भूकम्प प्रभावित क्षेत्रमा भीआईपीको भीड : राहत गोदाममा, पीडित आहतमै

भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुमपश्चिममा भीआईपीहरूको भीड लागेको छ । यहाँ दिनमै सयौं भीआईपी हेलिकोप्टर र गाडी चढेर आउँछन्, फर्कन्छन् । तर, पीडितको दैनिकी भने झन्पछि झन् जर्जर बनेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा भीआईपीको भीड : राहत गोदाममा, पीडित आहतमै

सुर्खेत । भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुमपश्चिममा भीआईपीहरूको भीड लागेको छ । यहाँ दिनमै सयौं भीआईपी हेलिकोप्टर र गाडी चढेर आउँछन्, फर्कन्छन् । तर, पीडितको दैनिकी भने झन्पछि झन् जर्जर बनेको छ ।

दाताहरुले प्रदान गरेको राहत पनि गाउँपालिका र नगरपालिकाको कार्यालयमा थुप्रिएको छ । तर, पीडितहरु खुला आकाशमुनि भोकभोकै रात बिताउन बाध्य छन् ।

अहिले जाजरकोट र रुकुमपश्चिममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला खटिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भूकम्प प्रभावित क्षेत्रमै छन् ।

त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, आर्थिक मामिला तथा योजना मन्त्रीलगायत सांसद तथा अन्य जनप्रतिनिधिहरु पनि भूकम्प प्रभावित क्षेत्रमा नै छन् । तर, पीडितले भूकम्प गएको चार दिनसम्म सामान्य राहत पनि पाउन सकेका छैनन् ।

कहिले पाउने राहत ?

यहाँ दिनहुँ पराकम्प गइरहेको छ । जसकारण आधा मात्रै क्षति भएको घरमा पनि बस्नसक्ने अवस्था छैन । अधिकांश घर चर्किएका र भत्किएका छन् ।

घरबाहिर रात बिताउन बाध्य उनीहरुले अहिलेसम्म पनि ओढ्ने र औछ्याने पाएका छैनन् । राति टाउकोमा तप तप चुहिने शीतले वृद्धवृद्धा, बिरामी र बालबालिकालाई झन् आहत भएको छ ।

‘घर पूरै भूकम्पले लगेको छ’, रुकुमपश्चिम आठविसकोट नगरपालिका–५ का वीरबहादुर बुढाथोकीले भने, ‘अहिले त्रिपालसमेत पाउन सकेका छैनौं, चिसोमा रात बिताउन बाध्य छौं ।’

चिसोमा रात कटाउन सकस भएको बताउँछिन्, जाजरकोट सदरमुकाम खलङ्गा बजारको त्रिभूवन माध्यमिक विद्यालय परिसरमा बसिरहेकी शान्ती सिंह ।

राहत नपाएकोमा मन्त्रीसँग मेयरको गुनासो

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा पुगेका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकास मन्त्री खड्कप्रसाद पोखरेलसँग नगरपालिका मेयर रवि केसीले त्रिपालसँगै ओढ्ने औछ्याउनेको समस्या भएको भएको बताए ।

‘हाम्रो नगरपालिकामा सात हजार एक सय घर बस्न लायक छैनन् । खानेपानी, सिँचाई, बाटो अबरुद्ध रहेका छ । ४२ जनाको मृत्यु भएको छ । सात जनाको प्रदेश अस्पतालमा उपचार भईरहेको छ’, आठविसका मेयर केसी भन्छन्,  ‘भूकम्पको त्रासका कारणले यहाँका नौ हजार सात सय घरपरिवारलाई त्रिपाल चाहिएको छ । यहाँ धेरै घर भत्किएका र चर्किएका छन् । चर्किएका घरमा पनि मानिस बस्ने अवस्था छैन । नौ हजार घरपरिवारलाई त्रिपाल चाहिएको छ । अहिलेसम्म आठ सय त्रिपाल आयो । अरुले पाएका छैनन्’, मेयर केसीले थपे, ‘राहत तथा उद्दारका लागि चार पटक हेलिकप्टर आयो । २० वटा त्रिपाल ल्याएको थियो । २० परिवारसम्म दिऔं ।’

मेयरको गुनासो सुनेपछि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसीले पहिलो चरणमा आफूहरुले मन्त्रालयका कर्मचारीको तलबबाट तीन लाख बराबरको त्रिपाल र कम्बल ल्याएको र बाँकी छिट्टै आवश्यकता सम्बोधन गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved