भूकम्पले भवनमा क्षति पुर्‍याएपछि सरकारी सेवा अवरुद्ध

नेपालभ्युज

भूकम्पले भवनमा क्षति पुर्‍याएपछि सरकारी सेवा अवरुद्ध

सुर्खेत । जाजरकोटमा भूकम्पले सरकारी कार्यालयमा क्षति पुर्‍याएपछि सरकारी सेवा पाउनबाट नागरिक वञ्चित भएका छन् । जाजरकोटका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयमा भूकम्पले क्षति पुर्‍याएपछि सरकारी सेवा पाउन नागरिक वञ्चित भएका हुन् ।

गत शुक्रबार राति गएको भूकम्पका कारण सरकारी कार्यालयहरू पूर्ण क्षतिग्रस्त भएपछि आइतबारदेखि सेवा प्रवाह अवरुद्ध भएको छ । भेरी नगरपालिका–३, माथिल्लो थाप्लेमा रहेका जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालयमा भग्नावशेषमा परिणत भएका कारणले सेवा दिन समस्या भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

‘जिल्ला प्रशासन कार्यालय घरका भित्ता फाटेर चिरा पारेपछि बस्न र भित्र पस्न नसकिने अवस्था छ ।’ उनले भने,‘अन्य दुई वटा कार्यालयको सेवा अनिश्चित छ ।’

दैनिक पचासदेखि असी जना सेवाग्राही आएर भिड लाग्ने कार्यालय ध्वस्त भएपछि सेवा लिन आएका सर्वसाधारणलाई सेवा दिन नसक्ने भन्दै फिर्ता गर्नु परेको सूचना अधिकारी शर्माले बताए ।

‘अस्थायी आवास निर्माण गरी मङ्सिर दोस्रो सातादेखि सेवा प्रवाह गर्न सकिने छ ।’ उनले भने,‘जिल्ला प्रशासन कार्यालयका सबै जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्ने कार्यमा केन्द्रित भएकाले तिहारअघि सार्वजनिक सेवा दिन कठिनाइ रहेको छ ।’

नापी कार्यालयमा रहेका सबै सामग्री नष्ट हुनुका साथै कार्यालयमा कार्यरत अमिन एलिन भण्डारी र उनका भाइ प्रज्वल शाहीको भूकम्पमा परी मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved