बैंकहरुको नाफा पहिलो त्रैमासमै २८ प्रतिशतले घट्यो : अध्यक्ष केसी 

नेपालभ्युज

बैंकहरुको नाफा पहिलो त्रैमासमै २८ प्रतिशतले घट्यो : अध्यक्ष केसी 

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । सोमबार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे । उनले चालु आर्थिक  वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए ।

उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गरेका छन् । उनले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गर्नुभयो ।

अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन)को रकममा उच्च वृद्धि भएको समेत बताएका छन् । उनले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिब ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । जुन गत वर्षको तुलनामा करिब ४७ अर्ब बढी हो ।

विश्व व्यापी रूपमा देखिएको मूल्यवृद्धि, उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा परेको उनको भनाई छ । उनले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि  विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनुपर्ने अवस्था रहेको उनले बताएका छन् ।

‘कर्जा कम हुँदा बैंकहरु सजक हुनु पर्ने अवस्था हो । अहिले बैंकहरुको खराब कर्जाको लेभल ३.६१ जति पुगेको छ,’ उनले भने ‘३.६१ भनेको ग्रस एनपीए हो । तर एशियाका बैंकहरुसँग तुलना गर्ने हो भने व्यवस्थापन गर्नसक्ने अवस्थामा नै छ ।’

उनले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको भन्दै आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved