एमाले-राप्रपाको नाराबाजीका बीच मुख्यमन्त्री थापाले पाए विश्वासको मत

नेपालभ्युज

एमाले-राप्रपाको नाराबाजीका बीच मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । थापाले सोमबार बसेको प्रदेशसभा बैठकको मत विभाजन प्रक्रियाबाट आफूमाथि सदनको विश्वास रहेको सिद्ध गरेका हुन् ।

थापालाई ९३ सदस्यीय प्रदेशसभामा सरकारलाई निरन्तरता दिन कम्तीमा ४७ सांसदको समर्थन चाहिन्थ्यो । उनलाई ठ्याक्कै ४७ सांसदले मात्रै मत दिए । यससँगै थापा नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

विश्वासको मत पाउँ भनि मुख्यमन्त्री थापाले पाएको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । बैठकमा जम्मा ७७ सांसदको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री थापालाई प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष मण्डलका सदस्य इस्राईल मन्सुरीले समेत मतदान गरेका छन् । यदि उनले मतदान नगरेको भए थापा नेतृत्वको सरकारले निरन्तरता पाउँदैनथ्यो ।

अध्यक्षता गरेरै मुख्यमन्त्रीलाई मत दिँदै मन्सुरी, संविधानविद् भन्छन्- सरकारले मान्यता नै पाउँदैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मन्सुरीले हस्ताक्षर गर्नका लागि अध्यक्ष मण्डलका अर्का सदस्य गीता मिम्सिनालाई सभामुखको आसनग्रहण गराउनेबित्तिकै नाराबाजीमा उत्रिएका थिए ।

मन्सुरीले नाराबाजीकै बीच हस्ताक्षर गरेर सभामुखको आसनग्रहण गरेर मत विभाजनको परिणाम घोषणा गर्न आदेश दिए ।

यसअघि पनि सरकार निर्माण प्रक्रियामा प्रयोग भएको सभामुख बाबुराम गौतमको हस्ताक्षरका कारण थापा सर्वोच्च अदालतबाट अपदस्थ हुनुपरेको थियो ।

अहिले सदनको अध्यक्षता गर्ने मन्सुरीले थापालाई मतदान गर्नु कानूनसंगत नभएको संविधानविद्हरूले बताएका छन् । संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, “अध्यक्षता पनि गर्ने र मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने पनि भन्ने कुरै मिल्दैन । प्रक्रिया मिच्ने काम हो त्यो । त्यो मिल्दै नमिल्ने कुरा हो । संविधानमा प्रष्टरूपमा त्यो यसो हुनु हुँदैन भनेर लेखिएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved