‘प्रचण्डमा पार्टी निर्माण गर्ने अथाह क्षमता छ, तर त्यसलाई सत्ता कब्जामा मात्रै लगाए’

नेतृत्वमाथि केन्द्रीय सदस्यहरूको प्रश्नै-प्रश्न !

नेपालभ्युज

‘प्रचण्डमा पार्टी निर्माण गर्ने अथाह क्षमता छ, तर त्यसलाई सत्ता कब्जामा मात्रै लगाए’

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ । साउन १७ गतेबाट बसिरहेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । त्यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन पेश गरेका थिए ।

धारणा राख्ने क्रममा धेरै सदस्यहरूले ‘पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी नचलेको’ टिप्पणी गरेका छन् । हुन पनि माओवादी सत्ताकेन्द्रित हुँदा पार्टी भद्रगोल अवस्थामै छ । अहिले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् गृहमन्त्री छन् । यस्तै अन्य केही पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि मन्त्री छन् । जसकारण पार्टी भद्रगोल अवस्थामा छ । सदस्यहरूले यसबारे नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

८औं राष्ट्रिय महाधिवेशन सकेर झन्डै डेढ वर्षपछि बसेको जारी बैठकमा कुनै पनि सदस्यहरूले ‘पार्टी ठिक छ, विधानत: चलेको छ’ भनेर भनेका छैनन् । उनीहरूले पार्टी सुधारको माग गरेका छन्, पार्टी सही ट्र्याकमा चल्नुपर्ने बताएका छन् ।

कतिपयले पार्टीले ‘सामन्ती आकार ग्रहण गर्न खोजेको’ भनेर गम्भीर प्रकारको टिप्पणी गरेका छन् । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले त पार्टी सामन्तवादबाट अलिकति पनि विकसित भएको हो कि ? भनेर प्रश्न गरे । यस्तै धेरै पार्टीमा आफन्तवाद र स्वार्थ समूह हाबी भएको टिप्पणी गरेका छन् । केही सदस्यहरूले त नामै तोकेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डका छोरी-ज्वाइँ गङ्गा दाहाल र जीवन आचार्यको कटाक्ष गरेका छन्, कतिपयले ‘छोरीलाई स्वकीय सचिव किन बनाएको ?’ भनेर प्रचण्डलाई प्रश्न गरेका छन् ।

माओवादी केन्द्र : पार्टी कि फ्यान क्लब ? ‘माओवाद’ को नियति कि ‘प्रचण्डपथ’ को दुर्गति ?

प्रचण्डका ज्वाइँ जीवन आचार्यले पटक-पटक कोशी प्रदेशमा मन्त्री खोजेको कुराले पनि बैठकमा प्रवेश पाएको छ । यसअघि पनि दुईपटक मन्त्री बनिसकेका आचार्यले पछिल्लोपटक उद्धव थापाको नेतृत्वमा गठित मन्त्रिपरिषद्‌मा पनि आर्थिक मामिला तथा योजनामन्त्रीमा दाबी गरेका थिए, त्यहीकारण त्यहाँ शपथसमेत सरेको थियो । यसको पनि आलोचना भएको छ । उनीहरूले प्रचण्डलाई परिवारवादबारे प्रश्नै गरेका छन् ।

यस्तैगरी बैठकमा माओवादी क्रान्तिकारी नभइ यथास्थितिवादी भएको टिप्पणीहरू उठेका छन् । माओवादी र अरु पार्टीबीच कुनै फरक नभएको भन्दै केन्द्रीय सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् । माओवादी संसद्‌वादी भासमा डुब्दै गएको र निरन्तर ओरालो लागेको बताउँदै सदस्यहरूले यसबाट ‘यसबाट कसरी निसक्ने ?’ भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।

कतिपय सदस्यहरूले पार्टी नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । सरकारका उच्च-पदस्थहरूको मात्रै नभइ राजनीतिक दलका नेतृत्वहरूका पनि सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसको सुरुवात माओवादीबाटै हुनुपर्ने कतिपयले माग गरेका छन् ।

बैठकमा व्यक्त भएका यी यावत् प्रश्न र चिन्ता सही भएको ठम्याउँछन् राजनीतिक विश्लेषकहरू । माओवादीले आफूलाई सुधार्नका लागि सदस्यहरूको प्रश्न र चिन्ता पर्याप्त रहेको तर, नेतृत्वबाट कार्यान्वयन हुन गाह्रो हुने उनीहरूको भनाइ छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन् :

माओवादी पार्टी निर्माणबाट विनिर्माणतिर गइरहेको छ । प्रचण्डजीमा निर्माण गर्नसक्ने, सुधार्नसक्ने धेरै गुण र क्षमताहरू छन् । तर, त्यो क्षमतालाई उहाँहरूले सत्ता आफ्नो बनाउनमा मात्रै लगाइरहनुभएको छ । निर्माण गर्नसक्ने खुबी नभएको होइन उहाँमा, तर त्यसलाई उहाँले शेरबहादुर देउवा वा केपी ओलीलाई छक्याएर सत्ता प्राप्त गर्ने साधन मात्रै बनाउनुभएको छ, जुन पार्टी निर्माणको दृष्टिकोणले गलत छन् ।

सत्ता चाहिन्छ तर, त्यसका पनि आफ्नै सीमाहरू हुन्छन् । सत्तामा बसेर उहाँको पार्टी बन्दैन । पार्टी बन्ने भनेको जनतामा गएर, जनताका समस्या/गुनासाहरू सुनेर हो । जुन उहाँहरूले गर्न छाड्नुभएको धेरै वर्ष भयो । जब प्रचण्डजी ‘ओभरग्राउन्डेट’ हुनुभयो, त्यसबेलादेखि नै उहाँले गाउँ बिर्सिनुभएको छ, जनता बिर्सिनुभएको छ । उहाँलाई काठमाडौं, सिंहदरबार, बालुवाटार नै प्यारो छ । यसरी पार्टी बन्दैन ।

माओवादी बैठकमा लेखनाथका तीन सवाल !

अर्को कुरा माओवादी किन बनेन भन्ने सवालमा त्यहाँ राम्रा मान्छेहरू नै रहँदैनन् । त्यसको कारण छ— प्रचण्डजीले राम्रा मान्छेहरूलाई माथि आउनै दिनुहुन्न । अर्थात् भनौँ— माओवादी पार्टीको रूपमा विकसित नै भइसकेको छैन । उहाँले आफ्नैलाई बढी च्याप्नुहुन्छ, जुन गलत हो । यदि त्यो पार्टी पार्टी बनिसकेको भए त्यहाँ वैद्यजी, बाबुरामजी, विप्लव, साइँला सबै बस्थे होला नि त ! तर, उहाँले त्यो गर्नुभएन । यस्तो पार्टी भारतमा मुलायम सिंह यादवको थियो । आफूपछि छोरोलाई बनाएको छ, बुहारी, ज्वाइँलाई बनाइएको छ । पार्टी बनाउन खोज्नु र पार्टीमार्फत आफू बनिन खोज्नु फरक कुरा हुन् । यसैगरी हो भने अब यो पार्टी राष्ट्रिय पार्टी बन्न गाह्रो छ ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन् :

खासमा ‘माओवादी केन्द्रीय कमिटीको बैठक’ भन्नु नै बेकार हो । यसलाई ‘प्रचण्ड फ्यान क्लबको जमघट’ भन्नु उचित हुनसक्छ । किनकि प्रचण्डको उदयअघि यो पार्टी थिएन, प्रचण्डको शेखपछि पनि हुने छैन । उनले जे भन्यो त्यही यसको महाधिवेशन हो, गोजीबाट निकालेर जसको नाम पढ्यो, त्यही पदाधिकारी हो । ४० वर्षमा पनि नेतृत्वको विकल्प जन्माउन नसक्ने पार्टी हुन्छ कतै ?

सम्भव छ— २०८४ को चुनाव अघि फेरि एकपटक एमालेसँग मिल्छ । यो पार्टी जे जति जस्तो टिकेको छ, त्यो उनकै ‘टिडिक’ हो । फेरि उनकै आलोचना किन ? यो पार्टी त्यसरी नै चल्न दिनु राम्रो जसरी उनी चाहन्छन् । राम्रो पार्टी चाहिए त्यसलाई छोडेर विकल्प खोजे भो नि ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved