धुलिखेलमा ‘स्वर्गमा सहर’ अर्थात् ‘दूषित थानी हिमालयन रिसोर्ट’

नेपालभ्युज

धुलिखेलमा ‘स्वर्गमा सहर’ अर्थात् ‘दूषित थानी हिमालयन रिसोर्ट’

काठमाडौं। थाई भाषामा दुसितको अर्थ स्वर्गमा सहर ‘टाउन इन हेवन’ भन्ने हुन्छ । विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी हो ‘दूषित इन्टरनेसनल’। सोही कम्पनीकै व्यवस्थापनमा काभ्रेको धुलिखेलमा ‘दूषित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ ।

उक्त रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरिएको छ। धुलिखेल वरपरको प्राकृतिक सौन्दर्य देख्न सकिने रिसोर्ट ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
करिब दुई अर्ब ५० करोड लगानी भएको रिसोर्ट सन् २०२१ मै सञ्चालनको तयारी थियो । तर, कोभिडले दुई वर्ष ढिला भएको कम्पनी ओमस्टोन क्यापिटल नेपालले जनाएको छ । बौद्ध तीर्थस्थल नमोबुद्ध नजिक रहेको रिसोर्ट काठमाडौंबाट करिब डेढ घण्टाको दूरीमा छ ।

थाइल्यान्डको होटल तथा भवन निर्माणमा कम्पनी दूषित इन्टरनेसनलले पूर्ण व्यवस्थापन गरेको रिसोर्टमा थाई अतिथि संस्कारलाई स्थानीय संस्कृति परम्परासँग मिश्रण गरिएको छ। थाई भाषामा दुसितको अर्थ स्वर्गमा सहर ‘टाउन इन हेवन’ भन्ने हुन्छ ।

हाल २८ कोठा सञ्चालनमा रहेको र सन् २०२३ को अन्त्यसम्म ४४ कोठा थप हुने कम्पनीले जनाएको छ । रिसोर्टमा, सुइट रुम, फेमिली सुइट भिल्ला तथा ३ सय जना क्षमताको हलसमेत छ ।

रिसोर्टमा ८५ प्रतिशत दूषित इन्टरनेसनलको लगानी र १५ प्रतिशत ओमस्टोन एसियाको लगानी छ । गैरआवासीय नेपाली संघ, थाइल्यान्डका पूर्वअध्यक्षसमेत रहेका रमेश हमालको पहलमा दूषित थानी नेपाल भित्रिएको हो ।

हमाल नेपाल धितोपत्र बोर्डका अध्यक्षसमेत हुन् । यसको डिजाइन दूषित इन्टरनेसनलका इन्जिनियरले गरेको हमालको भनाइ छ ।
कोठाको सुरुवाती फेयर ३ सय डलर रहेको रिसोर्टमा स्वदेशीलाई समेटेर नयाँ प्याकेज सार्वजनिक गर्ने हमालले जानकारी दिए ।
रिसोर्ट विवाह, व्रतबन्ध तथा इभेन्टका लागि समेत उपयुक्त हुने गरी निर्माण गरिएको छ।

रिसोर्टमा भ्याली भ्यु र हिमालयन भ्यु गरी दुई प्रकारका डिलक्स र जुनियर स्विट हिमालयन भ्युसहित कुल ८९ वटा कोठा हुनेछन्। हाल भने २८ वटा मात्र सञ्चालनमा छन्। यो वर्षको अन्त्यसम्म सञ्चालनमा आउने गरी थप २६ वटा कोठा तयार हुँदैछन्।

रिसोर्टमा २८ वटा कोठा भएका १८ वटा विशेष भिल्ला हुनेछन्। भिल्ला विशेष गरी परिवार नै बस्न उपयुक्त हुन्छ।
रिर्साेटमा स्पा, स्विमिङ, ज्याकुजी (तातो पानी हुने बाथटब), साउना, सभाहल, वेलनेस सेन्टरलगायत सुविधा छन्। सेमिनारहरू सञ्चालन गर्न दुइटा हल र विशेष कार्यक्रमका लागि बैंक्वेट पनि छ।

नेपाली, थाइ, इन्डियन र कन्टिनेन्टल खाना पाइने दुसितको भान्सामा स्थानीय उत्पादनले प्राथमिकता पाउने हमालले बताए। रिसोर्टमा बस्न प्रतिकोठा न्यूनतम ३५ हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म पर्छ। दूषित थानीमा अहिले ७२ जनाले रोजगारी पाएका छन्।

डेढ दशक बैंककमा बिताएका हमाल नेपाल फर्किएपछि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेका हुन्। उनी २९ वर्षको उमेरमा एमबिए गर्न बैंकक पुगेका थिए। पढाइ सकेर थाइल्यान्डकै विभिन्न कम्पनीमा १५ वर्ष काम गरे। धेरैजसो काम हस्पिटालिटी क्षेत्रमै गरेको उनी बताउँछन्। थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा केही अनुभव लिएपछि उनलाई नेपालमा नयाँ स्वाद पस्किने भन्दै होटल खोलेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved