नेवार समुदायले मनाए म्हः पूजा, भाइटीका मंगलबार

नेपालभ्युज

नेवार समुदायले मनाए म्हः पूजा, भाइटीका मंगलबार

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा मनाएका छन् । यो समुदायले भोलि मंगलबार किजा पूजा अर्थात् भाइटीका मनाउने भएका छन् ।

पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि नै यहाँका नेवार समुदायले म्हः पूजा मनाएको र भाइटीका पनि सोहीअनुसार मनाउने भएका हुन् ।

नेपाल संवत्को नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्‍यालीसमेत यहाँका नेवार समुदायले आजै मनाएका छन् । भक्तपुरका विभिन्न ठाउँबाट भिन्तुना र्‍याली आयोजना गरेका थिए ।

तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाले ज्योतिष डा वीरेन्द्रप्रसाद कायष्थ एवं ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि आज म्हः पूजा र भोलि २८ गते भाइटीका लगाउने निर्णय सार्वजनिक गरेपछि यहाँका समुदायले सोही अनुसार पर्व मनाएका हुन् ।

पञ्चाङ्ग निर्णायक समिति आज २७ गते गाई तिहार, २८ गते गोवर्द्धन तथा म्ह पूजा र २९ गते भाइटीका एवं किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुरमा भने एक दिनअगाडि नै यो पर्व मनाएका हुन् ।

भक्तपुर नगरपालिकाले भने २६ गते अपराह्न २ बजेर १४ मिनेटपछि औँसी तिथि लाग्ने हुँदा उक्त दिन साँझ लक्ष्मीपूजा गर्ने, कात्तिक २७ गते अपराह्न २ बजेर ४१ मिनेटपछि परेवा प्रतिपदा तिथि सुरु हुने भएकाले त्यस दिन साँझ म्हः पूजा गर्ने र कात्तिक २८ गते अपराह्न २ बजेर ३८ मिनेटमा द्वितीया तिथि लाग्ने भएकाले सो दिन किजा पूजा अर्थात् भाइटीका गरेर तिहार सम्पन्न गर्न आह्वान गरेअनुसार यो पर्व मनाउन लागिएको हो ।

म्हः अर्थात् आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफैँलाई पूजा गरी सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरी आफ्नो आत्मालाई चिनेर आत्मशुद्धि गरी ज्ञानको ज्योति फलाउने कामनासहित म्हः पूजा मनाउने गरिन्छ । म्हः पूजा साँझ घरका सबै सदस्य एकै ठाउँमा लामबद्ध बसेर आफैँले आफ्नो पूजा गर्ने परम्परा छ । ठूला दैवी प्रकोपबाट आफूले आफैँलाई बचाउने शक्ति प्राप्त गर्न पनि म्हः पूजा गर्ने परम्परा रहेको बताइन्छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved