । खैर जे होस् गर्नुपर्ने तर्क, उठाउनुपर्ने मुद्दा र निकाल्नुपर्ने निष्कर्ष उनीहरूबाट नआएको भने पक्कै हो । यसबारे सम्बन्धित फोरमहरूमा आवश्यक बहस होला र होस् भन्ने चाहन्छु ।

तर, जे भएपनि यो विषय सानो वा उपेक्षित गर्नुपर्ने विषयचाहिँ पक्कै होइन ।

पहिलो त यो सहरले ई:हरूलाई उभिनसम्म पनि किन ‘स्पेस’ दिँदैन ? यो नि कै वजनदार प्रश्न हो र हुनुपर्छ । हुन त यो पहिलोपटक वा पहिलो घटना भने पक्कै होइन । यो सहरले समेटेको धेरै ठाउँमा ई:हरू हटाइएका छन् । कुटिएका छन् । लुटिएका छन् । अझै यस्ता घटनाहरू काठमाडौं महानगरपालिकामा बढी देखिने गरेका छन् ।

जसै यो सहरले गरिब र गरिबका लागि लड्नेहरूलाई रुवाएकै छ । हेपेकै छ । तर, अहिलेमात्रै हेपेको होइन । यो क्रम निकै पहिल्यैदेखि योजनाबद्धरूपमै अघि बढाइएको छ । त्यसैले त अहिले पनि यो सहर गरिबहरूलाई र उनीहरूको समर्थकहरूलाई हेपेको-हेप्यै गर्छ ।

यो सहरले निकै पहिलेदेखि हो कर्णाली, सुदूरपश्चिम अनि मधेसहरूलाई हेप्न थालेको । त्यस क्षेत्रबाट ठूला सपना बोकेर सहर छिरेकाहरूलाई मान्छे नै नगन्न थालेको पनि निकै वर्ष बित्यो । मधेसको सन्दर्भमा त यो सहरले घतलाग्दो एउटा जोक नै बनाएको छ । पहिले-पहिले यो सहरका स्थानीय बासिन्दाले मधेसबाट आएकाहरूलाई ‘मान्छे होइन, मधेसी हो’ भनेर भन्थे रे !

अहिले पनि सहर छिरेका प्राय: कर्णाली, सुदूरपश्चिम अनि मधेसका बासिन्दाहरूले त्यो दु:ख बोकिरहेकै छन् । दु:खका प्याटर्न परिवर्तन भए होलान्, हेप्ने प्रवृत्तिमा फरकपन आयो होला तर, अझै पनि सहरको त्यो अभिजात मान्यता अनि सोच्ने तरिकाचाहिँ त्यही छ, जुन हिजो थियो । हामी बढी हौँ, उनीहरू कम हुन् । हामी धनी हौँ, उनीहरू गरिब हुन् । हामी हुने-खाने हौँ, उनीहरू नहुने-नखानेहरू हुन्; यी र यस्तै मान्यता सहरमा जबरजस्त बलियो बन्दै गएको देखिन्छ । यो सहरमा बराबरी भन्ने कुरै छैन । समावेशीता छैन । समानता छैन । जुन साह्रै-धेरै दुखद् हो— कमसेकम अहिलेको जमानामा, अहिलेको व्यवस्थामा ।

हामीले यत्तिका वर्षसम्म त्यही बराबरीका लागि, त्यही समावेशीताका लागि अनि त्यही समानताका लागि लड्यौँ । तर, अहिलेसम्म पनि सहरको मान्यता त्यही छ ।

गीतकार रामेशले कुनै बेला लेखेका थिए— ‘गरिबको चमेली बोल्दिने कोही छैन ।’ त्योबेला गरिबको बोल्दिने कोही थिएनन् होला । अहिले गरिबको बोल्नेहरू छन् । तर, बोल्न नदिनेहरू अझ सशक्त भएका छन् । गरिबहरूको प्रतिनिधि कोही नबनून् भन्ने चाहने धेरै छन् । सशक्त बोल्न नदिनेहरूको छेऊमा बोल्नेहरू निरीह नबन्ने कुरा कहाँ हुन्छ ?

अर्को कुरा यो सहर फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्न दिँदैन । यो हामीले धेरैपटक देखिसक्यौँ । फुटपाथमा व्यवसाय गर्नेहरूको माल/सामान पोखाइदिएको, उनीहरूको ठेलागाडा खोसिदिएको/जलाइदिएको धेरैपटक देख्यौँ । घुमाउरो पारामा सहर ‘फुटपाथमा व्यवसाय गरेर तँ आर्थिकरूपमा उकासिन पाउँदैनस्’ भन्दैछ । ‘टन्न पैसा बोकेर आउँछस् भने स्वागत छ, नत्र प्रवेश निषेध’ भनिरहेको छ ।

तर, कुनै व्यवसाय गरेर उकासिन नपाउने अघोषित उर्दी यो सहरको छ । यही अवस्थाबाट गुज्रिएका कैयन्‌‌ले सोध्दै आएका छन्—  के यो सहर धनीहरूका लागि मात्रै हो ? के सहरमा गरिबहरूलाई बाँच्ने अधिकार छैन ?

सँगैमा आउने प्रश्नहरू हुन्— गरिबहरूले यो सहरमा आफ्नो सपना र भविष्य खोज्न पाउँदैनन् ? यस्ता कति अनुत्तरित प्रश्नहरू, असीमित प्रश्नहरू, अप्ठ्यारा प्रश्नहरूको समाधान खोज्ने ई:हरूलाई किन उभिनसम्म किन नदिने ? यो प्रश्न अझ गम्भीर प्रश्न हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved