चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह- सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्कनुस्

नेपालभ्युज

चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह- सुरक्षाको जिम्मा सरकारले लिन्छ, काममा फर्कनुस्

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् ।

बुधबार पत्रकारसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको कुटपिटको घटना निन्दनीय भएको भन्दै सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन् ।

‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच छलफल भइरहेको छ’, उनले भने ।

गृहमन्त्रालयले शान्ति सुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकहरूलाई काममा फर्कन अनुरोधसमेत गरे ।

‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो’, उनको भनाइ छ ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू छ महिनाभित्र सञ्चालनमा ल्याइने पनि बताए ।

यस ऐनमा गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने कुरा राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनले बताए । ‘यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ ।’

फरक प्रसङ्गमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा बोर्डका कारण केही अस्पतालमा बिरामीको चाप बढ्ने र केही बन्द हुने अवस्थामा पुगेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved