जनार्दन र वर्षमान एकै ठाउँमा उभिए, तत्काल सरकारमा नजाने

'गृहमन्त्री हटाउने प्रचण्डको रणनीतिमा पार्टीभित्रैबाट धक्का'

यसअघि एक अर्काका प्रतिस्पर्धी मानिएका जनार्दन शर्मा र वर्षमान पुन विप्लवलाई महासचिव बनाउने विषयमा मात्रै नभइ अध्यक्ष प्रचण्डको कार्यशैलीसँग पनि असन्तुष्ट छन् । आफूहरुलाई सरकारमा लैजाने हल्ला चलाएर अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साइजमा राख्ने प्रचण्डको रणनीति थाहा पाएपछि यी दुवै नेता अहिले एकै ठाउँमा उभिएका छन् ।

नेपालभ्युज

जनार्दन र वर्षमान एकै ठाउँमा उभिए, तत्काल सरकारमा नजाने

काठमाडौं । नेत्र विक्रम चन्द विप्लवलाई भित्र्याएर पार्टी महासचिव बनाउने सम्भावना बढेपछि नेकपा माओवादी केन्द्रको आन्तरिक समीकरण बदलिन थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवलाई भित्र्याउने तयारी गरेसँगै असन्तुष्ट बनेका नेताहरू एक ठाउँमा उभिन थालेका छन् ।

यसअघि एक अर्काका प्रतिस्पर्धी मानिएका जनार्दन शर्मा र वर्षमान पुन विप्लवलाई महासचिव बनाउने विषयमा मात्रै नभई अध्यक्ष प्रचण्डको कार्यशैलीसँग पनि असन्तुष्ट छन् । आफूहरूलाई सरकारमा लैजाने हल्ला चलाएर अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साइजमा राख्ने प्रचण्डको रणनीति थाहा पाएपछि यी दुवै नेता अहिले एकै ठाउँमा उभिएका छन् ।

गृहमन्त्री श्रेष्ठले पछिल्लोपटक चालेका कदमसँग अध्यक्ष प्रचण्ड र सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तुष्ट छैनन् । त्यसैले श्रेष्ठलाई गृहमन्त्रीबाट हटाउन योजनाबद्ध रूपमा आफूहरूलाई सरकारमा लैजाने हल्ला चलाइएको शर्मा र पुनको आशंका छ ।

स्रोतका अनुसार दुई नेताबीच तत्काल सरकारमा नजाने र पार्टी काममा खट्ने भद्र सहमति भइसकेको छ । प्रचण्डले जतिसुकै आग्रह गरे पनि तत्काल सरकारमा नजाने र पार्टीको संगठनमा खट्ने सहमति भएको यी नेता निकट स्रोतले जनाएको छ ।

यी दुईबीच सहमति गराउन खटिएका एक नेता भन्छन्, ‘पार्टी अहिलेकै अवस्थामा विस्तार हुने नभई झन् खुम्चँदै जाने सम्भावना देखिएकाले अब संगठन निर्माणमा जुट्ने र वैचारिक छलफल पनि अघि बढाउने तयारी गरेर दुई नेता एक ठाउँमा उभिएका हुन् ।’

प्रचण्ड र देउवाबीच कुनै बहाना निकालेर गृहमन्त्री श्रेष्ठलाई हटाउनेबारे छलफल चलिरहेको छ । भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाणलाई पक्राउ गरेदेखि नै देउवा गृहमन्त्री श्रेष्ठसँग आक्रोशित छन् । प्रहरीले पक्राउ गर्ने संकेत पाउनासाथ देउवाले प्रचण्डलाई भेटेर त्यसो नगर्न भनेका थिए । तर, गृहमन्त्री श्रेष्ठले प्रचण्डलाई समेत थाहा नदिई हतार-हतारमा खाँणलाई पक्राउ गर्न प्रहरी खटाएका थिए ।

त्यसयता प्रचण्ड पनि श्रेष्ठसँग असन्तुष्ट छन् । तर, बाहिर आलोचना हुने डरले उनले गृहमन्त्री श्रेष्ठलाई केही भन्न सकेका छैनन् । पछिल्लोपटक मन्त्रीमण्डल पुनर्गठनको चर्चा चलाइएको छ । त्यसको एउटै कारण गृहमन्त्री श्रेष्ठलाई हटाउने र उक्त स्थानमा पुन वा शर्मालाई लैजाने योजना भएको स्रोतको दाबी छ ।

यता, श्रेष्ठलाई साइजमा राख्न प्रचण्डले आफूहरूलाई प्रयोग गर्न खोजेको बुझेका शर्मा र पुनले तत्काल सरकारमा नजाने रणनीति तय गरेका छन् । पार्टीमा विप्लवलाई भित्र्याएर महासचिव बनाउने र सरकार हेरफेर गरेर असन्तुष्टलाई सहभागी गराउने प्रचण्डको रणनीति रहेको उनीहरूले बुझेका छन् ।

जनार्दन र वर्षमान एक ठाउँमा उभिएपछि प्रचण्डको यो रणनीति असफल हुने देखिएको छ । यी दुई नेता मिल्दा पार्टी संगठनमा समेत प्रचण्डलाई चुनौती आउनेछ । किनकि, दुवै नेताको संगठनमा राम्रो पकड छ । यसअघि, यी दुईलाई एक-आपसमा लडाएर प्रचण्ड ढुक्क हुने गरेका थिए ।

दुईबीचको लडाइँकै कारण महासचिवमा देव गुरुङले बाजी मारेका थिए । जनार्दन र वर्षमान मिल्दा आगामी दिनमा प्रचण्डलाई पार्टीभित्र पनि सहज नहुने माओवादी निकट एक विश्लेषक बताउँछन् ।

विप्लवलाई भित्र्याउन निर्णायक मानिएको पार्टी केन्द्रीय समिति बैठक भने प्रचण्डले टार्दै लगेका छन् । यसअघि असार १५ गतेका लागि बोलाइएको बैठक साउन १७ का लागि सारिएको छ । उक्त मितिमा पनि बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।

विप्लवलाई महासचिव बनाउन नहुनेमा पार्टीभित्र ठूलो बहुमत पुग्ने र आफू अप्ठेरोमा पर्ने भएकाले प्रचण्डले बैठक टार्न खोजेको धेरै नेताको बुझाइ छ । जनार्दन र वर्षमान एक ठाउँमा आउन सक्ने संकेत पाएपछि प्रचण्डले असार १५ गतेको बैठक सारेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved