ब्याक टु लाइफले सहयोग गर्‍यो कर्णाली प्रदेश अस्पताललाई

नेपालभ्युज

ब्याक टु लाइफले सहयोग गर्‍यो कर्णाली प्रदेश अस्पताललाई

सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफले  स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा  आवश्यक पर्ने १ करोड भन्दा बढी मूल्यका मुटुरोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता  उपकरण हस्तान्तरण गरेको हो।

सुर्खेतस्थित प्रदेश अस्पतालमा आइतबार सम्पन्न कार्यक्रममा प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्कालाई ब्याक टु लाइफ इ भी जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलबाट उक्त उपकरण हस्तान्तरण गरिएको हो ।

ब्याक टु लाइफले कर्णाली प्रदेशको मुगु जिल्ला र विकासका दृष्टिकोणले पछि परेका अन्य जिल्लाहरुमा सन् २००९ देखि स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले प्रदेश अस्पताललाई हृदयरोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम, ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरु हस्तान्तरण गरिएको जानकारी दिए ।

संस्थाका प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले संस्थाले यस अघि पनि कोभिड १९ को उपचारको लागि आवश्यक पर्ने अति महत्वपूर्ण उपकरणहरु प्रदेश अस्पताल सुर्खेतलाई सहयोग गरेको स्मरण गरे।

संस्थाका म्यानेजर अनुप पौडेलले प्रदेश अस्पतालमा भर्खरै स्थापना भएको हृदयरोग विभागको दीगोपनाको लागि प्रदेश अस्पतालका ३ जना स्टाफलाई हालै प्रदान गरिएका उपकरणहरु संचालन सम्वन्धी तालिम प्रदान गर्न संस्थाले शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँसँग संयोजन र सहयोग गरेको पनि जानकारी दिए ।

प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले ब्याक टु लाइफबाट सहयोग प्राप्त उपकरणहरुले मुटुरोग सम्बन्धि समस्या भएका विरामीलाई प्रभावकारी सेवा प्रदान गर्न उपयोगी हुने बताए । उनले  उक्त सहयोगबाट कर्णालीका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

प्रदेश अस्पताल सुर्खेतले केही समय अघिबाट मात्र मुटुरोग सम्बन्धी विशेषज्ञबाट कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved