एकीकृत समाजवादीले तोक्यो महाधिवेशनको मिति, यी हुन् अन्य निर्णय  

नेपालभ्युज

एकीकृत समाजवादीले तोक्यो महाधिवेशनको मिति, यी हुन् अन्य निर्णय  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

उक्त पार्टीको मंगलबारदेखि बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान चलाउने निर्णय समेत गरेको छ  ।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अगावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए ।

त्यस्तै बैठकले देशभर पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयास त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडामा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताए ।

बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधिन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरुलाई झुटा मुद्दामा फसाउने लगायतका दलित माथी हुने जातीय छुवाछुत र भेदभावको घटनाको भत्सर्ना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved