गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति

नेपालभ्युज

गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति

गण्डकी । गत साउन ३० गते गठित गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापतिको टुङ्गो लगाएका छन् । आज चारवटै समितिको नेतृत्वमा एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल, सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटा र प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको थियो ।

पौडेल प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट सभापतिको उम्मेदवार बन्नुभएको थियो । अर्याल र खड्कालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । नेकपा (माओवादी केन्द्र)ले देवकोटालाई सभापतिमा अघि सारेको थियो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित  भएका थिए ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले आइतबार बस्ने समितिको बैठकबाट सभापति निर्वाचनको प्रक्रियाले औपचारिकता पाउने बताए । “दलहरूको सहमतिमा एकल मनोनयन परेपछि चारवटै समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ”, उनले भने ।

प्रदेशसभा चुनाव भएको सात महिनापछि ‘मिनी ससंद्’ मानिने विषयगत समिति गत साउन ३० मा गठन भएका थिए । दलहरूबीच समयमै सहमति नजुट्दा सभापति चयनमा पनि झण्डै दुई महिना लागेको हो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved