प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा

नेपालभ्युज

प्रदेश संरचना खारेज गर्नुपर्छ : कमल थापा
फाइल तस्वीर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रूपमा धराशायी हुनेतर्फ गइरहेको तर सत्तासीन दलहरू यसतर्फ उदासीन भएको आरोप लगाएका छन् ।

गम्भीर रुपमा बहस, छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरू लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ ।

आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रूपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको जिकिर गरे ।

थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ । तलबभत्ता खान ऋण लिनुपर्ने भयो । यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ ।’

मुलुकमा सबै क्षेत्रमा बेथिति र विसंगति हावी भएको भन्दै थापाले सस्तो लोकप्रियता र तालीभन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दूवादी शक्ति एक हुनुपर्नेमा जोड दिए ।

पार्टीलाई स्थापित गर्न धैर्य, मेहनत र सक्रियता आवश्यक भएकाले उच्च मनोबलसहित संगठन केन्द्रित हुनुपर्ने उनले बताए ।

बैठकमा महामन्त्रीत्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय, प्रशिक्षण र संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला अध्यक्षहरूले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved