आलेख

हामी किन ‘अराजक’ बन्दैछौँ ?

आजको हाम्रो समाजको सबैभन्दा ठूलो समस्या ‘आशा’ मर्नु हो । राष्ट्रियरूपमा निराशा छाउनु हो । आशा आम मानिसमा मात्र मर्दै छैन, पदमै रहेका नेताहरू अनि उनीहरुका आसेपासेमा पनि मर्दै छ । केही दिनअघि एक सत्ताधारी नेता भन्दै थिए— भन्न त भएन, तर देश बस्न लायक रहेन । भएन, हुँदैन, सकिँदैन भन्ने मनोविज्ञान आजको सबैभन्दा ठूलो समस्या हो ।

हामी किन ‘अराजक’ बन्दैछौँ ?

दोस्रो शताब्दीमै रोमका कवि जुभेनलले भनेका थिए— मानिस दुईवटा कुराको लागि सधैँ भौँतारिरहेको हुन्छ, ब्रेड एन्ड सर्कस । त्यसैले होला, भोकाएका मानिसलाई खानाको बढी चिन्ता हुन्छ, अनि पेट भरिएको मानिसलाई सर्कसको । यो मानव स्वभाव नै हो।

मानिसको स्वभावलाई व्याख्या गर्न अङ्ग्रेजीमा एउटा शब्द छ— Sadism । यसको अर्थ हो, अरूलाई चोट पुग्दा, पीडा हुँदा, त्यो हेरेर मज्जा लिने प्रवृत्ति । यो प्रवृत्तिलाई मानिसको एक हदसम्मको स्वभावकै रूपमा व्याख्या गरिँदै आइएको छ। स्कूलमा माथिल्लो कक्षाका बच्चाहरूले तल्लो कक्षाको बच्चाहरूलाई बुलीङ गर्नु, र्‍यागिङ गर्नु वा बाटोमा झगडा हुँदा ठूलो भीड लाग्नु तर, छुटाउन कोही नजानु वा फेसबूकको कमेन्टभरि गाली नै गाली आउनु उल्लेखित रोगका केही उदाहरण हुन् ।

आजभोलि त झन् सामाजिक सञ्जालको माध्यमले यो स्वभाव झन् विकराल बन्दै छ। अब यो प्रवृत्ति मात्र रहेन, यो रोग नै बनिसकेको छ। आफ्नो नाम गोप्य राखेर, फेक अकाउन्ट बनाएर मानिसहरू त्यो ‘मज्जा’ लिँदै त छन् तर समाजलाई दूषित गर्दैछन् ।

अङ्ग्रेजीमा अर्को एउटा शब्द पनि छ— Voyeurs’ । जसको अर्थ हो अर्काको निजी जीवनमा घुसेर मज्जा लिनु । नेताहरूको वा कलाकारहरूको निजी जीवन र सम्बन्धमा नागरिकको चासोलाई एक ढंगले स्वभाविक मान्न सकिन्छ । तर, इन्टरनेट र सामाजिक सञ्जालको आजको दुनियाँमा यी स्वभाव समाजलाई नै गिजोल्ने तहसम्ममा पुगेको छ। हाम्रो यो स्वभाव पनि अब रोग नै बन्दै छ। जसले अर्काको व्यक्तिगत जीवनलाई मात्र होइन, समाजलाई समेत गिजोल्दै तलसम्म पुर्‍याएको छ ।

केही दिनअघि पूर्वमिस नेपाल शृङ्खला खतिवडाको सम्बन्धलाई लिएर जुन टीकाटिप्पणी भयो, त्यो यो मनोविज्ञानको ताजा उदाहरण हो । अझ केही समयअघि सांसद सोविता गौतमको विवाहलाई लिएर जुन प्रकारको टिप्पणी भयो, उनको परिवारलाई जुन पीडा भयो, यो उदाहरणले पनि हाम्रो समाज चाहिने भन्दा बढी ‘सामाजिक’ भएको आभास हुन थालेको छ ।

म भोइस अफ नेपाल हेर्छु वा कमेडी क्लब हेर्छु र त्यहाँ आएको कमेन्ट पढ्छु । मलाई ‘म’ यही समाजको अंश भएकोमा लाज लाग्छ । जसरी महिला जज वा कलाकारलाई टिप्पणी गरिरहेको हुन्छन्, मलाई डर लाग्छ ।

आज हाम्रा यस्तै व्यवहारले समाज गिजोलिँदै छ । बिथोल्दै छ । समाजमा नकारात्मकता फैलिएको छ । अराजकता मौलाउँदै छ । सामाजिक सञ्जाल त्यसलाई थप उग्र बनाउने माध्यम भने बनिरहेको छ । तर, समस्या फेरी पनि माध्यमको होइन, हाम्रै मति हो । हाम्रै प्रवृत्तिको हो । यही सामाजिक सञ्जालले लुकेका कलाकारलाई बाहिर ल्याएको छ । यही माध्यमले आज युवाहरू व्यापार/व्यवसाय गरिरहेका छन् । आफ्नो रचना र सृजनशीलता देखाउने माध्यम पनि यही सामाजिक सञ्जाल बनेको छ ।

त्यो अराजकता अनि त्यो निराशा फैलाउने ३ प्रवृत्तिका मानिसहरू छन् । पहिलो रोगीहरू हुन्। दोस्रो ‘झोले’हरू हुन् । तेस्रो निराश जमात हुन् । पहिलो रोगी प्रवृत्तिका मानिसहरू माथि व्याख्या गरे जस्ता हुन्छन्। जसले Sadism र voyeurism जस्ता स्वभावमार्फत समाजलाई अराजक बनाउँछन् ।

दोस्रो, ‘ई-झोले’हरू हुन्छन्, जो मिसनमा खटिएका छन् । कसैलाई वा केहीलाई स्थापित गर्न लागेका छन् । हिजोको दिनमा आन्दोलन गर्दा बाइकमा झण्डा बोकेर आउने र नारा लगाउने जमात अहिले ‘फेक’ अकाउन्ट बनाएर साइबर आर्मीको रूपमा काम गर्छन् । उनीहरूलाई कुनै व्यक्ति, केही एजेन्डा, कुनै पार्टी, कुनै धर्म, कुनै जातलाई फैलाउने नाउँमा अर्काको एजेन्डा, जात, धर्म, समुदायलाई गाली गर्न सिकाइएको छ । उनीहरूले फेसबूक, टिकटकको अल्गोरिथ्मलाई बुझेर प्रविधिको दुरुपयोग गरेर त्यसको प्रयोग गरिरहेका छन्। एउटै झुटलाई पनि दशपटक दोहोर्‍याएपछि सत्यको रूपमा स्थापित गर्न सकिन्छ भन्ने सिद्धान्तलाई सामाजिक सञ्जालको अल्गोरिथ्मले प्रोत्साहन गरेको छ ।

हामी कसैलाई हिरो बनाउने अनि उमार्फत आफ्नो स्वार्थ पूरा गर्ने अनि फेरि उसलाई भिलेन बनाउने बाटोमा छौँ । तरकारीवालीदेखि लालबाबु पण्डितसम्म हिरो बने र अहिले हराए । कति त हिरोबाट भिलेनसमेत भए । यसको पछाडि पनि एउटा मनोविज्ञान छ । आज कसैलाई भगवान् बनाउँदा लाइक आउँछ भने सामाजिक सञ्जालले भगवान् बनाउँछ । अनि, कसैलाई दानव बनाउँदा लाइक आउँछ भने दानव बनाउँछ । लाइक र भ्युजको व्यापारमा टिकेको समाज निकै निर्मम हुने गर्छ ।

मानिसहरूले समाजलाई भ्रमित बनाउन दुईवटा बाटा अपनाइरहेका छन् । पहिलो, तार्किक भुलभुलैया (Logical fallacies) को बाटो । हामी अधिकांश समय कुतर्क वा असम्बन्धित तर्क प्रस्तुत गर्छौँ र त्यसमै रमाउँछौँ । तथ्य र सत्यलाई तोडमोड गरेर आफ्नो पक्षमा बोलिरहेका हुन्छौँ । झन् यस्ता तर्कहरू वक्ताले पूर्ण विश्वासका साथ बोल्दा, त्यो नै सत्य हो कि भन्ने भ्रम पैदा हुने गर्छ ।

केही दिनअघि मेरो बुवाले मलाई धेरै फोन गरेकाले कपाल छिटो झरेको भनेर गाली गर्नुभयो । उहाँले विज्ञानको वा अनुसन्धानको आधार प्रस्तुत गर्नुभएको थिएन । उहाँले मैले धेरै फोन गर्ने तथ्य र मेरो कपाल झर्दै गरेको तथ्यलाई मिलाएर तार्किक भुलभुलैया निर्माण गर्नुभएको थियो । युवाले जागिर नपाएको सत्य हो। अहिले नयाँ व्यवस्था आएको पनि सत्य हो । तर, यो दुईवटै सत्यलाई जोडेर यही व्यवस्थाको कारण बेरोजगारी भयो भन्नु तथ्य होइन । दुवै घटना एकैचोटी हुँदैमा सम्बन्ध हुन्छ भन्ने छैन । तर, हामी यी वास्तविक घटनालाई जोडेर एउटा नयाँ तर्क निर्माण गर्न खप्पिस छौँ । हामी सामाजिक सञ्जालमा यही बाटो डोर्‍याउँदै छौँ ।

हामीले निकै सफलतासहित पछ्याइरहेको अर्को बाटो हो— विचारलाई भन्दा पनि व्यक्तिलाई हमला गर्ने प्रवृत्ति (Ad hominem)। जब व्यक्तिले अर्को व्यक्तिले गरेको तर्कलाई तार्किक खण्डन गर्न सक्दैन, तब तर्कको सट्टा व्यक्तिगत आरोप लगाउने प्रवृत्तिकै कारण बहस ओझेलमा पर्ने गर्छन् । अराजक बन्दै गरेको समाजको सबैभन्दा ठूलो समस्या यही हो । ‘यो मान्छे नै खराब हो’ भनेपछि अब के तर्क गर्न पर्‍यो र ? कसैको तर्क काट्न नसक्दा, यो फटाहा हो वा विदेशी दलाल हो वा यसको यो विषयमा ठूलो स्वार्थ छ भनेर आरोप लगाएर आफू ठूलो पल्टेर पन्छिने व्यवहार हाम्रो संस्कार बन्दैछ ।

‘विफोर कुखुरी काँ’ आउने कमेन्टमा समस्या त छ । हामीले पूर्ण सूचना बिनातर्क-वितर्क गरिरहेका छौँ । ४५ सेकेन्डको क्लिपले सत्य बताउनुअघि समाज विभाजित गर्ने तागत राख्ने गरेको छ । ‘बञ्चेबाजामा यतिसम्म भयो’ भन्ने भेलु बाजेको भिडिओ एक मिलियन भ्यूज हुँदा डाटा र लजिकसहितका विश्लेषणात्मक लेख र भिडिओहरू १ हजार मानिससम्म पनि पुग्दैनन् । त्यसपछि मानिसहरू जे बिक्छ, त्यही गर्न थाल्छन् । ठूलो स्वर गर्न थाल्छन् । अरूलाई हेप्न, पीडा दिन थाल्छन् । आज अवस्था यस्तो आयो, एउटा नेपालीले टेलिभिजनमा अर्को नेपालीलाई ‘म नेपाली हुँ, त को होस् ?’ भनेर लल्कार्छ ।

केही दिनअगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रामक हुँदै एउटा स्ट्याटस लेखे— ‘चोर सरकार, होसियार !’ अनि फेरि आइन्दा महानगरको गाडी चेक गरे, सिंहदरबार आगो लगाउने धम्की दिए । यो धम्की पहिलो दृष्टिमै गलत थियो । तर, म यहाँ बालेनको स्ट्याटसको बारेमा भन्दा पनि त्यस स्ट्याटसमा आएको प्रतिक्रियाको बारेमा चर्चा गर्न चाहन्छु । उनले लेखेको स्ट्याटसमा २४ घण्टामा ४ लाख लाइक, १ लाख कमेन्ट र झन्डै पचास हजार शेयरसहित प्रतिक्रिया आयो । अधिकांशले सिंहदरबारलाई जलाउन समर्थन गरेका थिए । ‘चोर सरकार’ भन्नेमा त ‘राष्ट्रिय सहमति’ झैँ बन्यो ।

मलाई यो घटनाले एउटा नराम्रो भविष्यको डर देखाइरहेको छ । भोलि कोही सन्की आएर अघि बढ्यो भने भीडले सिंहदरबार नजलाउला भन्न सकिन्न । बालेनले पनि बुझ्नपर्ने एउटा कुरा के हो भने, आफूलाई गरिएको त्यो समर्थन उनका लागि मात्रै थिएन् । माथि चर्चा गरिएझैँ कोही पहिलो प्रवृत्तिका रोगी मानिसहरू थिए । त कोही केही स्थापित गर्न लागेका दोस्रो प्रवृत्तिका ई-झोलेहरू थिए ।

यही तेस्रो प्रवृत्तिका ‘निराश’ मानिस पनि थिए । तेस्रो प्रवृत्तिका मानिसमा भने इमानदारिता रहन्छ, देशमै केही गरौँ भन्ने भावना पनि छ तर, यो समूहमा समाज अनि राज्यबाट दु:ख पाएका, हेपिएका, ठगिएका मानिस पर्छन् । यसमा आशा नदेख्ने युवा बढी छन् । पढाइ सकिँदा पनि बेरोजगार भएर बस्नुपरेको छ । दिनरात काम गर्दा पनि आधारभूत आवश्यकता पूरा गर्न सकिएको छैन । पढाइ राम्रो छैन । बिरामी हुँदा अस्पतालमा विश्वास गर्न सकिरहेका छैनन् । प्रत्येक दिन अघिल्लो महिना मात्र विवाह गरेकी श्रीमती छाडेर विदेसिनुपरेको छ । जसलाई न्यायालय, विद्यालय, सरकारी कार्यालयले दिनका दिन ठगिरहेको छ । त्यसैले त्यस्ता कमेन्टमा आक्रोश मात्र होइन, नागरिकको पीडा पनि हुने गर्छ ।

हो, त्यो कमेन्ट गर्नेहरूमा त्यही डाक्टर पिट्ने जमात पनि छ । हो त्यो जमात, त्यही म्यानपावरले ठगेको, एम्बेसीले भिसा रिजेक्ट गरेको, अस्पतालमा घण्टौंदेखि डाक्टर कुर्दै गरेको, लोकसेवामा नाम ननिस्केको, मरी-मरी काम गर्दा पनि दुई छाक खान धौ-धौ परेको अनि महिनौंदेखि तलब नपाएको जमात हो ।

तर, मुख्य प्रश्न उनीहरूको त्यो निराशा कता बग्दै छ भन्ने हो । त्यो निराशालाई कसले कता लाँदै छ भन्ने हो । आजको हाम्रो समाजको सबैभन्दा ठूलो समस्या ‘आशा’ मर्नु हो । राष्ट्रियरूपमा निराशा छाउनु हो । आशा आम मानिसमा मात्र मर्दै छैन, पदमै रहेका नेताहरू अनि उनीहरुका आसेपासेमा पनि मर्दै छ । केही दिनअघि एक सत्ताधारी नेता भन्दै थिए— भन्न त भएन, तर देश बस्न लायक रहेन ।

भएन, हुँदैन, सकिँदैन भन्ने मनोविज्ञान आजको सबैभन्दा ठूलो समस्या हो । यो निराशाका मुख्यगरी दुई वटा कारण छन्, पहिलो असक्षम नेताहरू । मैले आरोप लगाएको होइन, पुराना बुढा नेताहरूलाई मात्र भनेको पनि होइन, तर एउटा वास्तविकता के हो भने हाम्रा नेताहरूमा ‘डेलिभरी स्कील’ नै छैन । नेताहरूलाई सहयोग गर्ने सल्लाहकार र कर्मचारीतन्त्रमा पनि त्यो ‘स्कील’ छैन । तर, उनीहरूले नै सरकार एक प्रकारले कब्जा गरेका छन् । प्रधानमन्त्रीको सिटमै पनि केही वर्षको ‘बूकिङ्ग’ गरेर बसिसकेका छन् । त्यसले पनि अब हुँदैन भन्ने परेको छ ।

दोस्रो ‘आशा’ मर्नुको कारण भनेको हाम्रा संस्थाहरू कमजोर बन्नु हो । न्यायालयले न्याय दिँदैन । सरकार ‘सत्ता’ बाजीमा व्यस्त छ । प्रतिपक्षले सरकारसँग बार्गेनिङ गर्छ । मिडिया आफ्नो व्यवसाय बचाउन व्यस्त छ । अनि नागरिक समाज ‘बुढो’ भैसकेको छ । लोकतन्त्र मजबुत बनाउने यी ५ संस्था कमजोर बन्दा अनि लोकतन्त्रलाई दलहरूले ‘हाईज्याक’ गर्दा नागरिकले आशा गर्ने ठाउँ देख्न छाडेका छन् । आयोगहरू, विश्वविद्यालयहरू, सरकारी कार्यालयहरू अस्तव्यस्त बन्दा नागरिक थप निराश बन्नु स्वाभाविक नै मान्नुपर्छ ।

आज यो देश कहाँ जाने हो, कहाँ लाने हो, कसले लाने हो, कसैलाई थाहा छैन । गन्तव्य त के, कसैलाई प्रस्थान बिन्दु पनि थाहा छैन । त्यसैले पनि गन्तव्यविहीन यात्रामा यात्रुहरू आत्तिनु स्वाभाविक नै हो । फलत: समाजमा निराशाको ‘मास हिस्टेरिया’ फैलिसकेको छ । बेरोजगारी, राम्रो शिक्षा नहुनु र राम्रो शिक्षा महँगो हुनु अनि केही रोग लागे गुणस्तरीय स्वास्थ्य सेवाको ग्यारेन्टी नहुनुले नागरिक देशमा बस्न खोजिरहेका छैनन् । बाहिर गएका नागरिक फर्किन चाहिरहेका छैनन् ।

यही प्रवृत्ति केही स्वार्थ र निराशा सामाजिक सञ्जालमा बेला-बेलामा ‘ब्रस्ट’ हुने हो अनि यही जमात सिंहदरबार जलाउन उद्धत हुने हो । यो प्रवृत्तिको सबैभन्दा डरलाग्दो प्रभाव भनेको यसले समाजलाई निकै छिट्टो ध्रुवीकृत गरिदिन्छ । त्यसपछि विभाजित गरिदिन्छ । यो ध्रुवीकरणको असर यति गहिरो हुन्छ कि सत्य पनि केही समय अल्मलिन्छ । यो सामाजिक सञ्जालले गर्ने ध्रुवीकरणका कारण यति गहिरो हुन्छ कि यसले लाइक र भ्यूजको लागि मानिसलाई विस्तारै नङ्ग्याउँछ । कोही कपडा हटाएर नाङ्गिन्छन् त कोही विचार।

खैर, हामीले सामाजिक सञ्जालमा सिंहदरबार जलाउन, अरुलाई बद्नाम गराउन, समाजलाई भड्काउन तम्तयार नागरिकलाई आशा देखाउन जरुरी छ । अरूलाई दु:ख दिने रोगी प्रवृत्ति, ई-झोले प्रवृत्ति र फ्रस्टेटेड जमातलाई बुझेर, छुट्याएर निकास दिन जरुरी छ । अराजकता फैलाउने जमातलाई कानून बनाएर, त्यसको पालना गर्न लगाएर नियमन गर्नुपर्छ । निराश युवालाई भने सम्बोधन गरेर आशाको सञ्चार गर्न जरुरी छ । नत्र समाज थप अराजक बन्ने छ ।

@MilanPandey (ट्वीटर)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved