दशैंको १० रमाइलो !

नेपालको सन्दर्भमा दशैं हिन्दू, बौद्ध, किरात, जैन, सिख, प्रकृतिपूजक र नास्तिकले पनि मनाउँछन् । कतिपयले धार्मिक परम्पराका रूपमा, कतिले सांस्कृतिकरूपमा र कतिपय देशमा भाइचारा र सद्भावका लागि पनि दशैं मनाउने गर्दछन् । दशैंका १० रमाइलो केके हुन् त ?

नेपालभ्युज

दशैंको १० रमाइलो !

काठमाडौं । विजया दशमी संसारभरि नै आ-आफ्नो तरिकाले मनाइन्छ । जरुरी छैन कि यो हिन्दू धर्मावलम्बीले मात्र मनाउनुपर्छ ।

त्यसो त नेपालको सन्दर्भमा दशैं हिन्दू, बौद्ध, किरात, जैन, सिख, प्रकृतिपूजक र नास्तिकले पनि मनाउँछन् । कतिपयले धार्मिक परम्पराका रूपमा, कतिले सांस्कृतिकरूपमा र कतिपय देशमा भाइचारा र सद्भावका लागि पनि दशैं मनाउने गर्दछन् ।

तर, ‘दशैं’ मान्ने नेपाली परम्पराका आफ्नै मौलिक पक्ष छन् । नेपालमा दशैं मान्नु र अन्यत्र रहेर दशैं मान्नु उस्तै नहुन सक्दछ । यहाँ दशैं नआउँदै तयारी सुरू हुन्छ । बालबालिकाले भाका हाल्न थाल्दछन्—

दशैं आयो
खाउँला पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला
धत् ! पापी म त छुट्टै बसौँला !

यी हुन् दशैंका १० रमाइलो:

१.शरद ऋतु

संसारका सबै भूगोलमा ६ वटा ऋतु हुँदैनन् । कतै दुई वटा मात्र ऋतु हुन्छन, जाडो र गर्मी । कतै ४ वटा ऋतु हुन्छन । नेपाल र दक्षिण एसियामा ६ वटा ऋतु मानिन्छ । त्यसमध्ये सबैभन्दा सुन्दर, शान्त र सौम्य ऋतु हो— शरद ।

दशैं शरद ऋतुमा पर्दछ । शरदमा भरखरै वर्षा रोकिएको हुन्छ । हिलो, मैलो, धुलो सकिएको हुन्छ । न जाडो हुन्छ, न गर्मी । न चर्को घाम लाग्छ, न बाक्लो तुवाँलो । आकास जताततै खुलेको हुन्छ । निलो आकासमा ठाउँ-ठाउँ सेता बादलमा थुङ्गा । कतै पसाउन थालेका, कतै पाक्न लागेका धानखेत । सयपत्री, गोदाबरी फूलहरू फूल्ने याम । शरद ऋतुको आनन्दसँग मिसिएर आउँछ दशैं ।

२.सरसफाइ

दशैंमा व्यक्ति र घरको मात्र हैन, सिङ्गो गाउँ, समाजकै विशेष सरसफाइ हुन्छन । सडकहरू सफा गरिन्छन् । बाटो छेउछाउका झारपात, बुट्यान, झाडी फाँडिन्छन् । खाल्डाखुल्डी पुरिन्छन् । चौतारी सफाइ हुन्छन् । देउराली सजाइन्छन् । घर लिपपोत गरिन्छन् । आँगानहरू सफा पारिन्छन् । दशैं सफाइ र सुन्दरताको पर्व पनि हो ।

३.नयाँ नाना र मीठो खाना

दशैंमा सबैले नयाँ लुगाकपडा किन्छन् । विशेषतः बालबालिकालाई नयाँ नानाको औधी रहर हुन्छ । तर, वयस्क र जेष्ठ नागरिकले पनि गच्छेअनुसारको नयाँ लुगा हाल्दछन् । मीठा खानेकुराका परिकारको कुरै गर्न परेन ।

उहिले-उहिले दशैंको तयार महिना/हप्ता दिन अघिबाट ढिकीमा चिउरा कुट्ने, ठेकी दही साँच्ने र केरा पकाउने कामबाट सुरू हुन्थ्यो । आधुनिकता र बजारले यो कामलाई सजिलो बनाइदिएको छ । मार हान्ने र थरिथरिका परिकार बनाएर थरिथरिका जनावरका मासु खाने प्रचलन दशैंको उत्तिकै रमाइलो पाटो हो ।

४. गाउँघर फर्किने-बाल्यकाल सम्झिने

दशैंमा सकेसम्म सबै आफ्नो पुर्ख्यौली थलो वा मूलघर फर्किन्छन् । पेशा, व्यवसाय, रोजगार र अन्य करिअरका लागि जन्मथलो वा पुर्ख्यौली थलोबाट ढाँडिएका पनि सकेसम्म गाउँ पुग्छन् । गाउँ पुग्न नपाएकाले पनि गाउँघर, नातागोता र बाल्यकालका क्रियाकलाप र साथीभाइको सम्झना गर्दछन् । यस मानेका दशैं एक प्रकारको ‘नोस्टाल्जिया’ पनि हो । यस्ता सम्झनाको आफ्नै प्रकारको आनन्द र मज्जा हुन्छ ।

५.मित्रमिलन

गाउँघर पुगेकाहरूले मित्रमिलान कार्यक्रम गर्दछन् । दशैं स्कूलको चौरमा, कतै सामुदायिक घरमा, कतै जंगलको छेउमा, कतै दशैंघरको मेलामा । अरु बेला विरलै भेटघाट हुने मित्रहरू दशैंमा गाउँमा भेट हुन्छन् । पुराना कुरा सम्झेर एकअर्कालाई जिस्काउँछन् । ‘अचेल केके गर्दैछस् ?’ भनेर हालखबर सोधीखोजी गर्छन् । गाउँमै रहेकाहरू देश दुनियाँ डुलेर आएका साथीभाइका उन्नति, प्रगति र अनुभव सुन्छन् ।

६. दूर्गा पूजा र दशैं मेला

दशैंमा दूर्गा स्थापना गर्ने प्रचलन कतै घरघरमा हुन्छ, कतै गाउँको दशैंघरमा सामूहिक । दुर्गाले महिषासुर बध गरेको मुर्ति बनाइन्छ । घटस्थापनाका दिन जमरा राखिन्छ । अष्टमीका दिन दुर्गा पूजा हुन्छ । यस्ता दुर्गा थानमा मेला लाग्दछन् । दुर्गा उत्रेका धामी काँप्दछन् । कतिपय गाउँमा दुर्गा जगाउने भाकल र खेला हुन्छ । दुर्गा जगाउने पात्र हातमा लामो र नाङ्गो तलबार लिएर सिङ्गो गाउँ घुम्छ । ठाउँ-ठाउँमा महिषासुर बध नाटक मञ्चन गरिन्छन् ।

घरघरमा दुर्गा थाप्दा फलामे हतियारको पूजा हुन्छ । दुर्गाका लागि खसी, बोका, हाँस, कुखुराको बली हुन्छन् । जनावरको बली नदिनेहरूले लौका, काँक्रा, चिडिन्डा, कुभिन्डो, लौका र केरालाई जनावरजस्तो बनाएर मार हान्छन् ।

७. रोटे-लिङे पिङ

दशैंमा पिङ नहालिएको कुन गाउँ होला ? पिङ बनाउने तरिका र प्रविधि भने आ-आफ्नै प्रकारको हुन्छ । कतै बाँसको चारफुर्के लिङोमा लठारो हालेर बनाइन्छ पिङ । लठारो बाँट्ने डोरी पनि फरक-फरक हुन्छ । कतै सनपाटको, कतै काँचो ओद्राको, कतै बाबियोको, कतै भोर्लाको, कतै नरिवलको, कतै प्यास्टिकको । लठारोको बीचमा काम्रो हालेर मच्चाउनु पर्छ ।

यस्ता लठारा कतै गाउँ छेउको कुनै रुखको हाँगामा बाँधेर पनि पिङ बन्छन् । गाउँले भेला भएर लठारो बाँड्नुको मज्जा बेग्लै हुन्छ । रोटे पिङ भने काठको हुन्छन् । दशैंको टीका, जमरा लगाएर एकपटक भुइँ छोड्नुपर्छ । भुइँ छोड्नु भनेकै पिङ मच्चाउनु न हो ।

८.लामो बिदा

दशैं नेपाली समाजको सबैभन्दा ठूलो बिदा, सबैभन्दा लामो सार्वजनिक छुट्टी हो । कामदार र जागिरेलाई दशैं बिदाको झल्को वर्षदिनभरि रहिरहन्छन् । कहिले दशैं आउला र लामो बिदा बस्न पाइएला भन्ने मनमा लागि रहन्छन् । सरकारी कार्यालय बन्द हुन्छन् । मान्छेको ध्यान सार्वजनिक दायित्व र बहसबाट निजी तथा पारिवारिक माहोलतिर फर्किन्छ ।

९. टीका, जमरा र आशीर्वाद

दशैंको मुख्य दिन त दशमी नै हो । टीका, जमरा र आशीर्वाद नै हो । टीकाका लागि सामान्यतः तीन वटा रंगहरू प्रयोग हुन्छन्– रातो, सेतो र पहेँलो । । दशैंको सबैभन्दा लोकप्रिय रंग भने रातो । सेतो रंग प्रयोग गर्नैपर्दैन, चामलको अक्षता आफैँ सेतो हुन्छ । कतिपयले पहेलो रंग पनि प्रयोग गर्दछन् ।

दशैंको पहिलो टीका, जमरा घरको मूल ढोकाले पाउँछ । मूल ढोकामाथि अक्षताको थुप्रो, जमराको फुर्को र बीचमा ढ्याँके पैसा । यसको आफ्नै सौन्दर्य हुन्छ । जमरा आफैँमा एक मौलिक र रोचक संस्कृति हो । जमराको रंग नै कति राम्रो ।

मान्यजनबाट टीका, जमरासँग आशीर्वाद । आशीर्वादमा कतै संस्कृतका श्लोकहरू त कतै ठाडा अर्तिउपदेश । सुन्दै रोमाञ्चित हुने ।

१०. कोजाग्रत पूर्णिमाको जुवातास

हुनत: जुवा तास गैरकानुनी छ अहिले । उहिले उहिले घटस्थापनादेखि पूर्णिमासम्म र तिहारको पाँचदिने जुवा फुक्का हुन्थ्यो रे ! कानूनले निषेध गरे पनि दशैंका जुवा, तास कुनै न कुनैरूपमा लुकिछिपी खेलिरहेकै हुन्छन् मान्छेले । प्रहरीले कसको मात्र घरमा हेर्दै हिँडोस् ।

त्यसमा पनि दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात जुवामा खाल नबसेका, वा तास नफिट्ने गाउँ कमै हुन्छन् होला । तास खोल्नेले उहिले-उहिले धेरै किट्टी, फुट्टी कट र कलब्रेक खेल्थे, अचेल म्यारिज खेल्छन् ।

म्यारिजको पोइन्ट तिर्न सजिलो होस् भनेर मकै वा भटमासका दाना गन्ने गरिन्थ्यो, अचेल ‘सेन्ट्रल कलेक्सन र पे’ गर्छन् ।

दशैं एक अद्धितीय, अलौकिक र आत्मिक पर्व हो नेपालीका लागि । दशैं कहिलेदेखि किन यसरूपमा मनाउन थालियो, यसबारे कयौं तर्क र मिथक छन् । आ-आफ्ना दाबी र भनाइ छन्, ती हुँदै गर्छन् । तर, दशैंको मोह र आकर्षणले कहिले कसलाई छोड्ला ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved