झन् सुस्तायो घरजग्गा कारोबार, माघदेखि सुधार हुनसक्ने

अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले घरजग्गाको कित्ताकाट खुलाए पनि कारोबार भने बढ्न सकेको छैन ।

झन् सुस्तायो घरजग्गा कारोबार, माघदेखि सुधार हुनसक्ने

काठमाडौं । अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले घरजग्गाको कित्ताकाट खुलाए पनि कारोबार भने बढ्न सकेको छैन । अर्थतन्त्र खस्किँदै गएपछि सरकारले चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा जग्गा कित्ताकाट खुलाएको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा भन्दा भदौमा घरजग्गा कारोबार सुस्त भएको थियो । भदौमा देशभरका मालपोत कार्यालयहरूबाट ३५ हजार ६ सय ८६ लिखत पारित भएका थिए भने साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएको थियो । साउनको तुलनामा भदौमा लिखित पारित ३ हजार ५ सय ७७ ले घटेको तथ्यांक छ ।

यस्तै, असोज महिनामा ३९ हजार ८सय ८१ लिखत पारित भएको थियो जुन भदौ महिनाको तुलनामा ४ हजार १ सय ९५ ले बढी हो । असोजको तुलनामा कात्तिक महिनामा १३ हजार ८ सयले कारोबार घटेको छ । यसर्थ कात्तिक महिनामा २६ हजार ४६ लिखत पारित भएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको चौमासिक तथ्यांकलाई नियाल्ने हो भने पछिल्ला चार महिनामा १ लाख ४० हजार ८७६ वटा लिखत पारित भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १ लाख २२ हजार २८२ लिखत पारित भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व संकलन भएको छ । असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व संकलन भएकोमा भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार र साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार राजस्व संकलन भएको छ ।

यस्तै, भदौमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । यो साउनको तुलनामा १३ करोड ५५ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा सरकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व संकलन गरेको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व संकलन भएको थियो ।

असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार राजस्व संकलन हुँदा भदौमा ३ अर्ब ५६ करोड २९ लाख ७ हजार र साउनमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार राजस्व संकलन भएको थियो ।

किन घटिरहेको छ घरजग्गा कारोबार ?

अर्थतन्त्रका सूचकहरू अझै शिथिल रहेकाले घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार देशमा सबै खालका व्यापार व्यवसायमा मन्दी छाउनु, उपभोक्तासँग पैसा नहुनु, क्रय शक्ति घट्नुलगायतले घरजग्गा कारोबारमा असर गरेको छ।

घरजग्गा कारोबार फस्टाउन नसक्नुमा विश्व आर्थिक मन्दी नै प्रमुख कारण भएको पूर्व बैंकर अनलराज भट्टराईले बताएका छन् । उनका अनुसार आर्थिक मन्दीको कारण यति बेला उपभोक्ताहरूसँग पैसा छैन ।

पैसा नभएपछि उपभोक्ताको माग पनि छैन जसको कारण घरजग्गा कारोबार फस्टाउन सकेको छैन । ‘सरकारले घरजग्गामा खुकुला नीति लिएर मात्र हुँदैन्, उपभोक्तासँग पैसा पनि हुन जरुरी छ,’ उनले भने, ‘बैंकहरुले पनि कर्जाको ब्याजदर घटाउँदै गएका छन्, माघ महिनाबाट केही सुधारको संकेत देखिएला।’

अर्थतन्त्रको बारेमा धेरै नकारात्मक समाचारहरू आइरहेकाले पैसा भएका लगानीकर्ताहरू पनि लगानी गर्न डराइरहेको उनको भनाई छ ।

सरकारले जति नै खुकुलो नीति लिए पनि अझै केही महिना घरजग्गा कारोबारमा सुधार नदेखिने उनी बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved