राष्ट्रिय राजनीतिमा नेकपा एमालेविरुद्ध घेराबन्दी भएको तथ्य जगजाहेरै छ । एमालेलाई एक्ल्याउन राज्यस्रोतको दुरुपयोग भएका उदाहरण पनि प्रशस्तै छन् । देशभित्र मात्रै होइन, विदेशमा रहेकाहरुले समेत घोषित–अघोषितरुपमा एमालेको नीति, नेतृत्व र संगठनात्मक जीवनमाथि निरन्तर प्रहार गरिरहेकै छन् । पार्टीलाई संकटमा पार्ने दुष्प्रयास गरिरहेकै छन् ।
राष्ट्रिय राजनीतिमा जस्तै सिन्धुपाल्चोक एमालेले पनि निकै कठिन परिस्थितिको सामना गर्नुपरेको छ । अझ भनौं, बाह्य आक्रमणभन्दा पनि आन्तरिक खिचातानीले सिन्धुपाल्चोक एमालेलाई नराम्ररी गाँजेको छ ।
अफ्ठेरोमा पन्छने वा भाग्नेहरुकै कब्जामा जाँदैछ, सिन्धुपाल्चोक एमाले ।
पार्टीभित्र गुटबन्दी गरेर फुटाउनेसम्मको हर्कतमा प्रत्यक्ष–अप्रत्यक्ष भूमिका खेल्नेहरुकै कारण सिन्धुपाल्चोक एमालेले गत स्थानीय, संघ र प्रदेश निर्वाचनमा जनमत आफ्नो पक्षमा हुँदाहुँदै पनि पराजयको सामना गर्नुपर्यो ।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वअघि एमाले, कांग्रेस र राप्रपाबीच त्रिकोणात्मक शक्ति संघर्ष हुने यो जिल्लामा शान्ति सम्झौतापछि राप्रपा कमजोर भयो, माओवादी प्रतिस्पर्धा गर्ने तहमा विकास भयो ।
एकातिर खासा नाका र अर्कोतिर जलस्रोतको भण्डार भएका कारण हिमाली जिल्लामध्ये आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बन्यो, सिन्धुपाल्चोक । प्रचण्ड र माधव नेपालले आफ्नो निर्वाचन क्षेत्रजत्तिकै प्राथमिकतामा राखेर यो जिल्लाको पार्टी कामलाई अघि बढाए ।
०००
सिन्धुपाल्चोकमा एमालेले पटक–पटक विषम परिस्थितिको सामना गरेको छ । खासगरी पिस्कर विद्रोह र दमनपछि मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले निकै जटिल समय व्यहोर्नुपर्यो ।
पार्टी विभाजनको घाउ आलै रहेका बेला गठबन्धनसँग एक्लै चुनाव चुनाव भिड्नु चानचुने कुरा थिएन । त्यससँगै पार्टीभित्रैको गुटबन्दी, छद्म भेषमा घाउमाथि नुनचुक छर्कनेहरुका कारण पार्टीलाई जोगाउनै मुस्किल थियो । स्थिति यस्तोसम्म बन्यो कि, यहाँ निर्वाचनका लागि एमालेबाट उम्मेदवार पाउनसमेत सकस भयो । धेरैलाई लाग्यो– हार्ने चुनाव किन लड्ने ?
किन यो स्थिति आयो सिन्धुपाल्चोकमा ? प्रश्न गम्भीर छ ।
वडा, स्थानीय तह र जिल्ला अधिवेशनमा एमालेविरुद्ध कालो झण्डा बोक्ने, प्रचण्ड र माधव नेपालको जयजयकार गर्दै हिँड्ने नै नेतृत्वमा आए । अर्थात् संस्थापन पक्षले समन्वय र सहकार्यको नीतिअनुसार उनीहरुलाई नै नेतृत्वमा ल्यायो, जुन आज सिन्धुपाल्चोक एमालेका लागि घातकसिद्ध हुँदैछ ।
एमालेको संघ र प्रदेश सरकार गिराउन भूमिका खेल्नेहरुलाई नै नेता बनाएर हिँड्दासमेत माधव पक्षमा लागेका दश बुँदेहरुको गुटबन्दीमा कमी आएन । स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको फितलो गठबन्धनलाई पराजित गर्ने सामथ्र्य विकास गर्न नसक्नुमा पनि ‘दशबुँदे’ गुटको धोकाघडी नै प्रमुख कारण थियो ।
०००
मापदण्ड मिचेर दशबुँदेले बनाएका राष्ट्रियसभा सदस्य सिंहबहादुर विक, प्रदेश सांसद ईन्द्रमाया गुरुङ, सुभाष कर्माचार्य, सोम सापकोटा, भगवती नेपाल, गम्भीरलाल श्रेष्ठ, केदार क्षेत्रीलगायत दर्जनौं जिल्ला नेताहरुले पार्टी छोडेका थिए । निर्वाचनमा दशबुँदेहरु बाहिर निस्कृय जस्तो देखिए । तर भित्रभित्रै माओवादीप्रति सहानुभूति राखेको प्रष्टै थियो ।
दशबुँदेहरुले ‘केपी ओलीको घमण्ड तोड्न यसपालि एमालेले हार्नु पर्छ’ भनेर चियाचौतारीमा भनेको कुरा चर्चामै छ । एमालेले हार्दा उनीहरुमध्येका केही उल्कै रमाएको पनि देखियो । जुन कुरालाई एमाले हराउन अन्य पार्टीमा प्रवेश गरेकाहरुलाई फर्काउँदाको खुसीयालीमा देख्न सकिन्थ्यो ।
यहाँ २०७४ सालको संसदीय निर्वाचनमा भने माधव नेपाल पक्षले आफ्नो अक्षमता लुकाउन चुनाव हार्नुको दोष ओली गुटलाई लगाएको थियो । अहिले पनि ‘पार्टीभन्दा माथि गुट’ भन्ने मान्यता बोकेका ‘दश बुँदे’वालाले पार्टीमा अराजक र वैचारिक दृष्टिकोण नभएकाहरुलाई पार्टी नेतृत्वविरुद्व प्रयोग गरिरहेकै छन् ।
०००
सिन्धुपाल्चोकमा मसाल, चौमदेखि राप्रपाका नेता भिमशेन भण्डारी, कांग्रेसका दर्जनौं नेताहरु र हाल एकीकृत समाजवादीको जिल्ला कमिटीलाई नै एमालेमा विलय गराउन पार्टी केन्द्रीय सदस्य सरेश नेपाल, हस्त पण्डित, होमनारायण श्रेष्ठ, बालकृष्ण देउजा, अशोक चौलागाईँलगायत दर्जनौं नेताहरु अहोरात्र लागिपरेका छन् । जसको परिणामस्वरुप यहाँ अहिले एमाले प्रवेशको लहर नै चलेको छ ।
संकटका बेला पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुविरुद्व अहिले पनि अनेक षडयन्त्र जारी छ । संस्थापन पक्षका नेताहरुलाई जसले धेरै गाली गर्यो उसैलाई दश बुँदेको नेतृत्वले काखी च्याप्छ । पार्टीलाई यो स्थितिमा ल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुविरुद्व ‘अहिले ओली पक्षको नेता हुँ’ भन्दै आएका केही अराजक प्रवृति बोकेका मान्छेहरु, पितपत्रकारिता गर्नेहरु, व्यापारिक जीवनमा लामो समय खर्चेर मात्र प्रतिष्ठा कमाउन आएकाहरु नै सकृयतापूर्वक लागेका छन् । त्यसैले धेरै ठूला जंघार तरेका, पार्टीलाई गलत स्वार्थ बोकेकाहरुको षडयन्त्रबाट बचाउन र भ्रमको राजनीतिबाट पार्टीलाई मुक्त गर्न अघि सर्नेहरु अझै एकताबद्व हुन आवश्यक छ ।
संघ–प्रदेशको गत निर्वाचनमा नेकपा (एस)ले समानुपातिकमा जिल्लाभरबाट १७०० मत पनि कटाउन सकेन । जबकि एमालेले प्रतिनिधि सभा १ मा मात्रै समानुपातिकमा २१, ६५१ मत प्राप्त गर्यो । प्रत्यक्षतर्फ एमालेका उम्मेदवार सरेश नेपालले पार्टीले पाएको मतभन्दा बढी अर्थात् २७,०१८ मत पाए । तर पितपत्रकारिता र गुटको राजनीति गर्नेहरुको पुर्वाग्रहको पराकाष्ठले यो तथ्य देख्दैन ।
एमालेभित्रै बसेर एमाले सिध्याउन लागेका तत्वहरुले अहिले नेकपा एस पार्टीमा गएकाहरुमध्ये केहीले नै यो पार्टी बनाइदिएको वा बँचाइदिएको जसरी प्रचार गरिरहेका छन् । मानौं– उनीहरु एमालेमा नफर्केकै कारण अर्थात् प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को एकीकृत समाजवादीको भोट ६८५ नपुगेर नै एमाले हार्नु परेको हो ।
एमालेमा भविष्य देखेरै अन्य विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका छन् । यो भबिष्य भएको पार्टी बनाउन नेतृत्व गर्ने को हो ? यसलाई धुलिमाटी बनाउन चाहने तत्व को हो ? ती नक्कली एमालेहरुले जनतालाई बताउन चाहँदैनन् । किनकि उनीहरुले सत्य बोल्ने नैतिक तागत गुमाइसकेका छन् ।
प्रष्ट के हो भने, अहिले एकीकृत समाजवादीमा गएकाहरुलाई कोही ‘दश बुँदे’वालाले फर्काएका होइनन् । र, एकीकृत समाजवादीको जिल्ला कमिटीलाई नै एमालेमा समाहित गराउने प्रयास गर्नुमा उनीहरुको भूमिका छैन । परिस्थिति सकारात्मक ढंगमा विकास भएको सूचना पाएपछि जश लिनका लागि हतारहतार प्रचारबाजी गरेर ‘दिउँसै रात पार्ने’ प्रयास भएको छ । तर आम एमाले कार्यकर्ताले तथ्यलाई बुझेकै छन् ।
राजनीतिमा गलत सूचना प्रवाह गर्नु र भ्रमपूर्ण समाचारको खेती गरेर कसैलाई तलमाथि पार्न सक्छु भन्ने भ्रम किमार्थ सफल हुँदैन । र, सत्कर्ममा आधारित राजनीतिमा नै सबैको भविष्य हुन्छ । आफ्नो पार्टीभित्र सधैं उछिनपाछिन गर्ने, आफ्नाहरुविरुद्व जस्तोसुकै बेइमानी गर्न पनि तयार हुने तर विपक्षीकाविरुद्ध केही पनि गर्न नसक्ने, नचाहानेहरुको नेतृत्व कायम रहनु नै सिन्धु एमालेको दुर्भाग्य बनिरहेको छ ।
Facebook Comment
Comment