भारतले दियो नेपाललाई उपहारस्वरुप ३४ एम्बुलेन्स र ५० स्कुल बस

नेपालभ्युज

भारतले दियो नेपाललाई उपहारस्वरुप ३४ एम्बुलेन्स र ५० स्कुल बस

काठमाडौं। भारत सरकारले नेपालका विभिन्न जिल्लालाई लक्षित गर्दै ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार दिएको छ। नेपालका लागि भारतीय दुतावासले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालाई ३४ एम्बुलेन्स र ५० स्कुल बस हस्तान्तरण गरेको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गाडीका चाबी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईलाई हस्तान्तरण गरे । चाबी बुझेपछि भारत सरकारले देशको हिमाल देखि तराईंका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्यको पहुँच बढाउन गरेको सहयोगप्रति पनि मन्त्री राईले आभार प्रकट गरे।

मन्त्री राईले नेपालका विभिन्न परियोजनामा भारत सरकारको सहयोगको प्रशंसा गर्दै भने, ‘यसले दुईपक्षीय सम्बन्ध तथा जनता–जनताबीचको सम्बन्धलाई बलियो बनाउँदै लैजानेछ।’

राजदूत श्रीवास्तवले नेपाल र भारत बलियो साझेदारका रुपमा रहेको भन्दै नेपालको विकास यात्रामा यसले लामो इतिहास र विरासत बोकेको बताए । नेपालका विभिन्न भूभागको जनजीवनमा टेवा पुर्याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख, अध्यक्ष, सरोकारवाला संस्थाका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, सामाजिक अभियन्ता लगायतको उपस्थिति थियो।

सन् १९९४ पश्चात भारतले स्वतन्त्रता तथा गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालका विभिन्न संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आइरहेको छ। सन् १९९४ देखि अहिलेसम्म ९७४ एम्बुलेन्स र २३४ स्कुल बस उपहार दिइसकेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved