प्रधानमन्त्रीको अपिल- सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहौं

नेपालभ्युज

प्रधानमन्त्रीको अपिल- सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रहन अपिल गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार एक अपिल सार्वजनिक गर्दे केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सामाजिक सद्भाव एवं एकतामा खलल पुर्‍याउने तर्फ सचेत रहन आग्रह गर्दे यस्तो अपिल गरेका हुन् ।

उनले धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुन अपिलमार्फत आग्रह गरेका छन्  । विश्वमा नेपालले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढेको उनले बताए ।

‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ’ अपिलमा भनिएको छ, ‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ ।’

‘एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु, अपिलमा भनिएको छ ।’

‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु, उनले भनेका छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved