आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

नेपालभ्युज

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाडौं। सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्ने भएको छ ।

परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिएर कार्यक्रम सुरु गर्ने जनाएको छ ।

कार्यक्रममा २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्मिएका किशोरीहरुलाई मात्र खोप दिने डा.गौतमले जानकारी दिए ।

खोप लगाउन उमेर खुलाउने आधिकारिक प्रमाण पत्र वा वा जन्म मिति खुलाउने अन्य कागजात र दोस्रो मात्राको हकमा खोप कार्ड पहिलो मात्रा लगाउदा प्राप्त हुने कार्ड लैजानुपर्छ। दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाट लगाउन डा.गौतमको आग्रह छ ।

कुन अस्पतालमा दिइदै छ खोप ?
सरकारले राष्ट्रिय खोप कार्यक्रम एचपीभी खोपको सातै प्रदेशबाट डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरेको हो ।  खोप उपलब्धका आधारमा कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल प्रादेशिक अस्पताल सुर्खेत, डडेल्धुरा अस्पतालमा खोप  कार्यक्रम सञ्चालन गर्दै छ ।

विश्व स्वास्थ्य संगठनले सुरुवाती चरणमा नौदेखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको थियो । सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसविरुद्धको खोप नौदेखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क रुपमा सञ्चालन गर्ने घोषण गरेको हो ।

यो कार्यक्रमका लागि सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।

पाठेघरको मुखको क्यान्सर के हो ?
पाठेघरको मुखको क्यान्सर महिलामा हुने प्रमुख क्यान्सर हो । क्यान्सर रोग विशषेज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणले गर्दा हुने डा. शाहीको भनाइ छ । उनका अनुसार ९९.९ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुन्छ ।

यसैगरी, ०.१ प्रतिशत सानो उमेरमा विवाह गरे, असुरक्षित यौनसम्पर्क, सानै उमेरमा धेरै बच्चा जन्माउने, सरसफाइको कम, धुम्रपान गर्ने महिलाहरु पाठेघरको मुखको क्यान्सरको जोखिममा बढी हुने डा.शाही बताउछन् ।

उनले भने, “ह्युमन प्यापिलोमा भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्छ ।” एचपीभीको २०० भन्दा बढी किसिमका प्रजाति हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख मानिन्छ ।

एचपीभी खोप कस्तो खोप हो ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन एचपीभी खोप लगाउन चिकित्सकको सुझाव छ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरस भएकाले यो खोप प्रभावकारी भएको उनी बताउँछन् ।

डा.शाहीका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । एचपीभी खोप दुई मात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने सङ्क्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्दछ ।

सरकारले यो भन्दा पहिले कास्की र चितवन जिल्लाबाट पाइलटिङका रुपमा एचपीभी खोप सञ्चालन गरेको थियो । तर विश्वव्यपि रुपमा खोपको अभावको कारणले यो अभियान रोकिएको थियो ।

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा एचपिभीखोपलाई विस्तार गर्दै लैजाने लक्ष्य रहेको गौतमलले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved