दक्षिण कोरियालाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह

नेपालभ्युज

दक्षिण कोरियालाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह

काठमाडौँ नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेको छ । चेम्बरको टोली र नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कबीच भएको भेटवार्तामा दक्षिण कोरियालाई औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरिएको हो ।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन आग्रह गरे । ‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ’, अध्यक्ष मल्लले भने ।

भारत, बङ्गलादेशजस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको अवस्थामा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दा प्रतिफलको सुनिश्चित हुने उनको भनाइ थियो । अध्यक्ष मल्लले दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्ने बताइ । ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ’, उनले भने ।

अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यम खालका उद्योगमा लगानी गर्नसमेत राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल रु १२ अर्ब ८१ करोड लगानी गरेको छ । जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

भेटमा राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ थियो । नेपालमा उत्पादन हुने सबै वस्तु वातावरणमैत्री भएकाले यहाँ उत्पादित वस्तुलाई आफ्नो मुलुक भित्र्याउन पहल गर्ने बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved