मधेसका ४० प्रतिशत खेत बाँझै, चामल अभाव चुलिने खतरा

मधेसका ४० प्रतिशत खेत बाँझै, चामल अभाव चुलिने खतरा

जनकपुर । समयमा वर्षा नहुँदा र गाईगोरुमा लम्पीस्किन रोग फैलिएका कारण यसपालि मधेसका करिब आधा खेतमा रोपाइँ हुन सकेको छैन । साउनको तेस्रो साता लाग्दा पनि पर्याप्त पानी नपरेका कारण यहाँका ४१ प्रतिशत खेत बाँझै छन् ।

मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार यहाँ करिब ६० प्रतिशत मात्रै रोपाइँ भएको छ । देशको अन्न भण्डारका रुपमा चिनिएको मधेस प्रदेशमै खेत रापाइँमा समस्या भएपछि देशभर खाद्य संकट हनुसक्ने बताइएको छ ।

प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले मधेसका ८ जिल्लामा यतिबेला रोपाइँ सकिइसक्नुपर्ने थियो ।

देशको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । मधेस प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुुँदै आएको थियो तर एक दशक यतादेखि उत्पादनमा कमी हुँदै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार देशको कुल धान उत्पादनको २० देखि २५ प्रतिशत धान यसै प्रदेशमा उत्पादन हुने गरेको छ ।

प्रदेशका आठवटै जिल्लामा गरी कूल ५ लाख ७४ हजार ३ सय ६० हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४ लाख ५ हजार ४५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा रहेको छ । तर अहिलेसम्म मात्र २ लाख ३८ हजार ४ सय ४६ हेक्टर क्षेत्रफल अर्थात ५८ दशमलव ८१ प्रतिशत धान रोपाई हुन सकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए।

यसपालि धनुषासहित मधेस प्रदेशको जिल्लामा लामो समयदेखि वर्षा नै नभएको कारण सिँचाइको लागि निर्मित नहरहरुमा पानी नै आएको छैन । भूमिगत सिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भए पनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बिते पनि सुक्खा छ ।

यस प्रदेशमा साना तथा ठूला सिँचाइका स्रोतहरु समेतलाई आधार मान्ने हो भने ३ लाख ५७ हजार ७ सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था रहेको कृषि निर्देशनालयले जनाएको छ ।

खडेरीले यस वर्ष मधेस प्रदेश मै धान खेती प्रभावित भएको छ । अधिकांश खेत सिँचाइको अभावमा बाँझै छ भने रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेको छ । बोरिङमा विद्युतीय मोटर तथा दमकल जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ का किसान दिपो यादवले दुखेसो गरे ।

‘पाँच बिगाहा धानखेती गर्ने तयारी थियो । दुई बिगाहामा मोटरले पानी लगाएर रोपाइँ त गरेँ तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन । बाँकी दुई बिगाहामा कहिलेसम्म रोपाइँ गर्ने हो भन्ने ठेगानै छैन,’ धनुषाको धनुषाधाम नगरपालिकाका किसान फुलगेन महतोले भने ।

प्रदेश कृषि निर्देशनालयको तथ्यांकअनुसार मधेस प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ । सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए ।

त्यसैगरी मधेस प्रदेशमा दोस्रो बढी रोपाइँ बारा जिल्लामा भएको कुशवाहाले जनाए । कुशवाहाका अनुसार बारामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने तेस्रो स्थानमा रहेको रौतहटमा ७० प्रतिशत । यस्तै महोत्तरीमा ६० प्रतिशत र पर्सामा ५५ प्रशित रोपाइँ सम्पन्न भएको छ । सर्लाही र सिरहामा ५० प्रतिशतको दरले धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जानकारी दिएको छ ।

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी बोरिङ सप्तरी जिल्लामा जडान गरिएको छ । धनुषामा कमला र हर्दिनाथ सिँचाइ परियोजना पहिलेदेखि नै रहेका कारण स्यालो ट्युवेल तथा डीप बोरिङ खासै जडान गरिएन । जसले गर्दा धनुषामा प्रदेशमै सबैभन्दा कम रोपाइँ भएको छ ।

मधेसको सबैभन्दा बढी धान फल्ने जिल्लाको रुपमा धनुषालाई चिनिन्छ । प्रदेश कृषि निर्देशनालयको रेकर्ड अनुसार सबैभन्दा बढी धनुषा र सबैभन्दा कम रौतहटमा धान उत्पादन हुने गरेको छ ।

निर्देशनालयले धनुषामा २ लाख ५१ हजार १ सय ८६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ भने रौतहटमा १ लाख ३४ हजार ७ सय ६० मेट्रिक टन । बारामा २ लाख ४८ हजार ६ सय ६३ मेट्रिक टन, पर्सामा १ लाख ९१ हजार ९ सय २५ मेट्रिक टन, सप्तरीमा १ लाख ८३ हजार ८ सय ८८ मेट्रिक टन, सर्लाहीमा १ लाख ७३ हजार ६ सय १८ मेट्रिक टन, सिरहामा १ लाख ७२ हजार १ सय ७६ मेट्रिक टन र महोत्तरीमा १ लाख ३८ हजार ८ सय २९ मेट्रिक टन धान उत्पादन हुने अनुमान निर्देशनालयको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved