भत्ता कटाएर भूकम्पपीडितलाई राहत

नेपालभ्युज

भत्ता कटाएर भूकम्पपीडितलाई राहत

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जनप्रतिनिधि एवम् कर्मचारीको भत्ता कटाएर भूकम्पपीडितहरूलाई राहत उपलब्ध गराउने भएको छ ।

सोमबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि एवम् कर्मचारीको भत्ता कटाएर जाजरकोट-रुकुमपश्चिमका भूकम्पपीडितहरूलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

वडा नं. ७ का वडाध्यक्षसमेत रहेका गाउँपालिका प्रवक्ता भोजराज कार्कीकाअनुसार गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको १५/१५ दिन बराबरको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुनेछ । यस्तै गाउँपालिकाअन्तर्गतका प्रशासनिक कर्मचारीको २/२ दिन, गाउँपालिकाअन्तर्गत कार्यरत शिक्षक तथा कर्मचारीहरूको १/१ दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले जाजरकोट-रुकुमपश्चिममा ठूलो जनधनको क्षति गरेको छ । सरकारी तथ्याङ्कअनुसार दुई जिल्लामा गरी झन्डै ४ हजारको सङ्ख्यामा घरहरू भत्किएका छन् भने १६० भन्दा धेरै मान्छेहरूले ज्यान गुमाएका छन् ।

भूकम्पपीडितहरूका लागि सङ्घीय सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ खडा गरेको छ । उक्त कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ । कोषमा प्रादेशिक तथा स्थानीय सरकारहरू, राजनीतिक दलहरू, दलका भातृ सङ्गठनहरू तथा विभिन्न सङ्घ-सङ्गठनहरूले सहयोग रकम जम्मा गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved