बजारमा फेरि चिनीको हाहाकार, तर मूल्य नपाएर पिल्सिरहेछन् उखु किसान

बजारमा चिनीको हाहाकार छ । सरकार पनि भारतबाट चिनी ल्याउन अनेक प्रयत्न गरिरहेको छ । तर बिडम्बना नेपालमा चिनी बनाउने कच्चा पदार्थ उखु उत्पादन गर्ने किसान भने पीडामा पिल्सिरहेका छन् ।

बजारमा फेरि चिनीको हाहाकार, तर मूल्य नपाएर पिल्सिरहेछन् उखु किसान

काठमाडौं । बजारमा फेरि चिनीको अभाव भएको छ । दशैं–तिहारछेका हाहाकार भएको चिनी आपूर्ती क्रमशः सहज हुने अपेक्षा गरिरहेका उपभोक्ताले फेरि अभावको सामना गर्नुपरेको छ । खासगरी चिनी आपूर्तीप्रति सरकार जिम्मेवार नहुँदा बजारमा अभाव भएको हो ।

चिनी अभाव र आपूर्तीका लागि भएका पहल

साउनको पहिलो सातादेखि नै बजारमा चिनी रित्तिन थालेको थियो । जसकारण खुला सीमानाकाबाट खुद्रा रुपमा फाट्टफुट्ट चिनी भित्रियो । र, काठमाडौँमा प्रतिकिलो ९० रुपैयाँको चिनी १२५ रुपैयाँमा किनबेच हुन थाल्यो ।

असोज लागेसंगै खुलासीमाबाट भित्रिएको चिनीको अभाव बजारमा हुन थाल्यो । जब बजारमा चिनीको अभाव देखिन थाल्यो, तब कालोबजारीयाले पसल र गोदामै भएका चिनी लुकाए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई भन्सार महसुलमा ५० प्रतिशत छुट पाउने गरी ६० हजार टन चिनी आयात गर्न दिन भदौमा प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा अर्थ मन्त्रालयले जम्मा २० हजार टन मात्र चिनी आयातका लागि स्वीकृति दियो ।

सोही २० हजार टन चिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भागबन्डा गर्दै साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन चिनी आयात गर्न स्वीकृति दियो ।

तर चिनी ल्याउने काममा दुवै कम्पनीको कुनै प्रगति देखिएन । सरकारले जीटुजीमार्फत पनि ५० हजार टन चिनी भित्र्याउन कुटनीतिक पहलसमेत गरेको थियो । यद्यपि, यस प्रकियाबाट पनि नेपाली बजारमा चिनी आउन सकेन ।

बजारमा कहिलेदेखि सहजै पाइएला चिनी ?

चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ ।

चिनी आपूर्तिको जिम्मा पाएपनि टेण्डर नपाएका कारण चिनी आयात गर्न नसकिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी बताउँछिन् । ‘कम्पनीले १० हजार टन चिनी आयात गर्न पाउने स्वीकृति पाएपनि टेण्डर परेन’, उनले भनिन् ‘सरकारले जीटुजीमार्फत चिनी ल्याउन गरेको प्रयासप्रति हामी पनि जानकार छैनौं ।’

मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नेपाल ल्याउन नसकिएको उनको भनाइ छ ।

जीटुजीमार्फत भारतबाट ल्याउने भनिएको सहुलियतको चिनी तत्काल नल्याइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर बताउँछन् । भारतले मूल्य महंगो भनेका कारण सो चिनी ल्याएर नेपालमा बिक्री गर्न नसकिने उनको भनाइ छ ।

‘अहिले भारतमा चिनी प्रतिकेजी ४८ रुपैयाँ आइसी छ, सो चिनी खरिद गरेर भन्सार तिरी नेपाल ल्याउँदा प्रतिकेजीको मूल्य एक सयभन्दा माथि पर्न जान्छ’, उनले भने ‘सरकारले सहुलियतमा ल्याएको चिनीको मूल्य झनै महंगो भएपछि त्यसले बजारमा राम्रो सन्देश जाँदैन ।’

आन्तरिक उद्योगमा उत्पादित चिनी बजारमा आउन थालेपछि स्वतः भाउ घट्ने उनको ठम्याइ छ ।

उखु किसानको बेग्लै पीडा

बजारमा चिनीको हाहाकार छ । सरकार पनि भारतबाट चिनी ल्याउन अनेक प्रयत्न गरिरहेको छ । तर बिडम्बना नेपालमा चिनी बनाउने कच्चा पदार्थ उखु उत्पादन गर्ने किसान भने पीडामा पिल्सिरहेका छन् ।

नेपालमा वार्षिक ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ । जसमध्ये करिब एक लाख ५० हजार मेट्रिक टन चिनीको माग स्वदेशी उत्पादनले धान्छ भने बाँकी आयात गर्नुपर्ने अवस्था छ । यद्यपि, उखु किसानहरु मूल्य नपाएको र सरकारले बेवास्ता गरेको भनेर पटकपटक विरोधमा उत्रिरहेका छन् ।

गत वर्ष सरकारले उखु प्रवद्र्धन खर्च भनेर प्रतिक्विन्टलमा ७० रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । यद्यपि, सोही अनुदानकै ५२ करोड रुपैयाँ रकमसमेत किसानहरुले अझै पाएका छैनन् ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा मन्त्रालयले गत वर्षको तुलनामा प्रतिक्विन्टल ११ रुपैयाँ मात्रै उखुको मूल्य बढाउन सक्ने प्रस्ताव गर्याे । मन्त्रालयको उक्त प्रस्तावप्रति उखु किसानहरु निकै रुष्ट भएका छन् । उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनाली सरकारले उखु किसानलाई साह्रै हेपेको बताउँछन् ।

उद्योगीले चिनीको मूल्य २ गुणाले बढाउँदा सरकारले उखु उत्पादन गर्ने किसानलाई ११ रुपैयाँ क्विन्टलमा उखुको मूल्य बढाउन प्रस्ताव गरेको उनको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved