गीत समीक्षा

प्रकाश दूतराजको ‘रिमै…’: कसरी जन्मियो ज्यामिरे र वाजकलीको कथा ? (भिडिओ)

प्रकाशका सृजना नेपाली समाज चिहाउने आँखीझ्याल हुन्। प्रकाशका गीतमा पहिचान हराएका समुदायको अनुहार, भाषा, संस्कृति र परिवेशको कथा भेटिन्छ। गाउँले भाषाभेष भेटिन्छ। उनी आफ्नो देश, समाज र जनजीवनको एउटा विशेष कथा भनिरहेको बोधका साथ गीत लेख्छन्। संगीत पनि आफैँ भर्छन्। र अभिनय समेत आफैँ गर्न पछि पर्दैनन्।

नेपालभ्युज

प्रकाश दूतराजको ‘रिमै…’: कसरी जन्मियो ज्यामिरे र वाजकलीको कथा ? (भिडिओ)

देउरालीमा धजा रिमै,
मन उतै नजा,
भनेकै मान्दैन…

नेपालका एकमात्र घुमन्ते वा फिरन्ते समुदाय राउटेका अनेक कुराहरू देख्न सुन्न पाइन्छ। पश्चिम नेपालका पहाडी जिल्लामा घुमन्ते जीवन बिताइरहेका तीनै लोपोन्मुख राउटे जातिबारे बेला–बेलामा विभिन्न कुरा बाहिर आइरहन्छन्।

उनीहरूको भाषा, कला, संस्कृति, भेशभूषा र जीवनशैलीबारे पनि थोरबहुत सुन्न, हेर्न र पढ्न पाइन्छ । काठका भाँडा बनाएर जीविकोपार्जन गर्ने राउटे जातिको एउटा अनौठो चलन छ– समुदायमा कसैको मृत्यु भएमा अर्को ठाउँ बसाइँ सर्ने।

राउटे समुदायको यस्तै संस्कृति झल्काउँदै एक जोडीको प्रेम कहानी गीति कथामार्फत हालै सार्वजनिक भएको छ। गायक तथा सर्जक प्रकाश दुतराजले  सार्वजनिक गरेको गीत ‘रिमै…’ केही दिनयता निकै चर्चामा छ।

रिलिज भएको २४ घण्टाभित्रै टप ट्रेन्डिङमा उक्लिएको गीत अहिले दुईसाता पुग्दा ‘सुपरहिट’ को पगरी गुथिसकेको छ।

दशैंमा सार्वजनिक गरेको यो गीतले युट्युबमा ४० लाख बढी भ्यूज बटुलिसकेको छ। स्रोता दर्शकको मन जितिरहेको छ। टिकटकमा गीत छ्यापछ्याप्ती छ।

गाउँले परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका प्रकाशले ‘रिमै…’ गीतको भिडिओमा लोपोन्मुख राउटे समुदायको कथा उठान गरेका हुन्।

१४ मिनेटको गीति कथामा राउटे युवक ज्यामिरे र युवती वाजकलीको प्रेमकथा छ । ज्यामिरेको भूमिकामा गायक प्रकाश स्वयं छन्। वाजकलीको भूमिकामा छिन् कोपिला गोतामे ।

ज्यामिरेका बा हुन्छन् राउटेका मुखिया। उनको निधन हुन्छ। परम्पराअनुसार कसैको निधन भएपछि ठाउँ छाडेर अर्को ठाउँ जानुपर्ने हुन्छ। बासस्थल छोडेर गाउँलेले अर्को ठाउँमा बसाइँ सर्ने तयारी गर्छन्। ज्यामिरेले आफ्ना बालाई अन्त्येष्टि गरेको स्थानमा चिहानमा पुगेर ढोक्छन्। अनि गाउँलेहरू लाम लागेर बसाइँ सर्छन्।

बसाइँ सरेपछि अर्को ठाउँमा ज्यामिरे र वाजकलीको प्रेम सुरु हुन्छ। उनीहरूको प्रेमलाई केन्द्रमा राखेर राउटे जीवनशैलीलाई देखाइएको छ गीतमा। गीतको भिडिओले बोलेको कथा हो यो।

राउटेकै भेषमा रिमै भाकामा छमछम नाचेको दृश्य मनमोहक लाग्छ। गीतका शब्द र सङ्गीत गायक प्रकाशकै हो। बि.बि. अनुरागीतले एरेन्जर हुन्।

यो गीतलाई नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रशंसा गरेका छन्। फेसबुकमा गीतको टिकटक भिडिओ शेयर गर्दै उनले ‘दशैँमा सुनेको मीठो गीत’ भनेका थिए। टिकटकमा त यो गीतका हजारौँ भिडिओहरू बनेका छन्। फेसबुकको रीलमा समेत छ्यापछ्याप्ती छ।

राउटेको समाज बुझाउने ‘रिमै…’

‘रिमै…’ले राउटेको समाज बुझाउँछ। नेपाली लोपोन्मुख फिरन्ते जाती बुझाउने गीत बनेको छ।

गीतको भिडिओ दैलेखमा भएको हो। सुटिङको २ महिनाअघि त्यहाँ राउटेको सङ्ख्या १ सय ४३ थियो। भिडिओ बनाउने विषयमा अनुसन्धान गर्न फेरि पछि जाँदा २ ठाउँमा बसाई सरिसकेका रहेछन्।

भिडिओ –

गीत बनाउनुभन्दा करिब दुई महिना पहिला निर्देशक मौसम हिमाली र आफू राउटेको बासस्थल खोज्दै दैलेख पुगेको सम्झिँदै प्रकाशले राउटेको रीति, संस्कृति र जीवनशैलीबारे बुझ्ने क्रममा नै गीतको आइडिया फुरेको बताए ।

त्यहाँ बसाइँ सर्ने कारणबारे थाहा भएको र ज्यामिरे र वाजकलीको मिलन अनि बिछोडको कथालाई बसाइँ सर्ने बाध्यतासँग प्रस्तुत गर्ने निधो गरेको उनले सुनाए।
अहिले दर्शकहरू हरेक दृश्यमा संगीत र कथा खोज्ने भएकाले सोही अनुसार गीत बनाएको उनको भनाइ छ।

अठार वर्षपछि फेरि ‘सुपरहिट’ : बादल, वर्षा, बिजुली, सञ्जालमा भाइरल

 

सिर्जनात्मक शक्ति थप निखारिँदो

म्याग्दीको मंगली ५ अर्मनमा जन्मिएका प्रकाशले सङ्गीतको व्यावसायिक यात्रा थालेको चार वर्ष मात्र भयो। यो छोटो अवधिमा उनले लोभलाग्दो सफलता हात पारिसकेका छन् । उनको सिर्जनात्मक शक्ति दिनप्रतिदिन निखारिँदो छ। एकदमै जीवन्त र बुलन्द स्वरकी धनी हुन् प्रकाश।

प्रकाशका सृजना नेपाली समाज चिहाउने आँखीझ्याल हुन्। प्रकाशका गीतमा पहिचान हराएका समुदायको अनुहार, भाषा, संस्कृति र परिवेशको कथा भेटिन्छ। गाउँले भाषाभेष भेटिन्छ।

उनी आफ्नो देश, समाज र जनजीवनको एउटा विशेष कथा भनिरहेको बोधका साथ गीत लेख्छन्। संगीत पनि आफैँ भर्छन्। र अभिनय समेत आफैँ गर्न पछि पर्दैनन्।

उनका ‘घर कता हो बैनीको…’, ‘जाम भो माइली…’, बोलका गीत निकै चर्चित छ । सबै गीतमा प्रकाश आफैँले शब्द लेखेका छन्। उनकै संगीत र स्वर छ। अधिकांशमा उनी आफैले अभिनय पनि गरेका छन्।

थोरै मात्रै गीत रेकर्ड गराइरहेका प्रकाशका अधिकांश गीतले बजार तताउन सफल छन्। उनको धेरै गीत गीत टप ट्रेन्डिङमा आए। यो गीतले फेरि प्रकाशलाई ‘लिडिङ सिंगर’ को पंङ्तिमा उभ्याउन सफल हुने आशा राख्न सकिन्छ।

श्वेता खड्काले ऋण नर्तिदा माझी बस्ती लिलामीको जोखिममा, समाजसेवाको प्रचार गरेर दिइनन् पैसा

माझीबस्ती प्रकरण : श्वेता खड्काले कहिले देलिन् अदालतलाई जवाफ

इन्डियन आइडलमा नेपालकी मेनुकाको प्रस्तुतिबाट जज चकित, जितिन् ‘गोल्डेन माइक’

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला : परिबन्धको चक्रव्यूहमा धुर्मुस-सुन्तली

२२ वर्षपछि ‘पापी लर्के जोबन’ कसरी बन्यो भाइरल  ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved