भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

नेपालभ्युज

भारतको राजधानी दिल्लीमा जी-२० सम्मेलन, यसकारण बन्दैछ रोचक

काठमाडौं। भारतको संघीय राजधानी नयाँ दिल्लीमा ग्रूप अफ ट्वेन्टी अर्थात् जी–२० शिखर सम्मेलन आजदेखि हुँदैछ। विश्वका १९ वटा सबैभन्दा ठूला अर्थतन्त्र र युरोपेली संघ मिलेर बनेको जी–२० को शिखर सम्मेलनको यसवर्ष आयोजक भारत छ।

भारतले जी–२० को क्रमानुगत अध्यक्षता इन्डोनेसियाबाट पाएको थियो। दुई दिने जी–२० शिखर सम्मेलनको कार्यक्रम समापनसँगै बाज्रिलले सन् २०२४ को अध्यक्षमा पाउनेछ। त्यसपछि दक्षिण अफ्रिकामा सर्नेछ।

यसपटकको जी–२० सम्मेलन विभिन्न मुद्दाका कारण रोचक बन्ने देखिन्छ। पछिल्लो पटक भारत र चीनबीच बेइजिङले सार्वजनिक गरेको नक्सालाई लिएर पनि विवाद छ। केही दिनअघि चीनले निकालेको नक्सामा अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चिनियाँ सीमाभित्र देखाइएको छ। यसमा दुई देशबीच घोचपेच हुने निश्चित छ।

उता रुस–युक्रेन युद्धले दिल्लीमा हुने शिखर सम्मेलनमा धेरै मतभेद निम्त्याउने आकलन छ। सन् २०२२ को मार्चमा जी २० का विदेश मन्त्रीको सम्मेलनमा अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीच गम्भीर मतभेदका कारण कुनै सहमति हुन सकेको थिएन।

सन् २०२२ को नोभेम्बरमा बालीमा सम्पन्न नेताहरूको सम्मेलनमा युक्रेनी सीमाबाट पोल्यान्डतर्फको भूमिमा लडाइँका क्रममा क्षेप्यास्त्र खसेको विषय छलफलको केन्द्रमा रहेको थियो।

जी २० के हो ?

जी २० विश्वका शक्ति राष्ट्रहरूको एउटा समूह हो। यसको बैठक विश्वव्यापी अर्थतन्त्रबारे योजना बनाउन केन्द्रित हुने गर्छ।

जी २० राष्ट्रहरूले वैश्विक अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच विश्वको कुल व्यापारमध्ये ७५ प्रतिशत हुने गर्छ। विश्वको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मानिस यी देशमा बस्छन्। जी२० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देश छन्।

अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्। स्पेनलाई पाहुनाका रूपमा निम्तो दिइएको छ।

जी २० राष्ट्रमध्ये सात वटाको समूह पनि छ। उसलाई जी ७ (जी–सेभन) भनिन्छ । जी २० का कतिपय देश– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाले ‘ब्रिक्स’ नामक अलग्गै समूह बनाएका छन्। उक्त समूह ठुलो हुने क्रममा छ। ब्रिक्सको हालै सम्पन्न शिखर बैठकमा अर्जेन्टिना, इजिप्ट, इरान, इथिओपिया, साउदी अरब र यूएईसहित छ देशलाई पनि आमन्त्रण गरिएको थियो।

जी २० समूहले के छलफल गर्छ ?

जी २० राष्ट्रका शीर्षस्थ नेताले छलफल गर्ने विषय हालैका वर्षमा अर्थतन्त्रमा मात्र सीमित छैन। जलवायु परिवर्तन, दिगो ऊर्जा, अन्तर्राष्ट्रिय ऋण मिनाहा, बहुराष्ट्रिय कम्पनीलाई कर लगाउने विषयहरूमा पनि छलफल हुन थालेको छ।

प्रत्येक वर्ष एउटा फरक जी २० सदस्य राष्ट्रले अध्यक्षता ग्रहण गर्ने अभ्यास छ। सोही राष्ट्रले बैठकको विषयवस्तु तय गर्ने गरेको पाइन्छ । सन् २०२२ मा इन्डोनेशियाले जी २० को अध्यक्षता ग्रहण गरेको थियो र शिखर सम्मेलन बालीमा आयोजना गरिएको थियो।

सन् २०२३ को अध्यक्ष भारतले दिल्लीमा हुने शिखर सम्मेलन दिगो विकासमा केन्द्रित भएको हेर्न चाहेको छ। भारतले विकसित र विकासशील देशबीच आर्थिक वृद्धिमा समान पहुँच कायम गर्न चालिनुपर्ने कदमप्रति पनि रुचि व्यक्त गरेको छ।

सम्मेलनमा सामूहिक बैठकबाहेक विश्वका राष्ट्रपति र प्रधानमन्त्रीहरूले एक्ला एक्लै भेटवार्ताको अवसर पनि पाउने छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले राष्ट्रपति जो बाइडनले विभिन्न नेतासँग भेटवार्ता गर्ने र जलवायु परिवर्तनसँग जुझ्ने उपाय, युक्रेनमा जारी रुसी युद्ध र गरिबीविरुद्धको विश्वव्यापी लडाइँमा विश्व ब्याङ्कजस्ता संस्थाले चाल्नुपर्ने कदमलाई अझ बलियो बनाउनुपर्ने विषयमा छलफल गर्ने जनाएको छ।

सम्मलेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी भएका छैनन् ।

हिन्दू, हिन्दुत्व र ‘भारत’को ब्रान्ड गर्ने विश्व मञ्चको उपयोग गर्दै भारत

भारतमा बीजेपीको सरकार छ। यस कारण अहिलेको सम्मेलनलाई भारतले हिन्दी र हिन्दूत्वमोहको घरमै विश्व स्तरीय प्रदर्शन गर्ने अवसरको रूपमा प्रयोग गर्दैछ।

सम्मेलनमा वसुधैव कुटुम्बकम् नामक वैदिक नारा दिइएको छ। यस्तै उसले ‘इन्डिया’मात्रै प्रयोग नगरेर ‘भारत’ शब्द प्रयोग गरेको छ।

बीजेपीको हिन्दीमोहमा धेरैले साथ दिएका छन्। जस्तो सन् २०२२ नोभेम्बर १६ मा बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोदीसँग भेट भएको तस्वीर सार्वजनिक गर्दै क्याप्सन लेखेका थिए, ‘एक मजबुत दोस्ती ।’

पछिल्लो समयमा अमेरिकाको ह्वाइट हाउसमा बोल्दा मोदीले हिन्दी प्रयोग गरे। सन् २०१४ मा पहिलो पटक संयुक्त राष्ट्रसंघको महासभामा अंग्रेजी बोलेका मोदीले त्यसपछिका हरेक सम्बोधन हिन्दीमा गरेका छन्। बीजेपी र मोदीको हिन्दी र हिन्दूत्वमोहको घरमै विश्व स्तरीय प्रदर्शन गर्ने अवसर जी–२० ले दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved