राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने

नेपालभ्युज

राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए ।

उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरुले देखाउने बताए । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट रहेको बताए ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौति दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ । जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर  घरमा बसौँ, आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौँ’ उनले भने, ‘ राष्ट्रियता, धर्म निरपेक्षताको विरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ ।’

उनले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन नरोकिने बताए । उनले प्रधानमन्त्रीलाई खुला चुनौति दिदैं त्यसको   शुरुवात २७ गतेबाट हुने बताए ।

प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको बताए । उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरु अतिवादी र आतंकवादी भएको भन्दै उनीहरुलाई तह लगाउने बताए । उनले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै र्धम, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved