आफ्नै व्यहोराको मारमा नेपाली कलाकार : कोही कुटिन्छन्, कोही कुट्छन्

नेपालभ्युज

आफ्नै व्यहोराको मारमा नेपाली कलाकार : कोही कुटिन्छन्, कोही कुट्छन्

काठमाडौं। कलाकारलाई आममानिसले ‘रोल मोडल’ मान्छन् । तर, केही कलाकार यस्ता छन् कि उनीहरू आफ्ना गतिविधिप्रति नै गम्भीर छैनन् ।

कोही आफूलाई लागेको, भोगेको, देखेको विषय सहजै पस्कन हतारो भएर विवादमा आउँछन् । कोही सार्वजनिक कार्यक्रममै नोकझोकमै दर्शकलाई कुटेर विवादमा आउँछन् ।

कोही दर्शकलाई रिझाउन नसक्दा आफैँ कुटाइ खाइरहेका हुन्छन् । कोही भने बित्थामै अभद्र व्यवहारको सिकार बन्छन् । जसकारण उनीहरू बेकसुर पीडित बनिरहेका हुन्छन् ।

समाजका रोल मोडल मानिने सेलिब्रेटीलाई आफ्ना फ्यानहरूसँग प्रत्यक्ष जोडिन साङ्गीतिक कार्यक्रममा जान्छन् । प्रस्तुति दिन्छन् । उनीहरूका हरेक क्रियाकलाप र विषय दर्शकले नियालिरहेका हुन्छन्।

उनीहरूले के के गर्छन्, व्यवहार देखाउँछन् ? तर केही कलाकार ती विषयलाई बेवास्ता गरिरहेका हुन्छन् । फलस्वरूप चुक्न पुग्दा विवादमा तानिन्छन् । केही कलाकार आफ्नै अराजक शैलीका कारण विवादमा आए पनि धेरैजसो कलाकार अराजक दर्शकको कारण पीडित बनिरहेका छन्।

आफ्नै उपद्रोले विवादमा सुगम

यस्तै घटना भएको छ, केही दिनअघि मात्रै । प्रसङ्ग हो, दुई दिनअघि अस्ट्रेलियाको एडिलेडमा आयोजित कन्सर्टमा गायक सुगम पोखरेलले उपद्रो देखाएको । साङ्गीतिक प्रस्तुति दिन स्टेजमा गएका उनले दर्शकलाई माइकको झटारो हाने ।

उनको यो गतिविधिलाई लिएर यतिबेला सामाजिक सञ्जालतिर टिप्पणी भइरहेको छ । केहीले उनले होस गुमाउन नहुने बताइरहेका छन् भने केही मौन धारण गर्ने विषयमा विवाद निम्त्याएको भन्दै दर्शकलाई नै गाली गरेका छन् ।

उनको दशैं-तिहार अस्ट्रेलिया टुरको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनी मदिराले मातेर स्टेज चढेको सार्वजनिक भिडिओ हेर्दा अनुमान लगाउन सकिन्छ । उनी स्टेजमा रहँदा दर्शकबाट ‘झिल्के’ गीत गाइदिनका लागि हुटिङ आउँछ ।

तर, उनी अचानक गम्भीर हुन्छन् । शुक्रबारमात्रै जाजरकोटमा गएको भूकम्पमा परी १३० जनाको मृत्यु भएको प्रसङ्ग निकाल्छन् । भूकम्पमा परेका मृत आत्माको चीर शान्तिको कामनाका लागि मौन धारण गर्न दर्शकलाई आग्रह गर्छन् । तर दर्शकले उनको कुरामा चासो नदिएपछि माइकको झट्टी दर्शकलाई हान्छन् ।

प्रकाश सपुतमाथि बियरको बोतल

१० असारमा रोमानियामा गायक प्रकाश सपुतमाथि आक्रमण भयो । त्यो उनको कमजोरी नभइ दर्शकको थियो । नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरे ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको थियो । घटनाको भिडिओ अझै पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

स्टेजमै कुटिए राजेश पायल राई

दुई वर्षअघि ‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कुटिएका थिए । अमेरिकाको न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ २०२२’ को साङ्गीतिक कार्यक्रममा उनी कुटिएका हुन् ।

स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट बिस्तारै आएका एक दर्शकले घाँटी समातेर उनीमाथि कुटपिट गरेका थिए । गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक रक्सीले मातिएर बेलाबेला हो–हल्ला गरिरहेका थिए ।

‘अन्जानीमा भूल भयो कि’ गीत गाइरहेका बेला राईमाथि रक्सी पिएका एक दर्शकले स्टेजमा उक्लिएर हातपात गरेको भिडिओ भाइरल भएको थियो ।

ढुङ्गा आए पनि गीत गाउन छाडिनन्

वर्ष दिनअघि गायिका समीक्षा अधिकारीमाथि पनि स्टेजमै ढुङ्गा प्रहार भएको थियो ।

सङ्खुवासभा खाँदबारी पाङ्ठामा कात्तिक १८ राति भएको साङ्गतिक कार्यक्रममा समीक्षामाथि केही युवाहरूले ढुङ्गा प्रहार गरेका थिए ।

ढुङ्गा स्टेजमा फलिए पनि उनलाई भने लागेन । ढुङ्गा प्रहार भए पनि अधिकारीले गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् ।
अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए।

प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।

स्टेजमै रोइन् रचना

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘महापुरूष’को प्रचार कार्यक्रमको स्टेजमै गायिका रचना रिमाल रोइन् । कारण थियो, ‘टिकटकबाट इज्जत बेचेको भन्दै अर्को कलाकारले व्यङ्ग्य गरेको । आफू लक्षित व्यङ्ग्य सुनेपछि रिमाल निराश हुँदै स्टेजबाट रुँदै बाहिरिइन् ।

सो कार्यक्रममा कमेडियन विकास अर्यालले टिकटक प्रयोग गर्ने नेपाली कलाकारलाई लक्षित गर्दै व्यङ्ग्य गरेका थिए ।

अर्यालले उनलाई लक्षित गर्दै गरेको व्यङ्ग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै हिँडिन् । रचनाले त्यसरी सार्वजनिक रूपमा चित्त दुखाएपछि माहोललाई शान्त पार्न अर्यालले रचनाको नाम लिएर माफी मागेका थिए ।

टिकटकमा सक्रिय हुने नेपाली सेलिब्रेटीमध्ये गायिका रिमाल पनि एक हुन् । गीत रिलिज भएको समयका साथै बेलाबखत आफ्ना समर्थकसँग अन्तरक्रिया गर्न उनी टिकटकमा लाइभ गर्ने गर्छिन् ।

दुर्गेश थापामाथि ढुङ्गा प्रहार

गायक दुर्गेश थापामाथि अघिल्लो साल स्टेजमै आक्रमण भएको थियो । २०७९ पुसमा कपिलवस्तुको चनौटामा महोत्सवमा प्रस्तुति दिइरहेका उनलाई दर्शकले ढुङ्गा हाने ।

अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबिचको विवादमा खलपात्रको भूमिका खेलेको भन्दै विवादित बनेका थिए दुर्गेश ।

पल शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप थियो । ढुङ्गा प्रहार भएपछि कार्यक्रम नै रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved