जनमतले पाउने मन्त्रालय माओवादीले नै खाली गराउनुपर्छ भन्ने छैन : हरिबोल (भिडिओवार्ता)

'माओवादीलाई शक्तिशाली कम्युनिष्ट पार्टी बनाउँछौँ'

नेपालभ्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सल्लाहकार एवम् नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले जनमत पार्टी चाँडै सरकारमा आउने दाबी गरेका छन् । “पार्टीको केन्द्रीय कमिटी बैठक सकिनासाथ जनमत सरकारमा आउँछ,” उनले भने ।

नेपालभ्यूजसँग संक्षिप्त कुराकानी गर्दै गजुरेलले जनमतले पाउने मन्त्रालय माओवादीले नै खाली गराउनुपर्ने अनिवार्यता नरहेको पनि बताएका छन् ।

यसबाहेक उनले जारी केन्द्रीय कमिटी बैठकले पार्टीलाई बलशाली कम्युनिष्ट पार्टी बनाउने विषयमा बहस गर्ने पनि बताएका छन् । गजुरेलसँग गरिएको थप कुराकानीको सम्पादित अंश ।

केन्द्रीय कमिटी बैठक जारी छ, बैठकले के निष्कर्ष निकालोस् भन्ने चाहनुहुन्छ तपाईं व्यक्तिगतरूपमा ?

खासगरी हामीले पार्टीलाई अलिक व्यवस्थित ढङ्गले सञ्चालन गर्न खोजेका छौँ । नीति र विचारको विकास गर्ने भनेका छौँ । पार्टीलाई सही मान्यताअनुसार चलाउनुपर्छ भनेका छौँ । र, यसबीचमा पार्टीका गतिविधिमा सुस्तता आयो, त्यसमा फेरि एउटा उत्साह पैदा गर्ने; नेता, जनता र कार्यकर्ता वृत्तमा उत्साह पैदा गर्दै शक्तिशाली कम्युनिष्ट पार्टीको रूपमा अगाडि बढाउने भन्नेबारे विशेष छलफल होस् भन्ने चाहन्छु, चाहन्छौँ हामी सबैले । र, मूलत: त्यही विषयमा छलफल हुन्छ ।

तपाईंहरूले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने भन्दैगर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग चाँडै एकता गर्ने भन्नुभएको छ, कहाँ पुग्यो गृहकार्य ?

हामीले पहिले आफ्नो पार्टीलाई सुदृढ गर्ने भनेका छौँ र त्यही गर्दैछौँ, त्यही कामको निरन्तरता पनि यो बैठक हो । त्यसैले हामीले पहिले आफ्नो पार्टी दह्रो बनाउने र अरु पार्टीसँग एकता गर्नेछौँ । अहिले हाम्रो पार्टी त्यत्ति व्यवस्थित भइरहेको छैन । पहिले विचार र नीतिमा स्पष्टता ल्याउने, सङ्गठनलाई चुस्त-दुरुस्त बनाउने त्यसपछि मात्रै एकताको प्रक्रियामा जाँदा राम्रो हुन्छ भन्ने ठानेर यसो गरिएको हो । अहिले हामी तयारिकै प्रक्रियामा छौँ ।

तपाईं सत्तारूढ दलका नेता मात्रै होइन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पनि हुनुहुन्छ, जनमत पार्टीलाई सरकारमा ल्याउने कुरा कहाँ पुग्यो ?

जनमतलाई सरकारमा ल्याउने कुरा एकदमै स्पष्ट छ । त्यसमा छलफल टुङ्गिसकेको पनि हो । ऊ चाँडै सरकारमा आउँछ ।

नटुङ्गिएको चाहिँ के हो ?

मन्त्रालय चाहियो नि त उसलाई । मन्त्रालय खाली गराउनुपर्‍यो । हामी त्यसमा छलफलरत छौँ ।

माओवादी केन्द्रले कसलाई खाली गराउँदैछ मन्त्रालय ?

अहिले ठ्याक्कै टुङ्गो लागेको छैन । त्यसमा अब यो केन्द्रीय कमिटी बैठकपछि टुङ्गो लाग्ला । त्यसपछि जनमत पार्टी सरकारमा आइहाल्छ ।

मन्त्रालय त माओवादी केन्द्रले नै खाली गराउनुपर्‍यो, होइन ?

जनमतले पाउने मन्त्रालय माओवादी केन्द्रले नै खाली गराउनुपर्छ भन्ने होइन । अरु उपाय पनि हुनसक्छ । अब अन्तिममा अप्ठ्यारै पर्‍यो भने माओवादी केन्द्रबाटै खाली गराउनुपर्ने पनि हुनसक्छ ।

विप्लव माओवादीमा भित्रिने र महासचिव बन्ने कुरा कति साँचो हो ?

योचाहिँ मिडियाले विभिन्न ढङ्गले अड्कलबाजी गरेका कुरा हुन् । अहिले त हाम्रो पार्टी अलग्गै छ, उहाँहरूको पार्टी अलग्गै छ । भोलि एकता भएपछि त्योबेलामा जो पनि माओवादी अध्यक्ष, महासचिव बन्नसक्छ । त्यत्तिबेलै टुङ्गिने विषय रह्यो त्यो । अहिले यही भन्ने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved