सम्झनामा दशैँ

त्यसरी मनाइन्थ्यो दशैँ र पो माने झैँ हुन्थ्यो !

सुन्नुहोस्

‘घर माटोको हुन्थ्यो। सानो भए पनि राम्रो र चटक्क। घर रङ्गाउने काममा मलाई नै धेरै हतार हुन्थ्यो। कुचाले रातो माटो र सेतो माटो लगाउने गर्दथेँ। सोह्र श्राद्धदेखि नै घर आँगन सफा राख्ने, कपडा धुने काममा व्यस्त हुन्थेँ।’

त्यसरी मनाइन्थ्यो दशैँ र पो माने झैँ हुन्थ्यो !

‘दशैँ रमाइलो केटाकेटीहरूलाई मात्रै हो,’ मुहारमा हाँसो ल्याएर मनकुमारीले भनिन्। एकछिन रोकिएर फेरि उनी केही उदास हुँदै बोलिन्, ‘हुन त मैले माइतीमा राम्रोसँग बालापन बिताउन पाइनँ। चौधपन्ध्र वर्षमैमा बिहे भयो।’

७६ वर्षीया मनकुमारी पुडासैनी उनकै घरमा भेटिइन्। करेसाबारीमा कुभिन्डो टिप्दै गरेकी उनलाई सोधियो, ‘आमै, यो केका लागि हो ?’

‘दशैँ छ नि त नानी, नवदुर्गालाई बली दिनको लागि। महाअष्टमी बोका खसीको बली दिइन्छ। अरु दिन कुभिन्डो काट्छौँ’ उनले बेलिबिस्तार लगाइन्।

जीवन भन्नु नै अनुभूति र भोगाइको एउटा किताब रहेछ। जहाँ विगत, वर्तमानका कैयौँ तीता, मीठा भोगाइका कथाहरू मिसिएका हुन्छन्।

मानिसको भविष्यका यात्रा अनिश्चित भए पनि विगतका अनुभूतिहरू भने यथावत् नै रहन्छ।

जति उमेरका खुड्किला बढ्दै गयो उति नै विगतका दिनहरू मनमस्तिष्कमा सम्झनाका छाल बनेर आइदिन्छन्।

यस्तै पुराना सम्झनाका छालहरू ७६ वर्षीय मनकुमारीको मन, मस्तिष्कमा झलझली आइरहेको छ।

मनकुमारीको घर नुवाकोट जिलिङ। माइती नुवाकोटकै गेर्खु।

नुवाकोटको सुन्दर फाँट गेर्खुटारमाथी रसिलो पहाड गेर्खु। अहिले जिल्लाको सदरमुकाम नै भए पनि ७ – ८ दशकअघि विकट गाउँ थियो।

तैपनि पहाडी शृङ्खलाले गेर्खुलाई सधैँ रसिलो र भरिलो बनाइरहेको छ।

पारीपट्टी छिमेकी जिल्ला रसुवाको शीरमा चाँदी झैँ टल्किने लाङटाङ हिमालमा सुनका किरण छरेर सुनौलो बनाउँदै उदाउने बिहानको सूर्यले हरेक दिन नयाँ उत्साह, आशा र उमङ्ग छरिदिन्छ।

त्यही ठाउँमा जन्मे हुर्केर ८ दशक पुग्न लागेकी मनकुमारीलाई पछिल्ला केही वर्षयता उनलाई दशैँ खल्लो लाग्न थालेको छ।

गाउँलाई समेत गाँजिसकेको आधुनिक जनजीवनले दशैँको रहरलाई नै बदलेको मनकुमारीको खल्लो अनुभव छ।

‘उहिलेको दशैँ बडो रहरको हुन्थ्यो। राम्रो लगाउन, मीठो खान दशैँ नै कुर्नुपर्थ्यो। अहिले त सधैँ दशैँ। अहिले के कुराको दुःख छ र पैसा हुनेलाई’ उनले कुराको पोयो खोलिन्।

पहिला दशैँ आउनुअघि नै दशैँको खुसीयाली एकअर्कामा साट्न आतुर हुने गरेको सुखद् अनुभूति उनीसँग ताजै छ। त्यो समय मोबाइल इन्टरनेट कल्पनाभन्दा बाहिरको कुरा थियो।

साथीसंगीको सामीप्ययता एकदमै घनिष्ठ थियो। छिमेकका साथीसंगीसँगको जम्काभेटमा खुब आत्मीयता महसुस हुन्थ्यो उनलाई।

अहिले प्रविधिको विकाससँगै त्यो निकटता हराउँदै गएको अनुभूति मनकुमारीलाई भएको छ।

धेरैजसोसँग अहिले पैसा भएकाले सधैँ दशैँ जस्तो भएको उनको अनुभव छ। यसैले पनि वर्षमा एकपटक आउने दशैँको महत्त्व कम हुँदै गएको उनको अनुभव छ।

उनी पहिले र अहिलेको जनजीवनलाई तुलना गर्छिन्, ‘पहिला सबैजसोसँग पैसा हुन्थेन। सबै जीविका चलाउन खेतीपाती मात्र गर्थे। अहिले बन्द व्यापार गर्न थालेका छन्। जागिर खान थालेका छन्। धेरैजसोसँग पैसा छ। मिठो मसिनो खान कमी छैन। यसैले सधैँ दशैँ छ। र त दशैँमा केही फरक छैन।’

०००

यति भनेपछि मनकुमारी आफूले बाल्यकाल बिताएको गेर्खुतिर फर्किन्।

‘दशैँ आउनु एक महिना अघिदेखि मुसलमानहरू डोकोभरि चुरा र पोते बोकेर गाउँ डुल्न थाल्थे।

मधेशी समुदायका मानिसहरू तन्ना, धोती, चोलोलगायत कपडा लिएर बेच्न आउँथे। उनीहरू गाउँ पसेदेखि दशैँ आएझैँ लाग्थ्यो,’ उनी आफ्नो बाल्यकाल तिर फर्किँदै भनिन्।

आफूलाई भने बुवाले त्रिशूली बजारबाट रातो घाँगर, भोटो र रातो चुरा ल्याइदिने गरेको सुनाउँछिन्।

नुवाकोटको त्रिशूली बजार पुरानो हो। नेवार समुदायको बस्ती भएकाले त्यहाँ पहिल्यै बजार थियो। मुस्लिम समुदायका केही मानिसहरू अन्तबाट आएर पसल थापेर बसे।

यसैले २०१०, १२ सालपछि नुवाकोटका धेरै ठाउँका मानिसहरूलाई सरसामान किन्न काठमाडौंसम्म जानु परेन। पसलेहरूले नै काठमाडौंबाट सामान झिकाउँथे।

पुराना दिन सम्झिँदै मनकुमारी भन्छिन्, ‘दशैँ आउनु एक महिना अघिदेखि दशैँ कुरिरहेका हुन्थ्यौँ। एकसरो नयाँ लुगा लगाउन पाउँदा धेरै खुशी लाग्यो। वर्ष दिनमा त्यही एउटा कपडा फेर्न पाउँथ्यौ।’

प्राय नुवाकोटका मानिसहरूको किनमेल गर्ने बजार त्रिशूली बजार नै थियो। तर, धेरै कुरा किनमेल गर्न पर्दैनथ्यो। धेरै कुरा आफ्नै खेतबारीमा उत्पादन हुन्थ्यो।

मनकुमारी सम्झिन्छिन्, ‘चिउरा, चामल चाहिँ ढिकीमा कुट्थ्यौँ। नौरथा लागेपछि गाउँमा रातभरि नै ढिकी बज्थे। चिउराको वासना चल्थ्यो। मरमसला पनि सुकाएर जाँतोमा पिसिन्थ्यो। तोरी पनि गाउँमै कोलमा पेल्न जान्थ्यौँ। नुन र लुगा कपडाबाहेक अरू केही किन्नु पर्दैनथ्यो।’

प्रत्येक वर्ष आफ्नो बाल्यकालको दशैँमा उनी नयाँ कपडा लगाउन पाउँथिन्। थानबाट सिलाएको लामो कुर्ता सुरुवाल की दौरामा नै बित्यो बाल्यकाल। उबेलामा महिलाले पनि सेतो सलेदोको दौरा लगाउने चलन थियो। फेसन थिएन, एकसरो नया कपडाले आङ ढाक्न पाए लाख हुन्थ्यो।

त्यो समय नयाँ लुगाबाट आउने सुगन्धले दशैँको रौनक थप बढेको जस्तो हुन्थ्यो उनलाई। २०१८ सालको चैते दशैँअघि मनकुमारीमा बुबा बिते।

बुवा बितेलगतै अलि तल सिमटारबाट भुन्टे साहु आए। उनले केही नबोली गोठमा बाँधेर राखिएको भैँसीहरू फुकाएर लावालस्कर लगाएर लगे।

बल्ल मनकुमारीलाई थाहा भयो, ‘बाले ऋण काढेर दशैँमा नयाँ लुगा ल्याइदिएका रहेछन्।’

बा बितेपछि तिर्न सक्दैनन् भनेर गोठ रित्याइदिए। त्यो साल मनकुमारीका बाले तीन रुपैयाँमा २ वटा च्याङ्ग्रा किनेर लगेका थिए।

परिवारका लागि केही कपडा पनि। त्यसपछिका दशैँमा मनकुमारीले नयाँ लुगा लगाउन मन गरिनन्। त्यतिबेला मनकुमारी १२/१३ वर्षकी मात्र थिइन्।

०००

पन्ध्र वर्षको उमेरमै (२०२१ सालमा) बिहे गरिदिएपछि मनकुमारी नुवाकोटकै देबिघाट बजारमाथि जिलिङ आइन्।

समय छ दशक पुग्यो। मान्छे फेरिए। ऊ बेलाका  केटाकेटी प्रौढ भए। वृद्ध वृद्धाहरू धर्तीबाट बिदा भइसके। गाउँठाउँ फेरियो, आफू खेल्ने घुम्ने ती खोला, बगर, जङ्गल खेतबारी पनि फेरिए।

यसबीचमा जिलिङ मुनी बग्ने ताली र त्रिशुली नदीमा धेरै पानि बगिसकेको छ।

स्मृतिको धरातलमा अवतरण गरेर नियाल्दा  मनकुमारीलाई ती दिन झल्झली याद आइरहेको छ।

ऊ बेलामा दशैँमा टीका लगाउन माइत गएपछि मात्रै उनलाई दशैँ जस्तो लाग्थ्यो। दिनभर हिँडेपछि गेर्खु डाँडागाउँ माइत पुगिन्थ्यो। त्यहाँ पुगेपछि रमाइलो लाग्थ्यो।

‘बिहेपछि उनलाई दशमीको दिन घरमा टीका लगाएपछि कहिले भोलि हुन्छ र माइती गेर्खु जान पाइन्छ भन्ने लाग्थ्यो। रातभरि निद्रा पर्दैनथ्यो’ उनी सुनाउँछिन्।

उनका अनुसार ऊ बेला दशैँ खर्च बाख्रा कुखुरा बेचेर र मेलापर्म गरेर जुटाइन्थ्यो। मेलापात जाँदा ज्याला निकै थोरै हुन्थ्यो, एक दिन काम गरेको एक सुका। दशैँका लागि जसोतसो एक रुपैयाँ २५ पैसा निमेकबाट जुट्थ्यो।

अरू बाँकी खर्च अरू अनाज बेचबिखनबाट जुटाइन्थो। रुपैयाँ, तीन मोहरको त च्याङग्रा पाइन्थ्यो।

जिलिङको सिधा मुनी छ, देबिघाट बजार। त्यतिबेला नेवार समुदायको बाहुल्यता रहेको बजारमा नवरात्रि सुरु भएसँगै नवदुर्गाको जात्रा सुरु हुन्थ्यो।

जात्रामा हुने नाचगान र बाजागाजाले उनको मन बहलाउँछ। दशैँ भन्नेबित्तिकै उनलाई अहिले नवदुर्गाको जात्राको याद आउँछ।

पहिले र अहिलेको दशैँ मनाउने परम्परामा धेरै परिवर्तन भएको उनी पाउँछिन्। पहिले बजारमा अहिलेजस्तो सामानहरू थिएनन्। पहिले राम्रो लगाउन र मिठो चोखो खान दशैँ नै कुर्नुपर्थ्यो।

मनकुमारीले जीवनको साढे सात दशक काटिसकेकी छिन्। तर, उनको मन छ, सात दशक अघिको बाल्यकालको दशैँको स्मृतिबाट टाढा जान सकेको छैन।

उनको स्मृतिमा बाल्यकालको दशैँ अझै ताजा छ। उनी बाल्यकाल सम्झन्छिन् ‘पिङ खेल्न पालो कुथ्र्यौं। फूलपातीदेखि घरमा मीठो पाक्न थाल्थ्यो। नयाँ लुगाचाँही टिका लगाउने बेलामा लगाइन्थ्यो।’

०००

उनले दशैँमा टीका लगाएर पाँच पैसा पाउँथिन्। त्यो पैसा उनका लागि धेरै ठूलो हुन्थ्यो।

बाल्यकालको दशैँ स्मरण गर्दै उनले भनिन्, ‘हामी त उहिले चाडपर्वमा सबै जना भेला भएर बाटो बनाउने, चौतारा बनाउने विषयमा सरसल्लाह गर्थेम। अहिले त जता पनि राजनीतिकै कुरा मात्रै गर्छन्।’

बाल्यकालमा उनी दशैँका लागि भनेर एक हप्तालाई पुग्ने गरी घाँस काट्थिन् रे। किनकि बस्तुभाउ, भकारो,  दुहुनुबाध्नु उनकै जिम्मामा हुन्थ्यो।

त्यो बेलामा दशैँमा पिङ खेल्ने, राम्रो कपडा लगाउने, मासुभात खाने गरेको रमाइलो गरेको उनलाई आजैजस्तो लाग्छ।

उनले यसरी आफ्नो जीवनकथा सुनाइन्, ‘जीवनमा खुशी कहिल्यै मिलेन, सानै उमेरमा बिहे भयो। अरुकै खटनपटनमै जिन्दगी बित्यो।’

अहिले उनका छोराहरू ठुला भइसके। जीवनले कोल्टे फेरिसक्यो। तर, पनि बाल्यकालको दशैँ आँखैमा झलझली याद आइरहेको छ।

बाल्यकालमा बिताएको उनको दशैँको पल नै बेग्लै थियो। दशैँ आउनु एक महिना अघिदेखि नै मनमा एक किसिमको छुट्टै रमाइलो अनुभूति हुने गर्दथ्यो।

‘नयाँ लुगा लगाउने, मिठामिठा परिकार खाने, हासखेल गर्दै साथीहरूसँग रमाइलो गर्ने, आहा ! कति रमाइला थिए ती दिनहरू’ अहिले अतितलाई सम्झना गर्दा मनकुमारीको मनमा आनन्दको महसुस पैदा हुन्छ।’

दशैँ आउनु महिना दिनअघि घर पोत्नको लागि कमेरो माटो लिन जाने जस्ता विभिन्न कामले उनलाई सताउने गर्दथ्यो। कमेरो लिन पारीपट्टी खड्गभन्ज्याङ जाने गर्थ्यौं।

उनी भन्छिन्, ‘घर माटोको हुन्थ्यो। सानो भए पनि राम्रो र चटक्क। घर रङ्गाउने काममा मलाई नै धेरै हतार हुन्थ्यो। कुचाले रातो माटो र सेतो माटो लगाउने गर्दथेँ। सोह्र श्राद्धदेखि नै घर आँगन सफा राख्ने, कपडा धुने काममा व्यस्त हुन्थेँ।’

चाडपर्व भनेको अहिलेभन्दा तीसचालिस वर्ष अघिकै रमाइलो रहेछ भन्ने कुरा आफूले अनुभव गरेको मनकुमारी सुनाउँछिन्। ती पुराना दशैँ सम्झँदा उनको मन कुँडिन्छ। पहिलेकै दिनमा फर्कन मन लाग्छ।

उनी भन्छिन्, ‘पहिलेको जस्तो दशैँ अहिले रमाइलो कहाँ हुन्छ र ? अहिले त छोराछोरी पनि टाढा टाढा छन्।

भनेको समयमा घर पनि आउन पाउँदैनन्। तर, जे होस् सबैजना परिवार भेला हुन पाइन्छ। यसैले दशैँ आएको चाल पाएपछि छुट्टै आनन्द भने हुन्छ।’

घरका भित्तामा पोतिएको चुना, कमेरो माटोको सुगन्धले उनलाई दशैँ जस्तो लाग्छ। २०७२ को भूकम्पले उनको पुरानो घर लग्यो। अहिले नयाँ घर बनेको छ।

तर, उनले मौलिकता मेट्न दिनुहुँदैन भनेर घरमा सिमेन्ट लगाउन दिइनन्। अहिलेको दशैँमा पनि उनको घरमा कमेरो र रातोमाटोले लिपिएको छ।

एक दशक अघिसम्म नुवाकोटमा कमै मात्र गाउँ मोटरबाटोले जोडिएका थिए।

अहिले सडक नपुगेको गाउँ छैन। गाउँमा सडक पुगेपछि स्थानीयले कङ्क्रिटका आधुनिक घर बनाउन थालेका छन्। इनामेल, चुनालगायतले घरमा रङ प्रयोग गर्ने गरेको पाइन्छ।

आधुनिक घर बनेपछि सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन्। रातोमाटो र सेतो कमेरोले घर पोत्न छोडिसके। उति बेला माटो र कमेरो निकाल्ने ठाउँ झाडीले ढाकिएका छन्।

मनकुमारी भन्छिन्, ‘आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटो कमेरोले घर पोतिन छोडेका हुन्। घर पोत्न थालेपछि गाउँमा दसैँको रौनक नै बेग्लै हुन्थ्यो। तर अहिले त्यो रौनक निकै कम भएको पाइन्छ। मैले दशैँको रमाइलोकै लागि घरमा सिमेन्ट लगाउन दिएको छैन। सबैतिर बजारीकरण भयो। गाउँको चिनो मास्नु हुँदैन भन्ने मेरो भनाइ हो।’

०००

पहिले पहाडको जीवन कष्टकर थियो। बाटोघाटो खुलेका थिएनन्। विद्यालय थिएनन्। साबुन समेत थिएन। लुगाहरू खरानी पानीमा उमालेर काठका मुङ्ग्राले पिटीपिटी धोइन्थ्यो।

खोला किनारामा पाइने चिप्लो गैलेतो झार र रिट्ठाका दाना खोजेर त्यसैमा माडमुड पार्ने गरिन्थ्यो।

आजभोलिका जस्ता भित्री र बाहिरी लुगा भन्ने अनेक चलनै थिएन।

केटाहरूले कमिज लगाउँथे। केटीहरूले धोती, चोलो लगाउँथे। अझ हाम्रो पालामा त हामीलाई पनि लामो कमिज नै थियो।

मानिसहरूसँग पैसा हुन्थेन। सरसामानको साटासाट कारोबार हुन्थ्यो।

मनकुमारी भन्छिन्, ‘दशैँ कि दशा भन्ने वाक्य सबैका मुखमुखबाट सुनिन्थे। दशैँ नमानी हुन्न भन्ने त उखानै चलेको थियो। यसैले साहुसँग ऋण खोजेरै पनि मनाउँथे।

त्यही बेलामा उखान चलेको हो, ‘आयो दशैँ ढाेल बजाइ, गयो दशैँ ऋण बोकाई।’ त्योबेलामा मनकुमारी भने बायाँ हातका औँला भाँच्दै दशैँ आगमनको गीत गाउँथिन्।
‘दशैँ आयो
खाउँला पिउँला
कहाँ पाउँला ?
चोरी ल्याउँला
धत् त पापी, म छुट्टै बसौँला।’

आजभन्दा छ सात दशकअघि आधुनिक सभ्यतादेखि निकै परको त्यो नुवाकोट। बत्तीमुनिको अन्धकार थियो। चेतनाले अँध्यारो, सभ्यताले अँध्यारो। त्रिशूली जलविद्युत आयोजना पछि बन्यो।

त्यसपछि देविघाट जलविद्युत आयोजना बन्यो। जिल्लामामै जलविद्युत आयोजना भए पनि धेरै ठाउँमा बत्ती पुगेको थिएन।

सल्लाको दियालो बाल्नुपर्ने जमाना। टुकी बल्नुपर्थ्यो। मट्टितेल पनि सजिलै नपाइने।

बल्लतल्ल एक टुकीन मट्टितेल घरमा ल्याए भने फारु गरेर राख्नुपर्छ भन्दै साँचेर राखिने मनकुमारी बताउँछिन्।

उनी भन्छिन्, ‘जोगाएर टुकी बाल, है। तिहारपछि सम्मलाई पुर्‍याउनुपर्छ भन्थ्यौ।’

अब नुवाकोटमा न टुकी छ न बाल्ने काठ। दशैँमा ऋण दिएर भैँसी फुकाएर लैजाने साहु महाजन पनि छैन।

गाउँगाउँमा बिजुली पुगेको छ। हातहातमा मोबाइल छ। गाउँगाउँसम्म तारसहितको इन्टरनेट छ।

कतिपय गाउँहरू नगर भइसकेका छन्। त्यतिबेलाका साना बजार ठुला शहर भइसकेका छन्। हाट लाग्ने ठाउँमा ठुलो बजार बनिसकेको छ।

गाउँबस्ती चेतनाले भरिभराउ छ। सरकारी र निजी विद्यालय यत्रतत्र गाउँगाउँमा छन्। अब पहिले जसरी दशैँ कसैले मनाउनुपर्दैन।

गाउँकै जग्गा भए पनि मूल्य सोच्नै नसकिने आकाशिएको छ। काठमाडौं शहरमा झैँ धुवाँधुलो छैन। गाउँगाउँमै पानीको मुहान छ। हावापानी सफा छ। तर, दशैँ मात्र पहिला जस्तो छैन।

यी सबै कथाब्यथा सुनाइसकेपछि मनकुमारीले कुराको बिट मार्दै भनिन्, ‘‘बाल्यकालको दशैँ रहरको दशैँ हुने रहेछ, उमेर बढ्दै गएसँगै दशैँ जिम्मेवारी र आफन्त भेटघाटको माध्यम बन्दो रहेछ। यही बुझेर नै गीतले पनि भन्छ नि, फेरि कहाँ आउँछ र घुमेर, बालापनको उमेर।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved