संघमा संसदीय समितिको भागबण्डाले कोशीमा तरङ्ग

नेपालभ्युज

संघमा संसदीय समितिको भागबण्डाले कोशीमा तरङ्ग

काठमाडौं । संघीय संसद अन्तर्गत एउटा संसदीय समितिमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको सभापति राष्ट्रिय प्रजातन्त्रलाई छाडिदिएपछि यसको तरङ्ग कोशी प्रदेशको राजनीतिमा देखिएको छ ।

केही दिनअघि गरिएको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको संसदीय समितिको सभापति भागबण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा बाहिरै थियो । आइतबार माओवादी केन्द्रले आफ्नो भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिएपछि राप्रपाले कोशीमा नयाँ निर्णय गर्न लागेको आशंका सुरु भएको हो ।

संसदीय समितिमा माओवादीबाट सांसद माधव सापकोटा सभापतिमा उम्मेदवार बन्न ठिक्क परेका थिए तर उनी अचानक राप्रपाका दीपकबहादुर सिंहको समर्थक बने ।

राप्रपाको संसदीय समितिको नेतृत्वमा इन्ट्री भए पनि संसदको चौथो दल रास्वपा बाहिरै रहने भएको छ । सत्ता गठबन्धनको यो निर्णय कोशी प्रदेशको सरकार जोगाउने कदम लक्षित भएको राजनीतिक जानकारहरूले आंकलन गरेका छन् ।

राप्रपा स्रोतका अनुसार कोशी प्रदेशमा सभामुख र एक मन्त्री लिएर अहिलेको सरकारलाई जोगाउने सहमति बनेको छ । यद्यपि, राप्रपा नेताहरु भने कोशी सरकार जोगाउने शर्तमा संसदीय समितिको सभापति नलिएको दाबी गर्छन् ।

राप्रपाका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको दाबी गरे । उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए ।

‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्नेकुरा सरासर गलत हो । यो कुरा हाम्रो पार्टीका अध्यक्ष विदेशमा हुनुहुन्छ, उहाँ भोलिसम्म आउनुहुनेछ, उहाँ नआइकन कुनै पार्टीसँग कम्परमाइज गरेका छैनौँ,’ उनले भने ।

उनले सत्तारुढ गठबन्धनलाई वचन नदिएको दाबी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतमिा नसमेटेकोप्रति असन्तुष्टि जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved